विश्लेषण : अग्रलेख

अशान्त विश्वमा शान्तिसेनाको भूमिका: कुशल कूटनीतिको आवश्यकता

नेपाल र अफ्रिकी देश एरिट्रिया बीच दौत्य सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघमा नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र एरिट्रियाका प्रतिनिधिबीच हालै यस विषयको सहमतिपत्रमा हस्ताक्षर हुँदा परराष्ट्र सचिव शङ्करदास वैरागीको उपस्थिति रहेको सरकारी सूचना प्रकाशित भएको छ । एरिट्रियासँगै नेपालसित कूटनीतिक सम्बन्धमा आबध्द राष्ट्रको संख्या १५२ पुगेको छ ।Nepal-Army

यसैबीच परराष्ट्र सचिवले राष्ट्रसंघको चालू अधिवेशनको क्रममा चौथो समितिमा राष्ट्रसंघीय शान्तिसेनाबारे नेपालको दृष्टिकोण सविस्तार प्रस्तुत गर्दै परिवर्तित अन्तर्राष्ट्रिय परिवेशमा शान्तिसेनाका नियोगहरू सङ्कटग्रस्त देश/प्रदेशहरूमा खटाउँदा तिनको भूमिकालाई प्रभावकारी पार्न के कस्ता उपाय अवलम्बन गर्नुपर्छ त्यसबारे समयोचित सुझाउ दिएको जानकारी पनि सार्वजनिक भएको छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए लगत्तै डोनाल्ड ट्रम्पले राष्ट्रसंघका शान्ति नियोग समेतका कतिपय कार्यको लागि दिइँदै आएको रकम कटौती गर्ने चेतावनी दिएको सन्दर्भ एकातिर हुँदाहुँदै पनि शान्तिसेनाको लागि सन् १९५८ देखि अहिलेसम्म लगातार सैनिक उपलब्ध गराउँदै आएको सदस्य-राष्ट्रको हैसियतले आफ्नो अनुभव र प्रतिबध्दता प्रष्ट रूपमा प्रस्तुत गर्नुलाई उचित प्रयास मान्नुपर्छ । परराष्ट्र सचिव र राष्ट्रसंघका उप-महासचिव जेफ्री फेल्टम्यान बीचको वार्तालाई पनि यसै सिलसिलामा हेर्नुपर्ने हुन्छ ।

केही दिनअघि मात्र नेपाल राष्ट्रसंघीय मानव अधिकार परिषद्‌मा सन् २०१८-२० को तीनवर्षे कार्यकालको लागि अत्यधिक बहुमतले विजयी भएको छ । पहिले दुइपल्ट सुरक्षा परिषद्को सदस्य भएर आर्जन गरेको अन्तर्राष्ट्रिय प्रतिष्ठा विगत दुई दशकमा भोग्नु परेका पराजयका घटनाले धमिलो पारेका थिए; तर यसमा हालैका महीनामा सकारात्मक परिवर्तन आएको छ ।

मुलुकलाई लगातारको राजनीतिक अस्थिरता र विभाजित मानसिकताले गाँजेको स्थितिमा पनि विश्वमञ्चमा नेपालको सशक्त उपस्थिति देखिनुलाई कूटनीतिक कुशलता नै भन्नुपर्छ । राष्ट्रसंघको बडापत्रमा आस्था राखी विश्वशान्तिप्रतिको योगदानलाई अटुट राख्ने नीति अनुरूपका सबै कार्यलाई नेपालले निरन्तरता दिएको यथार्थ जग-जाहेर छ ।

कूटनीतिक कौशल बढाउन परराष्ट्र सम्बन्ध सञ्चालनमा संलग्न अधिकृत एवं अन्य कर्मचारीहरूको दक्षता अभिबृध्दि अपरिहार्य हुन्छ र त्यस परिप्रेक्ष्यमा राष्ट्रसंघमा प्रयोग हुने लगायतका भाषा विषयक प्रशिक्षणहरू उपयोगी नै हुन्छन् । तर यस्ता एकाध कार्यक्रम पर्याप्त हुँदैन; विषयगत ज्ञानको आयतन फराकिलो पार्न र कूटनीतिक सीप तिखार्न विशिष्ट र स्तरीय तालीमहरू आवश्यक हुन्छन् ।

विश्वशक्ति बन्ने दौडमा रहेका देशहरू नेपालको सिमाना जोडिएका छिमेकी छन् । तिनका संभाव्य सामरिक कदमहरूको पूर्वानुमान गरेर तिनबाट नेपाललाई सुरक्षित राख्दै अधिकतम् लाभ लिन सक्ने खुबी भएका कूटनीतिज्ञहरूको समूह तयार गर्न सरोकारवालाहरूले बेलैमा सक्रीय हुनु अपरिहार्य भैसकेको छ । किनभने समयसापेक्ष प्रयासका परिणाम मात्र सकारात्मक हुनेछन् ।
कात्तिक १६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस