जीवनशैली : संस्कार

कल्पनाको दुरुपयोगले सफलता दिँदैन

मेरो एक जना मित्र हुनुहुन्छ । उहाँ भौतिक सफलता कसरी प्राप्त गर्ने भन्ने विषयमा कक्षा सञ्चालन गर्नुहुन्छ । झण्डै दस वर्ष भयो उहाँले यसबारेमा सिकाउन थाल्नुभएको । हजारौँले उहाँबाट कक्षा लिइसके । 
त्यस बेला हामीसँग उहाँ आफ्नो सपना सुनाउनुहुन्थ्यो, “अबको दस वर्षभित्र मैले कम्तीमा पाँच करोड रुपैयाँ कमाउनेछु । कार चढेर हिँड्नेछु ।” 

हरेक दिन एकएक घण्टाका दरले उहाँ आफू सफल भएको कल्पना गर्नुहुन्थ्यो । कार चढेर शानदारसँग हिँडेको, करोडौँ रुपैयाँमा खेलेको सपना देख्नुहुन्थ्यो । संसारका सफल मानिने व्यक्तिहरुको जीवनी पढ्नुहुन्थ्यो । लाग्थ्यो, उहाँलाई जति सफलताका बारेमा कसैलाई थाहा छैन ।  

अर्को एकजना साथी पनि हुनुहुन्थ्यो । उहाँको सोच भने अलि फरक थियो । अगाडि जे आउँछ त्यही गर्छु, योजना बनाएर बेकारमा के तनाव लिनु भन्नुहुन्थ्यो । भोलिको कुरा कसैलाई थाहा हुँदैन त्यसैले जति सक्छु अहिले नै बाँच्ने प्रयास गर्छु भन्नुहुन्थ्यो । उहाँ पनि पुस्तकहरु पढ्नुहुन्थ्यो, तर त्यसको पछि लाग्नुहुन्नथ्यो । पढ्नुहुन्थ्यो अनि छाडिदिनुहुन्थ्यो । 
हामीमध्ये धेरै जना पहिलो साथीको पक्षमा थियौँ । उहाँको अध्ययन देखेर हामीलाई लोभ लाग्थ्यो । उहाँ भविष्यमा अवश्य सफल बन्नुहुनेछ भन्ने सोच्थ्यौँ । थोरै मात्रै दोस्रो साथीको पक्षमा थियौँ । दोस्रो साथीका कुरा हामी खासै बुझ्दैनथ्यौँ । त्यस बेला हामी पैसा पाए जे पनि गर्न तयार जस्तै थियौँ ।

थाहा छैन, दोस्रो साथी कसरी फरक स्वभावको हुनुभयो ! उहाँको विचार पूरै फरक हुन्थ्यो । त्यसैले हामी उहाँतिर त्यत्ति झ्याम्मिँदैनथ्यौँ ।
अहिले दस वर्ष बितेको छ । हामीमध्ये एक जनाको त मोटरसाइकल दुर्घटनामा मृत्यु भयो । दुई जना विदेश जानुभयो । बाँकीले सामान्य जीवन बिताइरहेका छौँ । बेलाबेलामा आफूले ठूलो काम गरिरहेको देखाउन फेसबुकमा फोटा पनि हाल्छौँ ।

ती दुई साथीको बीचमा भने पत्याउनै नसकिने परिणाम देखियो । यस विषयमा म चिन्तन गर्न बाध्य भएँ । 

परिणाम आयो– पहिलो साथी अहिले मानसिक रोगको औषधि सेवन गर्नुहुन्छ । यो कुरा उहाँका केही नजिकका मित्रहरुलाई मात्रै थाहा छ । अहँ, सोचेजस्तो सफलता पनि उहाँलाई मिलेन । करोडपति त के उहाँ अहिले लखपति पनि हुनुहुन्न ।

अझै अचम्मको कुरा त, उहाँको पेशा अहिले यही बनेको छ । सफलता कसरी प्राप्त गर्ने भनेर उहाँ अरुलाई सिकाउनुहुन्छ । कसैकसैले उहाँबाट शिविर सञ्चालन गराउँछन् । अलिअलि मान्छे आउँछन् । सञ्चालकबाट प्राप्त पारिश्रमिकले जीवनयापन गर्नुहुन्छ । 

अर्को अचम्मको कुरा पनि छ । उहाँलाई मानसिक रोग कसरी लाग्छ, त्यसको उपचार विधि के हो, सबै थाहा छ । तर औषधि सेवन नगरी बस्नै सक्नुहुन्न । 
अनि हाम्रो दोस्रो मित्रको परिणाम के निस्कियो थाहा छ ?     

उहाँले पनि धेरै पैसा कमाउन सक्नुभएन । यसमा उहाँलाई कुनै दुःख छैन । शान्त स्वभावको हुनुहुन्छ । कसैप्रति गुनासो गर्नुहुन्न । आफ्नो समयको पूरै सदुपयोग गर्ने कोसिस गर्नुहुन्छ । एकछिन पनि अनावश्यक समय बिताउनुहुन्न । आफ्नो विचारमा थोरै परिवर्तन गर्नुभएको रहेछ– योजना त बनाउँछु तर त्यसैमा डुबिरहन्न । सफल भइयोस् या असफल, काम गरिरहनेछु ।
यी दुई घटना मेरै साथीहरुको बीचमा घटेका हुन् । म अझै पनि उनीहरुको निरन्तर सम्पर्कमा छु । पहिलो साथीले डिप्रेसनको औषधि सेवन गर्नुहुन्छ भन्ने उहाँकै मुखबाट सुनेपछि र देखेपछि मलाई अति नरमाइलो लाग्यो । मैले यसको कारण खोजेँ । अहिले आएर मलाई यसबारेमा थोरै थाहा पाएजस्तो अनुभव भएको छ ।
एउटा उदाहरणद्वारा म यसलाई पुष्टि गर्न चाहन्छु । 

धेरैले सुनेको नाम हो, पाउला कोएल्हो । उनले ‘द अल्केमिस्ट’ नामक चर्चित पुस्तक लेखेका थिए ।    

पुस्तक लेख्नुभन्दा पहिला उनी एक मानसिक रोगी थिए । त्यसको कारण थियो, आफूले चाहेको काम गर्न नपाउनु । 

आफूले चाहेको काम गर्न नपाउनुका विभिन्न कारण हुन्छन्–  
पहिलो– अरुको प्रगति हेरेर आफूसँग तुलना गर्ने गरिन्छ । धेरै मानिसहरुलाई आफ्नो रुचि केमा छ भन्ने थाहै हुँदैन । अरुको हे¥यो, त्यही काम ग¥यो । अरु त्यसैमा सफल हुन्छन् तर आफू भइँदैन । अनि तनावग्रस्त भएर बस्यो ।
कहिलेकाहीँ म यसो ध्यान दिन्छु घर नजिकैका दुई वटा पसलमा । दुवै किराना पसल हुन् । एउटै खालका सामानहरु पाइन्छन् । तर एउटा पसलमा सधैँ भीड हुन्छ, अर्को पसलमा फाट्टफुट्ट मात्रै मान्छे जान्छन् । म पनि भीड हुने पसलमै जान्छु । अर्को पसलेलाई हेर्छु, उसको अनुहार देखेर माया लाग्छ । 

पछिल्लो समय केही दिन म अर्को पसलेकहाँ पनि गएको थिएँ । उनी आफ्नो पसल नचलेको गुनासो गर्छन् । अन्य कुनै व्यवसाय गर्ने सोचमा छन् । 
कस्तो अचम्म ! पसल उस्तै ! ठाउँ एउटै ! एउटा चल्छ अर्को चल्दैन !

पछि मैले बुझेँ, पहिलो पसले त्यही काममा डुबिरहेका देखिन्थे । ग्राहकलाई आफूतिर तान्न सक्दो सस्तोमा सामान दिन्थे । हाँसेर बोल्थे । म अर्को पसलमा जाँदा पनि रिसाएनन्, बरु अर्कोपल्ट जाँदा हालखबर सोधे । कुराकानी गरे । 
अर्को पसलेले एक हिसाबले व्यापार गर्न जानेकै छैनन् । कसैले आएर सामान मागे दिन्छन् नत्र चुपचाप बस्छन् । हँसिला छैनन् । ग्राहकलाई आफूतिर तान्न सक्ने उनमा गुणै छैन ।  
दोस्रो– धेरैलाई परिवारले कर गरेर आफूले चाहेको पढ्न लगाउँछन् । छोराछोरीको इच्छा हुन्छ एउटा, परिवारले बनाउन चाहन्छन् अर्कै । 

तेस्रो र मूल कारण– आफ्नो इच्छाका बारेमा राम्रोसँग थाहा पाउनुभन्दा पहिल्यै ऊ त्यसबाट धेरै टाढा पुगिसकेको हुन्छ । कतिलाई पछि आफ्नो इच्छा, रुचि थाहा पनि हुन्छ तर अब उसले त्यसमा फर्कन ठूलै चुनौती मोल्नुपर्ने हुन्छ । उसलाई कसै गरेर पनि कमाउनुपर्ने बाध्यता भइसकेको हुन्छ । आफ्नो रुचि अनुसारको कार्य गर्दा परिवारको आर्थिक स्रोत नै बन्द हुन जान्छ । 
मेरा एक जना पत्रकार मित्र हुनुहुन्छ । उहाँ दिउँसो एक राष्ट्रियस्तरको पत्रिकाका लागि रिपोर्टिङमा हिँड्नुहुन्छ । बेलुका एउटा स्थानीय पत्रिकामा सम्पादनको काम गर्नुहुन्छ । घरमा कमाउने उहाँमात्रै हो । 
उहाँको रुचि भने यस काममा छैन । उहाँ त साहित्यमा डुब्न चाहनुहुन्छ । जागिरमा लाग्नुभन्दा पहिला उहाँले थुप्रै कविता र लेख लेख्नुभएको थियो । त्यस बेला उहाँलाई समय बितेको पत्तै हुँदैन थियो रे । उहाँका विभिन्न रचना युवामञ्च, साधनाजस्ता पत्रिका र केही स्मारिकामा छापिइसकेका रहेछन् । अहिले पनि उहाँ लेख्न चाहनुहुन्छ । एउटा उपन्यास आधा जति लेखि पनि सक्नुभयो । दुई वर्ष भइसक्यो, पूरा गर्न मन हुँदाहुँदै पनि सक्नुभएको छैन । केही समय मिलाउनसमेत उहाँलाई गाह्रो परिरहेको अवस्था छ । 

हामी कुरा गर्दै थियौँ, पाउला कोएल्होका बारेमा । उनलाई पनि उनकी आमाले वकिल बनाउन चाहन्थिन् । उनको रुचि भने लेखनमा थियो । उनले धेरैपटक वकिल पढ्नबाट जोगिन खोजे । आमाले मान्दै मानिनन् । आमाको आग्रहलाई टार्न नसकेर आफ्नो मन मारेरै भए पनि उनले कानुन पढ्न थाले । 

पढाइमा उनको रुचि जाग्न सकेन । उनको मन विकृत हुन थाल्यो । बीचैमा उनले पढाइ टुङ्ग्याए । यही कारणले पछि उनी मानसिक रोगी बने । अस्पताल भर्ना गर्नुपर्ने अवस्था समेत आयो । 
स्वास्थ्यमा सुधार भएपछि उनले आफ्नो समय लेखनलाई दिन थाले । रोगी भएका कारण उनलाई कसैले पनि लेख्न छेकेन । फलस्वरुप ‘द अल्केमिस्ट’ निस्कियो । 
उनी त एउटा उदाहरण मात्रै हुन् । सफल मानिने प्रायः सबै मानिसले आफ्नो रुचिको काम गरेर मात्रै सफल बनेका छन् । 
सफल हुनका लागि ठूलो काम गर्नुपर्छ भन्ने हुँदैन । सानातिना कार्यले पनि सफल बनिन्छ । 

यहाँ मलाई किङ्ग केम्प जिलेटको याद आयो । उनले सेफ्टी रेजर ब्लेडको आविष्कार गरेका थिए । त्यसभन्दा पहिला चक्कुजस्तो धारिलो हतियारले दाह्री र कपाल काट्ने गरिन्थ्यो । पहिल्यैदेखि नयाँनयाँ सामान बनाउने उनको बानी थियो । यसक्रममा ब्लेड बनाउनेबारेमा उनको विचार फु¥यो । आफ्नो यस योजना पूरा गर्न उनले केही विशेषज्ञसँग सल्लाह लिए । कसैले पनि उनको कुरा पत्याएनन् । तैपनि उनले हरेस खाएनन् । अन्त्यमा सफल भएरै छाडे । अहिले हामीले यस्तै खालको ब्लेडको प्रयोग गर्छौँ । 

यी मानिसहरु कसरी सफल बने ? के उनीहरुले आफ्नो सफलताका बारेमा दैनिक कल्पना गर्थे ? या सफलता सम्बन्धी कुनै कक्षा लिएका थिए ?
अहँ थिएनन् । बरु आफ्नो कामसम्बन्धी विशेषज्ञको कुरासमेत सुनेका थिएनन् । या उनीहरुको कामै त्यस्तै खालको थियो, जसका लागि बसेर कल्पना गर्नुपर्ने आवश्यकतै थिएन । उनीहरु त निरन्तर आफ्नो काममै लागिरहन्थे । 
यहीँनेर मैले मेरो दैनिक कल्पना गर्ने साथी र सफल मानिसमा मूल फरक पाएँ ।

मेरो पहिलो साथीको पढाइ थियो । कल्पना थियो । सफल हुने चाहना थियो । उहाँमा कमजोरी थियो त कल्पनाको दुरुपयोग । सफल मानिसको नक्कल गर्न खोज्नुभएको थियो ।
यदि बसेर कल्पना गर्नुको सट्टा सानो मानिने काम गरेको भए बरु पैसा कमाउन सकिन्थ्यो होला । 

एक दिन म चितवनमा भरतपुरको उकालो चढ्दै थिएँ । पोलेको मकै खान मन लाग्यो । थुप्रै मानिस मकैका लागि पालो कुरेर बसेका थिए । एक घोगाको बीस रुपैयाँ रहेछ । 
मैले मकै बेच्ने दाइलाई सोधेँ– “दाइ ! तपाइँ दैनिक कति मकै बेच्नुहुन्छ ?

“त्यै एक सय पचासदेखि दुई सय घोगा ।”
“एक घोगा मकै कतिमा ल्याउनुहुन्छ नि ?” 
“सातदेखि दस रुपैयाँ ।”
“कहाँबाट ल्याउनुहुन्छ र ?”
“लङ्कुतिरबाट ।”
“यत्तिको मकै बिक्री हुन्छ, कमाई त राम्रै हुन्छ कि के हो ?”
“खासै हुँदैन । महिनाको त्यही पच्चीस–तीस हजार त हो ।”

मैले मोबाइल निकालेर आफैँले हिसाब गरेँ– दैनिक आम्दानी– १५०ह्२०= ३,००० रुपैयाँ । दस रुपैयाँ घोगाका दरले लगानी– १५०ह्१०= १,५०० रुपैयाँ । लङ्कुबाट नारायणगढसम्म ल्याउन २०० रुपैयाँ भाडा । जम्मा खर्च– १,५००+२०० = १,७०० रुपैयाँ । नाफा– ३,०००–१,७००= १,३०० रुपैयाँ दैनिक । मासिक आम्दानी– ३९,००० रुपैयाँ । महिनाको २०,००० रुपैयाँ घरखर्ची भयो भने पनि कम्तीमा १९,००० रुपैयाँ त चोखै बच्छ । 
अनि मैले थाहा पाएँ, भारतबाट मानिसहरु यहाँ किन आउँछन् ? 

एउटा हजामले कति कमाइराखेको छ ? चटपटे, पानपुरी बेच्नेले कति कमाइराखेका छन् ? के कहिल्यै हामीले हिसाब गरेका छौँ ? 
कुनै खाडी देशमा गएभन्दा कम आम्दानी होइन यो । 

यस विषयमा मैले मेरा एक साथीसँग सल्लाह पनि गरेँ । मिलेर चटपट र पानीपुरी बेचौँ भन्ने प्रस्ताव राखेँ । यसको कारण थियो, मेरो अहम् । सानो मानिने काम गर्दा कसैले केही भन्ला कि भन्ने ममा डर छ । मेरा स्नातक पढेका साथीले उनीहरुको पैसामाथि आँखा त लगाउनुभयो । उहाँले मासिक बीस हजार कमाउनुहुन्छ । अन्तिममा आएर उहाँलाई पनि इज्जतको डर भयो । म पनि इज्जतको भ्रमबाट बाहिरिन सकिनँ । 
आखिर सफल बन्नलाई आँखा बन्द गरेर कल्पना किन गर्नुपर्छ ? यसको काम के ? के यो पनि मनकै एउटा चलाखी होइन ? आफूमा भएको कमी भविष्यमा पूरा हुनेछ भन्ने महात्वाकाङ्क्षा होइन ?
मानौँ, हामीले अबको एक वर्षभित्र एउटा नयाँ कार किन्ने कल्पना गर्न थाल्यौँ । या कुनै क्षेत्रमा सफल बन्ने कल्पना ग¥यौँ । 

यसका असर कैयौँ हुन्छन्–
– इच्छाहरु परिवर्तन भइरहन्छन् । एक वर्षसम्ममा हाम्रा कैयौँ इच्छा परिवर्तन भइसकेका हुन्छन् । त्यसैले एक वर्षपछि त्यो पूरा भए पनि त्यसबाट रुचि हटिसकेको हुन सक्छ । हामीमध्ये कसैले पनि आजको दिन यस्तो होला भनेर सोचेका थिएनौँ । सोचे पनि सोचेजस्तो भएन । 

मेरो आफ्नै उदाहरण दिन चाहन्छु । म योग शिक्षक थिएँ । भविष्यमा कुनै जङ्गलमा बसेर तपस्या गर्न चाहन्थेँ । तर अहिले म गृहस्थ छु । एक त अब म चाहेरै पनि जङ्गल जान सक्दिनँ । अर्को मलाई थाहा भइसक्यो, कर्तव्यबाट भागेर कुनै उपलब्धि हुँदैन । विचारको थुप्रो बोकेर जङ्गल जानुभन्दा विचाररहित भएर यहीँ बस्नुको अर्थ हुन्छ । यदि मेरो त्यस बेलाको कल्पना अहिले पूरा भयो भने के मलाई खुशी लाग्नेछ ? अहँ । बरु तनाव हुनेछ । 
– बेकारमा आफूमा बोझ थपिरहेका हुन्छौँ । भविष्यमा सुख पाइने भ्रममा भट्किरहेका हुन्छौँ । तनावको जड नै यही हो । 
– मुख्य कुरा, कल्पना गर्नुको मतलब त्यसमा हाम्रो भित्री रुचि छैन भन्ने अर्थ निकाल्छु म त । रुचि भएको कुराको त आफैँ कल्पना हुन्छ । जस्तै– बिल गेट्सले आठ कक्षा पढ्दाताका एउटा ठूलो घर हेरेर कल्पना गरेका थिए रे– “म पनि भविष्यमा सबैभन्दा धनी बन्नेछु अनि शानदार घर बनाउनेछु ।”

यदि उनले यस्तो गरेका थिए रे भनेर उनकै जस्तो कल्पना गर्न थाल्यो भने के त्यो सम्भव होला ? अहँ, हुँदैन । या हामी दुईचार दिनभन्दा धेरै कल्पनै गर्न सक्दैनौँ । त्यसपछि दिक्क लाग्न थाल्छ ।
त्यसैले पहिला आफ्नो काम सुरु पर्छ । कल्पनाको होइन, कामको पछि लाग्नुपर्छ । कल्पना गर्ने कुरा होइन, आफैँ जोडिने कुरा हो । कल्पना आफैँ जोडिँदा यसको बाढीमा बगिँदैन ।
कल्पनाको बाढीमा बग्नु यसको दुरुपयोग हुनु हो ।
 

कात्तिक २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस