खोज/विशेष : टिप्पणी

राजनीतिका छेपारा, जसले चुनावको मुखमा रंग बदले !

काठमाडौं १५ कात्तिक– नेकपा एमाले रहुन्जेल मोहनसिंह राठौर कांग्रेसप्रति उदण्ड मानिन्थे । लम्की चुहा नगरपालिकाका स्थानीय राठौर कैलालीबाट दुई पटक गाबिस अध्यक्ष बनेका र गत संविधानसभा चुनावमा प्रत्यक्ष चुनाव जितेका राठौर आशन्न प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा कांग्रेस प्रवेश गरे ।

एमालेबाट राज्यमन्त्री र संसदको सुशासन समितिको सभापति भइसकेका र पटक पटक अवसर पाएका राठौर राजनीतिक सिद्धान्त नमिल्ने पार्टी कांग्रेसमा प्रवेश गरे । राठौरको कांग्रेस प्रवेशका कारण एमालेलाई मात्र होइन कैलाली काग्रेसमा असन्तुष्टि देखिएका छ । राठौरसंगै एमालेकी पूर्व समानुपातिक सांसद पनि कांग्रेस प्रवेश गरिन् ।

दोस्रो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसका नेता शम्भुलाल श्रेष्ठ माओवादी प्रवेश गरेका थिए । माओवादीले उनलाई छोटो समयमै टिकट दियो र चुनाव जिते । तर प्रतिनिधि सभा चुनावको उम्मेदवारीको पूर्वसन्ध्यामा श्रेष्ठले पनि मंगलवार कांग्रेस सभापति शेरबहादुर देउवाबाट टीका र खादा लगाए । कांग्रेसले टिकट दिने भने पछि उनी माओवादी परित्याग गरेर कांग्रेस फर्किए ।

मधेसको सम्मान गर्न भन्दै तत्कालिन राप्रपा नेपालले गंगानारायण चौधरीलाई उपसभामुख बनाएको थियो । चारबर्ष संसदको उपसभामुख पदको सुविधा लिएका यादव संसदको कार्यकाल सकिएको भोलिपल्टै एमाले प्रवेश गरे । एमालेले समानुपातिक तर्फवाट सांसद बनाउने भएपछि उनले राप्रपाले लगाएको गुन बिर्षे र राजनीतिक रंग फेरे ।

दुई पटक सम्म संघीय समाजवादी फोरमबाट चुनाव जितेका कपिलवस्तुका अभिषेकप्रताप शाह चुनावको मुखमा कांग्रेस प्रवेश गरे । आफ्नो पकड रहेको कृष्णनगर नगरपालिकामा बागी उम्मेदवारले मेयर जितेपछि अभिषेक कांग्रेसको शरणमा आइपुगे । कुनैवेला मधेसी जनताको अधिकारको उग्र कुरा गर्ने अविभेषकले पनि राजनीतिक रंग फेरे ।

जन्मजात कांग्रेस भएको दावीगर्ने विजयकुमार गच्छदार राजनीतिक करिअरमा धक्का लाग्ने भएपछि २०६४ सालको संविधानसभा चुनावकाे पूर्वसन्ध्यामा मधेसी जनअधिकार फोरममा प्रवेश गरे । उपेन्द्र यादव अध्यक्ष रहेको फोरमबाट चुनाव जितेका उनले बहुमत सांसद लिएर पार्टी फोरिदिए । चुनावमा न्युनतम भोट (थ्रेसहोल्ड)का कारण पार्टीको अस्थित्व संकटमा पर्ने देखेपछि उनी चुनावको उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा कांग्रेसमा प्रवेश गरे ।

संविधानसभाको कार्यकाल सकिएको केही दिनमै मालेका निवर्तमान सांसद शिवचन्द्र यादव कांग्रेसमा प्रवेश गरे । लामो समय वामपन्थी राजनीति गरेका उनले कांग्रेसबाट टिकट पाउने भएपछि राजनीतिको रंग बदले ।

एमालेका पूर्व साभासद पद्युम्न चौहन स्थानीय तहको चुनावको पूर्वसन्ध्यामा संघीय समाजवादी फोरम प्रवेश गरेर पोखरिया नगरपालिका पर्साको उम्मेदवार बने । मेयरमा चुनाव जित्न नसकेपछि उनी फेरि एमाले फर्किए, कारण थियो, प्रदेश सभाका लागि समानुपातिको टिकट ।

लामो समय एमालेको राजनीति गरेका रामचन्द्र झा, २०७० सालको संविधानसभा चुनावको पूर्वसन्ध्यामा माओवादी प्रवेश गरेर टिकट लिए । चुनावमा पराजीत भएपछि उनी बाबुराम भट्टराईको नयाँ शक्तितिर लागे । नयाँ शक्तिले 'शक्ति' आर्जन गर्न नसकेपछि उनी फेरि माओवादीमै फर्के ।

त्यस्तै लोकतान्त्रिक फोरमका सह–अध्यक्ष रामेश्वर राय यादव माओवादीमा प्रवेश गरे ।

नेकपा एमालेले पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद बनाएको थियो उद्योगपति विनोद चौधरीलाई । दोस्रो संविधानसभामा एमालेले सांसद नबनाएको र अहिलेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पनि सांसद नबन्ने देखेपछि उनी नेपाली कांग्रेस प्रवेश गरेका छन् । उनी कांग्रेसको तर्फबाट समानुपातिक सदस्यको सूचीमा अटाएका छन् ।

त्यस्तै राजावादी दल राप्रपाकी निर्वाचित केन्द्रीय सदस्य तथा गायिका कोमल ओली नेकपा एमाले प्रवेश गरिन् । रेडियो नेपालको जागिर छाडेर राजनीतिमा लागेकी उनी केही महिनामै राप्रपा छोडेर एमाले बनेकी हुन् ।

त्यस्तै अभिनेत्री रेखा थापा कमल थापा नेतृत्वको तत्कालिन राप्रपा नेपालमा प्रवेश गरिन् । त्यसअघि माओवादीका अध्यक्ष प्रचण्डको हातबाट टिका थापेर पार्टी प्रवेश गरेकी थापा कमल थापाको पार्टीमा पुगिन् । तर राप्रपामा आएको विभाजनपछि उनी पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा छिन् ।

यसरी सिद्धान्त भन्दा लाभको राजनीति गर्न पल्केकाहरु क्षणभरमै राजनीतिक रंग वदल्न सिपालु देखिन्छन् । नेपालमा चुनाव नजिकिएसँगै पद र प्रतिष्ठाका लागि पार्टी परिवर्तन सामान्य बनेको छ । तर, हाइ प्रोफाइल नेताले पार्टी प्रवेश गर्ने गराए पनि उनीहरुको पछि मतदाता भने कमै जाने गरेको पाइएको छ । कात्तिक १५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस