विश्लेषण : आलेख

जन्मजात दृष्टिविहीन लक्ष्मेश्वरको व्यस्तता, गफ गर्नेसमेत छैन फुर्सद

काठमडौं, १९ कात्तिक– सर्लाहीका दृष्टिविहीन लक्ष्मेश्वर महतो दिनभरी काठमाडौंको भृकुटीमण्टपमा रहेको प्रेसमा काम गर्छन् । भृकुटी मण्डपको अपाङ्ग महासंघ पछाडि अपाङ्गता भएका साथीहरुकै लगानीमा संचालित छापाखानामा काम गर्दै आएको महत्तोले लोकान्तरलाई बताए ।

उनले भने, ‘यो उज्यालो विश्व अभियान भन्ने संस्थाको लगानीमा सञ्चालन भएको छापाखाना हो । यहाँ हामी विभिन्न किसीमका अपाङ्गता भएका साथीहरु काम गछौं । अर्डर अनुसार काम हुन्छ । कामको आधारमा पारिश्रमिक पाउँछौं । ’

कालो चस्मा लगाएका महत्तो साथमा सेतो छडी राखेर उनी दिनभरी हातले छामेरै क्यालेण्डरमा पाता हान्ने, विलहरुलाई मिलाउने, कागजहरु मिलाउने,कति छन् भनेर गन्ती गर्ने, लगायतका कामहरु गर्छन् ।

साँझपख उनको अर्को पनि जागिर छ । बानेश्वरमा रहेको एक रोधी घरमा गीत गाउँदै उनी सबैलाई नचाउँछन् । नेत्रहिन संघ नेपालको सहयोगमा २०६९ सालदेखि दुई वर्षसम्म संगित,हार्मोनियम र तबला बजाउन सिके पछि उनलाई जीवनयापनमा सहज भयो ।

दृष्टिविहीन भएपनि उनलाई बाँच्नको लागि अरुको भर पर्नुपदैन । दिनमा एक हजार भन्दा माथि नै कमाई हुने उनले सुनाए । एम एड दोस्रो वर्षमा अध्ययन गर्दै गरेका महत्तोले छापखाना र रोधिघरमा काम गरेर परिवारलाई पनि खुसीसंग पालिरहेका छन् ।

जन्मजात नै दृष्टिविहीन भएका महत्तोको श्रीमती, बुबा,आमा, र दुई भाइ, दुई बहिनी छन् । उनीजस्तै उनकी एक बहिनी र भाई पनि दृष्टिविहीन छन् । जन्मजात दृष्टिविहीन लक्ष्मेश्वरलाई आँखा देख्ने बनाउन आमाबुबाले भारतसम्म लगेर उपचार गराए । तर डाक्टरहरुले निको नहुँने बताएपछि उनको संसार हेर्ने चाहना पुरा भएन ।
आँखाले देख्न नसकेपनि उनले यो संसारलाई महशुस गरेका छन् । सानै देखि परिवारको सहयोगमा महत्तोले अथाह मेहनत र संघर्ष गरेर आत्मनिर्भर बनेका हुन् ।

यसरी सिके लेखपढ गर्न

जेठो सन्तानको रुपमा जन्मेका महत्तोले आमाबुबाको माया र सहयोगमा विद्यालयमा पढ्न सुरु गरे । गाउँकै एकजना शिक्षक आफन्तले दृष्टिविहीन बालबालिकाले पढ्ने स्कुल छ भनेर घरमा जानकारी गराएर पछि उनी सर्लाहिको हरिपुरमा रहेको विद्यालयमा वे्रनलिपिको माध्यमबाट पढ्न सुरु गरे ।

आफूले पढ्न सुरु गरेका दिन सम्झदै उनले लोकान्तरसंग भने,‘ स्रोत कक्षा थियो हामी दृष्टिबिहीनहरुले पढ्ने । छ वटा थोप्ला हुन्छ वे्रल लिपिमा, हामीलाई शिक्षकहरुले टाकको माध्यमबाट काटुनमा सिलाएर त्यहि आकार प्रकार दिएर क देखि ज्ञ सम्म,अ देखि अं. सम्म ए देखि जेट सम्म कण्ठ गरेर सिकेको हो ।’

उनले लेख्न सिकेको कुरा यसरी सुनाए, ‘यति कण्ठ गरेपछि खोपेर लेख्न लगाइन्थ्यो । स्टील प्लेट हुन्थ्यो, त्यसमा दुई खण्ड हुन्थ्यो, त्यसको विचमो बाक्लो किसिमको पेपर राखिन्थ्या । त्यसमा खोपेको कुरा कागजमा तोरीको दाना जस्तो थोप्ला उठ्थ्यो । त्यहि अक्षरलाई छामेर पढ्थें मैले ।’

स्रोतकक्षामा दुई वर्षसम्म व्रेनलिपिमा लेख्न सिकेका लक्ष्मेश्वरले ३ कक्षामा भर्ना भएपछि भने शिक्षकले भनेको सुनेर लेख्नुपर्ने भयो । स्कुलमा पढ्दा वे्रनलिपिको माध्यम नहुदा पढ्नलाई किनै समस्या आइपरेको उनको भनाइ छ ।

‘शिक्षकले भन्दिदै लेख्दा त सुनेर लेख्न सक्थे तर उहाहरुलाई बोल्दै लेख्न पर्छ भन्ने नै थिएन । कतिपय अवस्थामा छुट्दै, साथीहरुसंग सहयोग माग्दै पढियो ।’ उनले भने,‘ केही साथीहरु एकदमै सहयोगी पनि हुनुहुन्थ्यो । विदाको दिन घरमै आएर पनि सिकाउनु हुन्थ्यो ।’

जब एस.एल.सीमा प्रथम श्रेणीमा पास भए

सर्लाहिको महावीर जनता उ.मा.विमा आठ कक्षा सम्म पढेका लक्ष्मेश्वोरले नौं कक्षाबाट बाराको नेपालराष्ट्र उ.मा.विमा पढ्न थाले । दश कक्षाको अर्धबार्षिक सम्म सुन्दै लेख्ने गरेका महेश्वरले टेष्ट र एस.एल.सी परिक्षामा सहयोगी लेखक पाए । मन लगाएर पढाईमा ध्यान दिएका महेश्वर एस.एल.सि. परिक्षाको नतिजामा प्रथम श्रेणीमा पास हुन सफल भए ।

त्यो दिनको खुसी सुनाउदै उनले भने,‘ एस.एल.सी. मा प्रथम श्रेणीमा पास भएपछि धेरै खुसी लाग्यो । ७५.३ प्रतिशतमा पास भएको खुसी सुनाउन म स्कुलमा गए । शिक्षकहरु पनि धेरै खुसी हुनुभयो । साथीहरुले पनि बधाइ दिए ।’

एस.एल.सि प्रथम श्रेणीमा पास भएपछि अझै पढ्न पर्छ र जिम्मेवारी थपिएको आभास भएको उनले बताए ।


सहज भएन प्लस टु


प्रथम श्रेणीमा एस.एल.सि पास भएपनि एघार र बाह्रमा पर्दा भने सरकारबाट सहयोग नपाएको उनले गुनासो गरे । परिवारमा पनि अन्य दुईजना सदस्य दृष्टिविहीन भएपछि पढाई खर्च जुटाउन समस्या परेको उनले सुनाए । ‘ स्कुलमा बल्लतल्ल मासिक शुल्क छुट दियो । कोठा लिएर बस्नुपथ्यो ।’

सम्भावनाहरु धेरै छन् मेहनत गर्न आँट गर्नुपछ

हाल काठमाडौंमा एम.एड दोस्रो वर्षमा पढ्दै आएका महत्तोको जीवन खुसीसंग वितिरहेको छ । अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैनन् भन्नु मानिसहरुको गलत मानसिकता भएको उनी बताउछन् । आफु दृष्टिविहीन भएपनि आत्मनिर्भर बनेर जीवनयापन गर्न सफल भएकोमा उनी आफ्नो काम प्रति सन्तुष्ट छन् ।

‘परिवारको सपोट भयो भने दृष्टिविहिनहरुले पनि आफै काम गर्न सक्छन् । म मात्रै हैन,अरु पनि धेरै साथीहरु हुनुहुन्छ आफै काम गरेर खुसीसंग जीवन विताइरहनु भएको छ ।’ उनले भने,‘ सम्भावनाहरु धेरै छन् मेहनत गर्न आँट गर्नुपर्छ ।’

अन्य अपाङ्गता भएका साथीहरुलाई उनी भन्छन्,‘ मेहनत गरे आफैले काम गर्न सकिन्छ, मागेर खानु पर्दैन ।’
कुनैपनि व्यक्ति जुनसुकै बेला अपाङ्ग बन्न सक्ने भन्दै अपाङ्गता भएका व्यक्तिलाई समाजले राम्रो दृष्टिले हेर्नुपर्ने र सहायता गर्नुपर्ने उनी बताउँछन् । कात्तिक १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस