संगीत

फाटेको जुत्ताः उट्पट्याङै उट्पट्याङमा सकिएको फिल्म

काठमाडौं, १८ कार्तिक – आजभोलि नेपाली चलचित्र उद्योगमा फरक फरक शैली र स्वादका फिल्म निर्माण भइरहेका छन् । पछिल्लो समय मौलिक र पृथक् शैलीका फिल्म बन्न थालेका छन् ।

एउटै गाउँ तथा परिवारभित्रको सानो कथामा पनि फिल्म निर्माण हुन थालेका छन् । डार्क कमेडी विधामै फिल्म लगातार निर्माण त भइरहेका छन् तर तीमध्ये धेरै फिल्मका शैली एकनासका र उस्तै बन्न थालेका छन् । चलचित्र ‘फाटेको जुत्ता’ पनि सामान्य कथाभित्रको एक कामचलाउ सिनेमा मात्र हो ।

चलचित्रमा त्यस्तो नौलो र व्यापक कथा केही छैन । तराईको कुनै एउटा गाउँका सामान्य घटनालाई फिल्ममा जोडजाड गरिएको छ । मिन्टु (सौगात मल्ल), उसका दुई साथी गुप्ते (कामेश्वर चौरासिया) र चुच्चे (अनोज पाण्डे) मिल्ने साथी हुन्छन् । तिनै तीन साथीले गाउँमा गर्ने बदमासी र हिन्दी फिल्मको प्रभाव र मिन्टुको बाबुको डनगिरीको प्रभावले ‘डन’ बन्ने लक्ष्य लिएका तिनै पात्रको दैनिकीमा फिल्मको कथा अगाडि बढ्दै जान्छ ।

फिल्मको राम्रो पक्ष यसका संवाद हुन् भने फिल्मको कमजोर पक्ष यसको कथावस्तु नै हो । अर्थात ‘फाटेको जुत्ता’ कमजोर कथामा बनेको कच्चा फिल्म हो । यसको कथा नै फाटेको जुत्ताजस्तो बनेको छ । तराईको पृष्ठभूमिमा बनेको चलचित्रको संवाद भने पहाडी लबजको सुनिन्छ ।

मिन्टुको वरिपरि घुमेको कथामा कुनै ट्विस्ट छैन । फिल्म विना कारण र विना उद्देश्य अगाडि बढिरहन्छ । मिन्टुको पारिवारिक पृष्ठभूमिलाई देखाइएपनि पारिवारिक जिम्मेवारी र उसका साथीको परिवारलाई देखाइएको छैन । जसरी भएपनि ‘कमेडी’ बनाउन खोज्दा फिल्म केही हास्यरसले भरिपूर्ण त बनेको छ तर शक्तिशाली बन्न सकेको छैन ।

प्रायः कलाकारको अभिनय बनावटी र नाटकीय लाग्छ । सौगात मल्ल र कामेश्वर चौरसिया जस्ता उम्दा कलाकारको अभिनय पनि कामचलाउ खालको छ । बरू अनोज पाण्डेले केही स्वाभाविक अभिनय गर्न खोजेका छन् ।

दुःखलाग्दो कुरा, मुख बङ्ग्याएर जबर्जस्ती हँसाउन खोज्ने शिल्पबाट यो फिल्म अछुतो छैन । मुख्य भूमिकामै देखिएका प्रियंका कार्की र रवीन्द्र झाको अभिनय पनि फितलो लाग्छ । दयाहाङ राईको सानो भूमिका छ तर कुन ग्रहबाट थपक्क झरेर उनी कथानकमा अटाएका हुन् दर्शकले पत्तै पाउँदैनन् ।

फिल्ममा हँसाउने नाममा वाहियात रूपमा देखाइएको दृश्य त के लाग्छ भने मिन्टुले भैंसीलाई ‘काकी’ को संज्ञा दिन्छ । यसरी पनि कमेडी जन्माउन सकिन्छ भन्ने सोच पाल्नु निर्देशकको कमजोरी हो । चोर पुलिसको खेल र क्लाइमेक्सको दृश्यले फिल्मलाई झनै कमजोर बनाएको छ ।

फिल्मको छायांकन पक्ष राम्रै भन्नुपर्छ । निरज कँडेलले फिल्मको छायांकनलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन् । केही दृश्यमा तराईको सुन्दरता देखाउन खोजिएको छ ।

तर फिल्मको सन्देश तराईका गाउँमा गुण्डागर्दी गर्नु सामान्य हो र यो नै गरिखाने बाटो हो भन्ने पार्न खोजिएको जस्तो लाग्छ ।

फिल्मको पार्श्वध्वनि त्यति अत्यासलाग्दो छैन । फिल्मलाई कमेडी बनाउने ध्याउन्नमा नै पार्श्वध्वनि केन्द्रित छ । सक्दो हास्यपूर्ण बनाउन खोजिएको फिल्ममा निर्देशकको काम औसत छ । यद्यपि निर्देशकले केही पक्षमा भने विशेष ध्यान दिएका छन् । मूल कलाकारसँगै गाउँलेको भूमिकामा देखिएका गौण कलाकारलाई पनि निर्देशकले सक्दो न्याय गर्न खोजेका छन् । यो फिल्मको सकारात्मक पाटो हो ।

फिल्मका केही संवादले मात्र फिल्मलाई हल्का मनोरञ्जनमूलक बनाउन सकेको छ । लेखक निरोज महर्जनले संवाद त राम्रै लेखेका हुन् तर उनी मूल कथामै अलमलमा पर्दा फिल्म फितलो बन्न पुगेको छ ।

उट्पट्याङमाथि उट्पट्याङ थोपर्न खोजिएको फिल्म उट्पट्याङ मन पराउनेका लागि त रमाइलो लाग्न सक्छ तर रमाइलोमा राम्रो नै हुन्छ भन्ने छैन । पटकथामै समस्या भएको फिल्म ‘फाटेको जुत्ता’ ले दुई घण्टा त दिक्क नबनाउला तर यो फिल्म हास्य टेलिशृङ्खलाभन्दा दमदार छैन । कात्तिक १९, २०७४ मा प्रकाशित

अर्घेलो थापा

अर्घेलो लोकान्तरका कला संवाददाता हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस