खोज/विशेष : टिप्पणी

कम्युनिस्ट शासनको १०० वर्ष : हत्या, आँसु र भोकमरी


यो वर्ष संसारमा गरिएको सबभन्दा ठूलो गल्तीमध्येको एक — रुसमा कम्युनिस्ट क्रान्तिको सयौं वार्षिकी परेको छ ।

रुसमा र अन्य देशमा कम्युनिस्ट शासकहरूले लगभग १० करोड मानिसको ज्यान लिए । अधिकांश मानिस भोकमरीका कारण मारिए किनकि समाजवादी तानाशाहहरूले जनतालाई जबर्जस्ती अप्रभावकारी सामूहिक खेती गर्न लगाए । अन्य लाखौंलाई राजनीतिक सफाया गरियो ।

तर रुसी क्रान्ति हुँदा रुसभित्र र बाहिरका मानिसहरू उत्साहित भएका थिए । भीडले लेनिनलाई उत्साहित गरायो । अब कुलीनहरूले शासन चलाउँदैनन्, पूँजीपतिहरूले कामदारलाई शोषण गर्दैनन् अनि मानिसहरू सँगसँगै समृद्धिको बाटोमा अघि बढ्छन् भन्ने जनतालाई विश्वास थियो ।

बेलायती पत्रकार थियोडोर रोथस्टाइनले लेखे, ‘साम्राज्यवादी दुःस्वप्नको अविभाजित नियन्त्रण अन्त्यतिर आइपुगेको छ ... (अब) मजदूर वर्गको शासन हुन्छ ।’

तर जनताको जीवनका सबै पक्षमा सरकारी योजनाले काम गर्दैन अनि सबै कुरा राम्रो हुँदै जाने कुरा पनि सम्भव छैन । उल्टो, प्रशासनिक योजना आयोगहरू तथा गोप्य प्रहरी यसका उपज हुन् ।

(तर यसले नेपाललगायत देशमा कम्युनिस्ट शासनको वार्षिकोत्सव मनाउन रोकेन । विप्लव नेतृत्वको माओवादी समूहले हालै अक्टोबर क्रान्तिको वार्षिकी मनायो ।)

कम्युनिजम हत्यामा आधारित शासन व्यवस्था हो । लेनिनले क्रान्तिको शुरुवातमै सयजना सम्पत्तिधारीहरूलाई झुण्ड्याउने आदेश दिएका थिए । जनताले ‘जमिन्दार, धनी र रगतचुसुवाहरू’ को मृत्यु देख्न पाउनुपर्ने उनी बताउँथे ।

त्यसपछि आमहत्या र भोकमरीले मृत्युको संख्या ह्वात्तै बढायो ।

दार्शनिक कार्ल मार्क्सले साम्यवादको सिद्धान्त ल्याउँदा यस्तो स्थितिको कल्पना गरेका थिएनन् तर यस्तो हुन गएकोमा आश्चर्य मान्नुपर्दैन । मार्क्सका लेखहरूमा पूँजीपतिहरूलाई ब्वाँसा र अन्य मांसाहारी जनावरसँग तुलना गरिएको छ अनि उनीहरूलाई नष्ट गरिनुपर्ने बताइएको छ ।

मार्क्सले पूँजीवाद उत्पादनशील भएको स्वीकार गरेका थिए तर ‘पूँजीले उत्पादन क्षमता हासिल गर्नका लागि जीवित मजदूरलाई भ्याम्पायरले जस्तो निरन्तर चुसिरहन्छ’ भनेर समेत लेखेका थिए ।

सोभियत शासनले लाखौं मानिसको हत्या गरेको भएपनि केही पत्रकार र बुद्धिजीवीहरूले अपराधलाई ढाकछोप गरेका थिए ।

स्टालिनले अधिकांश मिडियालाई बाहिरै राखेका थिए त्यसैले अत्यन्तै कम मानिसले मात्र लाखौं जनता भोकभोकै मरिरहेका छन् भनी थाहा पाए । तर न्यु योर्क टाइम्सका वाल्टर डुरान्टीले यो दुर्दशा प्रत्यक्ष देखे ।

तैपनि उनले ‘स्टालिनका अपराधलाई लुकाए’, खुला बजार विचारधारालाई संसारभरि प्रवर्द्धन गर्ने एटलस नेटवर्कका टम पाल्मर भन्छन् ।

डुरान्टीले ‘कम्युनिस्ट क्रान्ति’ लाई समर्थन गरेको भएर ‘रुसमा भोकमरीको रिपोर्ट अतिशयोक्ति वा दुराग्रहपूर्ण प्रचारबाजी’ भने भनी पाल्मर दाबी गर्छन् ।

डुरान्टीले ‘ट्रक भरिभरि लाशहरू देखेका थिए’, पाल्मर भन्छन्, तैपनि ‘उनले द न्यु योर्क टाइम्सको पहिलो पृष्ठमा सबै कुरा गजबको भएको लेखे’ । उनले यसका लागि पुलित्जर पुरस्कार समेत पाए ।

यसो हेर्दा समय खास परिवर्तन भएको छैन । यसै वर्ष द न्यु योर्क टाइम्सले रुसी कम्युनिस्ट शासनको वार्षिकोत्सव मनाउनका लागि विभिन्न निबन्धको सिलसिला नै चलायो । तीमध्ये एउटामा त सोभियत संघमा यौन पनि राम्रो हुन्थ्यो किनकि क्रान्तिले मांसल पूँजीवादी संस्कृतिलाई ध्वस्त पारेको थियो भनी लेखिएको थियो ।

हुन त पछि द न्यु योर्क टाइम्सले डुरान्टीको काम ‘यो पत्रिकामा गरिएको सबभन्दा खराब रिपोर्टिङमध्येको एक’ भनी स्वीकार ग–यो तर पुलित्जर समितिले पुरस्कार खोसेन ।

कम्युनिजम अभ्यास गरिएका सबै ठाउँमा हत्याहरू भएका छन् । कम्युनिजमको सयौं वार्षिकीका अवसरमा मैले एक भिडियो बनाउँदा लिली ताङ विलियम्ससँग अन्तर्वार्ता गरें । उनी चीनको कम्युनिस्ट शासनमा हुर्केकी हुन् ।

‘मेरा लागि त माओ भगवान् जत्तिकै थिए,’ उनी सम्झिन्छिन्, ‘बिहानै हामीलाई भजन गाउँदै अध्यक्ष माओका अगाडि गल्ती स्वीकार गर्न लगाइन्थ्यो ।’

माओको शासनमा विलियम्स भोकका कारण तड्पिनुपरेको थियो । ‘म अत्यन्तै भोको थिएँ । मेरा काकाले मलाई मुसा समात्न लगाउनुहुन्थ्यो । तर समस्या के भने सबैजना मुसा समात्न चाहन्थे । हुँदा हुँदा मुसा नै सकिए ।’

तैपनि उनलाई कम्युनिस्ट प्रचारबाजीका कारण ब्रेनवाश गरिएकाले ‘माओको मृत्यु हुँदा झण्डै आँखा झर्ने गरी रोएकी थिएँ’ भन्छिन् ।

तर ‘म कलेजको विद्यार्थी हुँदा मैले अमेरिकी विद्यार्थीलाई भेटें । उनले मलाई अमेरिकी संविधान र स्वतन्त्रता घोषणाको हाते किताब दिए । त्यसपछि मेरो दिमागमा बत्ती बल्यो ।’

पहिलोचोटि उनलाई लाग्यो, ‘मेरा पनि अधिकार छन् ... प्राकृतिक अधिकारलाई कसैले खोस्न सक्दैन । जीवन, स्वतन्त्रता र खुशीको खोजी ।’

उनी अमेरिकातर्फ भागिन् । अब उनको जीवनको लक्ष्य नै अमेरिकीहरूलाई स्वतन्त्रताको महत्त्व सम्झाउने हो ।
मलाई लाग्छ, उनको सन्देश कार्ल मार्क्स, लेनिन र स्टालिनकोभन्दा सही छ ।

‘ठूलो, शक्तिशाली सरकार एदकमै डरलाग्दो हुन्छ,’ उनी चेतावनी दिन्छिन् । ‘यो क्यान्सर जस्तै फैलिँदै जान्छ, कहिल्यै रोकिँदैन । व्यक्तिलाई नभई सरकारलाई शक्तिशाली बनाउँदा हामीहरू यो स्वतन्त्र देश गुमाउन पुग्छौं ।’



लेखक स्टोसेल

मूल लेख यहाँ पढ्नुहोला । 

भावानुवाद : विन्देश दहाल


कात्तिक १६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस