विश्लेषण : अन्तर्वार्ता

अन्तैबाट उठ्न प्रस्ताव आएपनि ज्युँदाको जन्ती, मर्दाको मलामी सम्झेर काठमाडौं–५ नै रोजें: ईश्वर पोखरेल [अन्तर्वार्ता]

नेकपा एमाले र माओवादी केन्द्रसँगको चुनावी तालमेलका लागि महत्त्वपूर्ण भूमिका खेलेको ठानिएका नेकपा एमालेका महासचिव ईश्वर पोखरेल चुनावमा माओवादीले एमालेलाई र एमालेले माओवादीलाई भोट हाल्न समस्या नरहेको बताउँछन् । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं ५ बाट उम्मेदवार बनेका पोखरेलसँग वामपन्थी गठबन्धन र चुनावी तयारी लगायतबारे लोकान्तरकाविमल गौतमसुशील पन्तले कुराकानी गरेका थिए । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :


अन्य दलका नेता र स्वयं तपाईंको पार्टीका नेताहरू पनि चुनाव जित्नका लागि सुरक्षित स्थान खोज्दै हिँडिरहेको समयमा तपाईंले चाहिँ फेरि पनि काठमाडौं–५ लाई किन रोज्नुभयो ?
 

मैले काठमाडौं–५ का जनतासित प्रतिबद्धता व्यक्त गरेको छु, हारेपनि जितेपनि तपाईंहरूको साथ छोड्दिनँ भनेर । जित्दाखेरी यहाँका समस्या समाधान गर्न त्यही हैसियतले भूमिका खेलौंला । हार्दा पनि आफ्नो ठाउँबाट भूमिका खेलौंला भनेर प्रतिबद्धता गरेको छु । विगतमा कहिले जितें, कहिले हारें । जितेको बेलामा आफ्नो ढंगबाट भूमिका खेलें, नजितेको बेलामा पनि मैले आफ्नो स्थानबाट सक्नेजति गरेकै छु ।  

वास्तवमा प्रतिस्पर्धामा जाँदा अनुकूलता र प्रतिकूलता दुवै पक्ष हुन्छन् । अनुकूलता मात्रै होइन, प्रतिकूलता हुँदा पनि आफ्नो प्रतिबद्धतामा उभिनुपर्छ भन्ने मलाई लाग्छ । यसपटकको चुनावमा पनि मलाई धेरै ठाउँबाट अफर (प्रस्ताव) आए । तर मैले जनतासँगको सम्बन्ध मर्दाको मलामी र जिउँदाको जन्ती हुनुपर्छ भन्ने सम्झेर काठमाडौं–५ बाटै उठ्ने निर्णय गरेको हुँ ।  

यहीँ रहनुपर्छ भनेर म यो निर्णयमा आएको हुँ । क्षेत्र नम्बर पाँचकै कुरा गर्ने हो भने म कहीँबाट क्षेत्र खोज्दै खोज्दै यहाँ आएको होइन । हिजो मनमोहन अधिकारी यो ठाउँमा उठ्दा पनि उहाँको प्रचार अभियानको मुख्य मान्छे भएर भूमिका खेलें । प्रधानमन्त्री हुँदा पनि प्रमुख राजनीतिक सल्लाहकार भएर भूमिका खेलें । उहाँको निधनपछि यही क्षेत्रमा उम्मेदवारी पाएर विजयी भएको हुँ । 

यो मेरो पृष्ठभूमि भएको हुनाले र मैले जनतासँग कबुल समेत गरेकोले मैले अन्त जान नचाहेको हो ।

यसपटक मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
 

मुख्य कुरा के भने मैले जनतासँग जुन प्रतिबद्धता व्यक्त गरेको छु, त्यो कायम राखेको छु । हिजो जे बोलेको थिएँ, त्यसमा कायम छु । जनताले यसको मूल्यांकन गरेका छन् भन्ने मैले ठानेको छु । हामीले आफ्ना समस्या राख्ने मानिस यही हो, जित्दा मात्रै होइन हार्दा पनि हाम्रो साथ छोडेन भनेर जनताले बुझिरहनुभएको छ भन्ने मलाई लाग्छ ।  

त्यस हिसाबले पनि जनताको साथ, समर्थन र सहानुभूति पाउँछु भन्ने मलाई लाग्छ । मैले जित्दा पनि यहाँको विकास निर्माण र व्यवस्थापनका लागि जे भूमिका खेलेको छु, त्यसलाई कहिल्यै छाडेको छैन । चक्रपथदेखि टोखा हुँदै नुवाकोट जाने बाटो यो क्षेत्रको लाइफलाइन हो । त्यो बाटो बनाउनका लागि विजयी हुँदा पनि र नहुँदा पनि भूमिका निर्वाह गरें । अहिले यो केरुङ जाने हाइवेको रूपमा अघि आएको छ, यसलाई चाँडो टुंग्याउनुपर्छ भनेर लागेको छु । झोरबाट सुरुङ हुँदै नुवाकोट पुग्ने योजना केपी ओली प्रधानमन्त्री भएको बेलामा उठेको विषय हो । त्यसलाई पूरा गर्न लागिपरेको छु ।  

काठमाडौं–५ मा मात्र १८ वटा अस्पताल रहेछन् । तर यहाँका जनताले भनेअनुसारको स्वास्थ्य सेवा पाएका छैनन् । तीन दर्जनभन्दा बढी नाम चलेका स्कूल र कलेज यहाँ छन् । तर यिनीहरूको सम्बन्ध जनतासँग गाँस्नुपर्नेछ । स्वास्थ्य र शिक्षामा यहाँका जनताको पहुँच पु–याउनुपर्नेछ । यसका लागि मसँग केही प्रस्ताव र योजनाहरू पनि छन् । म त्यस हिसाबले जनतासँगको साझेदारीमा संस्थाहरूलाई अघि बढाउन चाहान्छु जहाँ जनताले पनि लाभ लिन सकून् र यी संस्थाहरू पनि फल्न फुल्न सकून् । 

एमाले उठेको ठाउँमा माओवादीले खासै बागी दिएनन् । आफ्नै पार्टीका बागी थिए । अहिले पाएको सूचनाअनुसार माओवादीहरूको बागीको समस्या छैन । एमालेको तर्फबाट पनि बागीको समस्या छैन । हामीले यसरी टुंग्याएका छौं । माथिको निर्देशनको मात्र कुरा होइन, जनस्तरमा यो आवश्यक कुरा थियो भन्ने सबैलाई  लागेको छ ।

यो क्षेत्रको एउटा गम्भीर समस्या भनेको सार्वजनिक सम्पत्तिको सुरक्षा हो । यो कुनै व्यक्ति विशेषको कुरा होइन, जनताको सम्पत्ति हो । यो पाँच नम्बर क्षेत्र पुरातात्त्विक, तथा धार्मिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण रहेछ । हाँडीगाउँ हेर्नुस्, मल्लकालीन राजधानीको राजधानी थियो । त्यो दरबारलाई राम्रो बनाउनुपर्ने र सुरक्षा गर्नुपर्नेछ । 

हामी आफ्ना सम्पत्ति रक्षा गर्न नसक्ने रहेछौं । टोखा एउटा सांस्कृतिक नगरी हो । त्यसका अवशेषहरू अहिले पनि छन् र त्यसको संरक्षण हुन सकेको छैन । बूढानीलकण्ठ त्यस्तै ठाउँ हो । दलीय स्वार्थ र सानो सोचाइको कारणले बाधा पुगेको छ । त्यसलाई सच्याउनुपर्छ । 

राजधानीसँग गाँसिएको नेसनल पार्क सम्भवतः शिवपुरी मात्रै हो, अरू देशमा शायद छैनन् । तर यो नेसनल पार्कलाई व्यवस्थित बनाउनुपर्नेछ । त्यसको संरक्षण गर्नु जरूरी छ । म २०५६ सालमा निर्वाचित हुँदा यहाँ मेलम्चीको खुब गीत गाइँदै थियो । मैले त्यसबेला रेनवाटर हार्भेस्टिङको कुरा गरेको थिएँ । 

यसले उपत्यकामा पानीको आपूर्ति सहज हुन्थ्यो,  अरू देशमा पनि यस्ता अभ्यास छन् । ती चीजहरू यत्तिकै अलपत्र परे । अहिले पनि व्यवस्थित ढंगले पानी संकलन गर्नुपर्नेछ । वरिपरि यो जंगल र डाँडा नहुने हो भने काठमाडौंका जनताहरू थप मर्माहत हुन्थे होलान् । त्यसले यहाँको जीवनलाई धानेको छ । यी कुराहरू मेरो क्षेत्रसँग सम्बन्धित छन् ।

काठमाडौंका मतदाता र बासिन्दाहरू धूलो धूवाँ र प्रदूषणबाट आक्रान्त भएका छन् । नेताहरूप्रति आक्रोश देखिन्छ । राजधानी शहरलाई कस्तो बनाउने योजना छ ? 
 

व्यवस्थित योजना र संरचनाहरूबीच समन्वयको अभाव छ । जस्तो भनौं, निश्चित काम मन्त्रालयले मात्रै गर्छ, किटान छ । महानगरपालिकाले केही पनि संलग्नता देखाउन पाउँदैन । अर्को, कुनै काम अर्को कुनै निकायले गर्छ, अर्को कार्यालयले छुन पाउँदैन । समन्वयको अभाव छ ।

अस्ति नै एउटा पत्रिकामा पनि आएको थियो । मेलम्चीको पानी ल्याउनका लागि सडक भत्काइएको छ, अब पानी आउँछ भनेर लेखेको छ । ठीक तल अर्को न्यूज लेखेको छ, सडक भत्काएर धाँजा धाँजा पारिएको छ । मेयरले काम गरेको छैन भन्ने कुराहरू छन् । यहाँ समन्वयको अभावको कुरा छ । समन्वयको अभावमा विकासको नाममा विनाश मात्रै हुन्छ ।

यो त हामीले आम रूपले दखेका छौं । तर यसका लागि एउटा अथोरिटीअन्तर्गत काम गर्नुपर्छ ।

काठमाडौंलाई व्यवस्थित शहर बनाउनमा तपाईंको योजना के छ ?
 

एकीकृत विकासको कुरा गर्ने म नै हुँ । यो नगर्ने हो भने विकासको नाममा विनाश हुन्छ । विकासको रकम ५० प्रतिशत पनि लागू हुँदैन । यस्ता ठाउँहरूको लागि सोझै केन्द्रले नै एकीकृत विकासको लागि अघि बढाउनुपर्छ । 

सेक्टर सेक्टरका कुरा गरेर हुँदैन । ढलको कुरा गर्दा खानेपानीमा गाँसिन्छ, सडकमा गाँसिन्छ । यसलाई एकीकृत योजनाअन्तर्गत गर्नुपर्छ । मेरो त त्यही बेलाको कन्सेप्ट हो । मैले त २०५६ सालमा संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव नै दर्ता गरेको हुँ । म यो कन्सेप्टलाई अघि बढाउँछु । खण्ड खण्डमा यसलाई लैजानुहुँदैन भन्ने मलाई लाग्छ । 

स्थानीय तहलाई अधिकार दिइएको छ । संविधानमा त छन् तर कानून बनेको छैन । तीन तहको सरकारका अधिकारहरूलाई कार्यान्वयन गर्नका लागि काूनन समेत बनाउनुपर्छ । कति सहज छ हेर्नुपर्छ । होइन भने एकीकृत विकासका लागि काम गर्नुपर्छ ।  

चुनावको मुखमा भएको वामपन्थी एकतालाई कतिपयले आश्चर्यको रूपमा लिए, यो कसरी सम्भव भएको थियो ?
 

मुलुक राजनीतिक अस्थिरताले आक्रान्त छ, यसलाई अन्त्य गर्न बहुमतको सरकार चाहिन्छ । त्यसका लागि एमालेको सरकार चाहिन्छ भन्ने हाम्रो मान्यता हो । कतिपयले नेपाली कांग्रेसले पनि बहुमत ल्याए हुन्थ्यो होला नि भन्छन्, यसलाई इन्कार गर्न सकिँदैन । तर इतिहासको तथ्यहरूले के पुष्टि गरेको छ भने कांग्रेसले बहुमत ल्याएपनि मुलुकलाई राजनीतिक स्थिरता दिन सक्दैन, सकेन ।

बहुमत ल्याएर पनि कांग्रेसले सुशासन दिन सक्दैन भन्ने प्रमाणित नै भइसकेको छ । २०१५ सालमा कांग्रेसले दुई तिहाइ बहुमत ल्यायो । १८ महिना पनि टिक्न सकेन । राजाले खोसे भनेर भनियो । दुई तिहाइको बहुमत भएको कांग्रेसले त्यो बेला प्रतिवाद गर्न सकेन । कांग्रेसले २०४८ सालमा आरामको बहुमत ल्यायो । तीन वर्ष पनि टिकेन । २०५६ सालमा पनि बहुमत कांग्रेसले ल्यायो तर राजाको हातमा प्रजातन्त्र बुझाइयो । इतिहासमा पटकपटक कांग्रेसले बहुमत ल्यायो तर चलाउन सकेन ।

केही दृष्टान्तहरू छन् । नेपाल वायुसेवा निगम र थाइ एयरवेज एकै साल शुरु भए । आज थाइ एयर कहाँ छ, नेपाल एयरलाइन्स कहाँ छ ? धमिजा काण्डले निगमलाई धमिरा लगायो । विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना कहाँ गयो ? सप्तरीदेखि सर्लाहीसम्मका जनताले सूर्तिजन्य पदार्थ उत्पादन गरेर जीविकोपार्जन गरिरहेका थिए ।

वीरगञ्ज चिनी कारखानाका कसका कारणले डुब्यो ? बाँसबारी छाला जुत्ता कसका कारणले डुब्यो ? बाँसबारीका मशिनहरू भारतको कुनै शहरमा कुनै निजी कम्पनीले प्रयोग गरिरहेको छ । बाँसबारीको नाममा टहरो बनाएर उभ्याइएको छ । कांग्रेसले निजीकरण र उदारीकरणको नाममा कौडीको दाममा राष्ट्रिय सम्पत्ति बेच्यो । कांग्रेसले यसको बारेमा समीक्षा गर्न पर्छ कि पर्दैन ?

जहाँससम्म लोककल्याणकारी कुराहरू छन्, हामीले जेष्ठ नागरिकलाई सम्मान गर्न पर्छ भनेर भन्यौं । राज्यको कर्तव्य हो भन्यौं । कांग्रेसले राज्यको सम्पत्ति छ–यो भनेर टिप्पणी ग–यो । युवाहरू, एकल महिलाहरू, दलित, उत्पीडितहरूलाई अघि बढाउनुपर्छ भन्यौं तर कांग्रेसले त्यो देखिसहेन । 

नीतिगत कुराकानी गर्ने हो भने बहुमत जसले ल्याउँदा पनि हुन्छ । तर नेपालको यथार्थमा कांग्रेसले बहुमत ल्याएर पनि काम गर्न सकेन । देशलाई दुर्भाग्यपूर्ण अवस्थाबाट बचाउन पनि एमालेको नेतृत्व आवश्यक छ । 

चुनावको बेलामा यो कुरा गर्दा एउटा पार्टीले अर्को पार्टीलाई आरोप लगाएको भनेर भन्न सकिन्छ । तर यी तथ्यहरू हुन् । राजनीतिक स्थायित्वका लागि बहुमतको सरकार चल्नुप–यो तर यस्तो पाराले त भएन नि ।

कांग्रेसका नेताहरूले वामपन्थीहरू सत्तामा आए भने एकदलीय कम्युनिस्ट अधिनायकवाद ल्याउँछन् भनेर आरोप लगाइरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्टहरू राणा शासनभन्दा कठोर शासन स्थापित गर्न खोज्दैछन् भनेको पनि सुनियो । वामगठबन्धनको खास उद्देश्य के हो ?

कसले के आरोप लगाउँछ भन्दा पनि तथ्यको आधारमा निष्कर्षमा पुग्नुपर्छ । हिजो २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा सरकार बन्नुभन्दा अघि कांग्रेसहरू कम्युस्टिहरू आए भने बूढाबूढीलाई गोली ठोकेर मार्छन् भन्थे । मन्दिरहरू भत्काउँछन्, धर्म मान्दैनन् भनेर आरोप लगाइयो । बाजे बज्यैहरूलाई डर थियो । त्यो भ्रमपूर्ण प्रचार कम्युनिस्टहरूको सरकार बनेपछि च्यातचुत भयो । आज जसरी निजी सम्पीत्त राख्न दिँदैन, विदेशी लगानी आउन दिँदैन भन्ने कुराहरू छन्, तपाईं संचारकर्मी साथीहरूले नै बुझ्नुहोस् न । विदेशीहरू पार्टी हेरेर होइन, नीति हेरेर आउँछन् । 

अहिले कांग्रेसीहरू बूढाबूढीलाई कम्युनिस्टले गोली ठोकेर मार्छन्, निजी सम्पत्ति राख्न पाइँदैन भनेर भनिरहेका छन् । बौलाइरहेका छन् । यो बर्बराहट हो । यो संविधान बनाउने हामी कम्युनिस्ट हौं । देशभित्र र बाहिर संविधान नबनाउन दबाब आएका हुन् । तर हामी दृढताका साथ उभियौं । सुशील कोइराला मरेर जानुभयो, उहाँले संविधान जारी गर्ने बेलामा खुट्टा कमाएको हो कि होइन ? 

संविधान बनाउने हामी, संविधानको रक्षा र कार्यान्वयन गर्नुपर्छ भन्ने हामी । हामी त संविधानको किटानी व्यवस्था पालना गर्ने हौं । अधिनायकवाद लाद्ने कुरा कहाँबाट आयो । 

ब्रू कांग्रेसहरू भन्दैछन्, प्रमुख प्रतिपक्ष र प्रतिपक्षहरूलाई समाप्त पार्नुपर्छ भन्छन् । यो फासिस्टहरूले गर्ने तर्क हो । प्रजातन्त्रमा यस्तो तर्क गरिँदैन । जहाँसम्म कोही कोही कांग्रेसले त अझ के भन्ने गरेका छन् भने कम्युनिस्ट आए भने रुन पनि पाइँदैन । म त के भन्छु भने कम्युनिस्टको शासन आयो भने त रुनै पर्दैन । हामीले त भनेका छौं, जेष्ठ नागरिकलाई दिइने भत्ता केपी ओलीको पालामा दुई हजार पु–याइयो । अब पाँच हजार पु–याउँछौं भनेका छौं । यी हाम्रा भाषण मात्रै होइनन् ।

तपाईंहरूले माओवादीसँग गठबन्धन बनाएपछि देशभित्रका शक्तिहरू आत्तिएका र छिमेकी समेत बेखुश रहेको टिप्पणी आइरहेका छन् । वाम गठबन्धनको गन्तव्य कहाँसम्म हो ? 
 

लोकतान्त्रिक प्रणालीमा रहेका शक्तिहरू विचार मिल्दा नजिक हुन्छन् र एकता पनि गर्छन् । यो स्वाभाविक कुरा हो । यसमा त्यत्रो आपत्ति किन गर्नुपर्ने ? हामी कुरा मिलेपछि नजिक हुन्छौं । यसको त स्वागत पो गर्नुपर्ने होइन र ? अलग–अलग राजनीतिक कार्यदिशा भएका दलहरू मिल्दा पो अप्राकृतिक हुन्छ ।

हामी उन्नत नीति विचारबाट जनताको मन जित्ने कुरा गर्छौं । त्यो नीति  कार्यक्रमको आधारमा सरकार चलाउने हैसियतको कुरा गर्छौं । अहिले हामी निर्वाचनमा सहकार्य गरेका हौं । एउटै चुनावी घोषणापत्र लिएर आएका छौं । भोलि आउने दिनका लागि पनि हाम्रो गन्तव्य के हो ? समाजवाद निर्माणको आधार कसरी बनाउने ? यी कुराहरूमा हामी गम्भीर छौं । छलफल गर्दैछौं । 

त्यसकारणले हामी दुवै पार्टी एकताबद्ध बनाउने उद्देश्य र योजनामा छौं । पार्टी एकता संयोजन समिति समेत बनाएका छौं । चुनावको चटारो सकिएपछि पार्टी एकताका लािग आवश्यक कामहरू गर्नेछौं । कांग्रेसले पनि विचार मिल्नेसँग एकता गरे हुन्छ ।

यहाँले पटकपटक राजनीतिक स्थायित्वको कुरा गर्नुभयो । त्यसका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको कुरा पनि बाहिर आएका छन्, तपाईंहरूको लक्ष्य त्यतै हो ? 

हाम्रा थुप्रैखाले कुराहरू छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदा राजनीतिक स्थायित्व हुन्छ भन्ने कुराहरू आएका छन् । प्रत्यक्ष निर्वाचित भएका र संसदीय प्रणाली भएका ठाउँमा पनि अस्थिरता छन् । तर हाम्रा विशिष्टताको आधारमा हामी अघि बढ्नुपर्छ । राजनीतिक अस्थिरता र अधिनायकवादबाट हामी लखेटिएका छौं । हाम्रो लागि सन्तुलनको विन्दु के हो ? र कहाँ हो ? हामी उन्नत ढंगबाट कुरा गर्छौ ।

कार्यकारी प्रत्यक्ष निर्वाचित हुनेमा पनि दुईवटा कोणहरू छन् । संसदीय प्रणालीमा केही सुधारका कुराहरू पनि छन् । हाम्रो विशेषता र आवश्यकतामा पुग्नु जरूरी छ । घोषणापत्रमार्फत हाम्रा दृष्टिकोणहरू पनि आउँछन् । हाम्रो स्थायित्वको मोडालिटिमा पनि कुरा गर्छौं । अहिलेको हकमा विचार मिल्नेहरू एक ठाउँमा उभिएर चुनावमा जाऔं भन्ने कुरा हो । बहुमत ल्याएर स्थायित्व कायम गरौं भन्ने हो ।

आउनै लागेको चुनावमा एमालेले माओवादी उम्मेदवार र माओवादीले एमाले उम्मेदवारलाई भोट हाल्नुपर्ने अवस्था छ । दुवै पार्टीका नेता कार्यकर्ता कत्तिको इमान्दारीपूर्वक प्रस्तुत होलान् ?

मैले सकारात्मक तरिकाले शुरु गर्छु । सम्बन्धको कटुता भएको ठाउँमा उम्मेदवारी टुंग्याउन हामीलाई गाह्रो भएको थियो । सहमति भयो भन्ने कुरा आएपछि संयुक्त प्रचार समिति बने । भाषण गरेको को हो भनेर छुट्याउन पनि गाह्रो हुने गरेर साथीहरू प्रस्तुत भए । राष्ट्रिय आवश्यकताले झकझकाएको थियो ।

राजनीतिक कार्यदिशा अलग हुँदा पार्टीहरू अलग हुन्छन् । तर कार्यदिशा एउटै हुँदा किन अलगअलग बसेको भनेर कुराहरू आए । अहिले छोटो अवधिमै प्रगति भएका छन् । अस्वाभाविक भयो भन्दा भन्दै पनि धेरै मान्छेहरूको यसप्रति सकारात्मक प्रतिक्रिया छ । यसमा के हो भने यो राष्ट्रको आवश्यकता र जनताको चाहना हो । एकताबद्ध हुनुपर्छ भन्ने जनताको चाहना हो । कतिपय ठाउँमा अलिअलि समस्या आएका थिए । 

कहीँ कहीँ ठाउँमा बागी उम्मेदवारी परेका थिए । एमाले उठेको ठाउँमा माओवादीले खासै बागी दिएनन् । आफ्नै पार्टीका बागी थिए । अहिले पाएको सूचनाअनुसार माओवादीहरूको बागीको समस्या छैन । एमालेको तर्फबाट पनि बागीको समस्या छैन । हामीले यसरी टुंग्याएका छौं । माथिको निर्देशनको मात्र कुरा होइन, जनस्तरमा यो आवश्यक कुरा थियो भन्ने सबैलाई  लागेको छ ।

कति जिल्ला भने डरलाग्दा थिए, तर हामीले टुंग्यायौं । केही ठाउँमा नगरौं कि भनेर पनि कुरा भएका थिए तर मनोनयनको दिनमा त दुवै पार्टी एकै ठाउँमा आए । अलिअलि डर पनि लागेको थियो । तर सफलताका साथ सम्पन्न भयो । अव एमालेले माओवादीलाई र माओवादीले एमालेलाई भोट हाल्न केन्द्र र स्थानीय तहमा समस्या छैन ।

कात्तिक २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस