जीवनशैली : स्वास्थ्य

नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार हुँदै, दुई दशकमा परिवार नियोजन दर  ५३ प्रतिशतले वृद्धि

काठमाडौं, २७ कात्तिक– नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार हुदै गएको राष्ट्रिय स्वास्थ्य सर्वेक्षणले देखाएको छ ।

काठमाडौंमा सोमबार आयोजित राष्ट्रिय सम्मेलनमा सार्वजनिक गरीएको सन् २०१६ को नेपाल जनसाँख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार  नेपालमा हाल पाँच वर्ष मुनिका बाबाललिकाको मृत्युदरमा कमी आएको छ । सन् १९९६ मा प्रति हजार जीवित जन्मिएका शिशुमध्य १ सय १५ जनाको मृत्यु भएको थियो । सो मृत्यु दर सन् २०१६ मा तीनगुणाले घटेर ३९ मा झरेको छ । 

सर्वेक्षणका अनुसार अझै पनि नेपालमा २५ जना जीवित जन्मिएका बच्चामध्ये १ जनाको पाँच वर्ष अघि नै मृत्यु हुने गरेको छ । नेपालले दिगो विकास लक्ष्य अन्तरगत २०३० सम्ममा पाँच वर्ष मुनिका बालबालिकाहरुको मृत्युदर प्रति हजार २० घटाउने प्रतिबद्धता गरेको छ । 

यस्तै गर्भवति सेवा लिने महिलाहरु पनि बढ्दै गएको तत्थ्याङ्कले देखाएको छ ।  सन् २००१ मा गर्भवति भएका १० जना महिला मध्य ३ जनाले मात्रै दक्ष प्रसूतिकर्मीबाट सेवा लिने गरेकोमा २०१६ मा  धेरै महिलाहरुले सेवा लिएका छन् । सन् १९९६ मा ८ प्रतिशत बच्चा मात्रै स्वास्थ्य संस्थामा जन्मने गरेकोमा २०१६ सम्ममा ५७ प्रतिशत बाच्चाहरु स्वास्थ्यसंस्थामा जन्मिएको तत्थ्याङ्कमा उल्लेख गरीएको छ । 
नेपालमा अझै पनि १० जना बच्चा मध्ये ४ जना बच्चाहरु घरमै जन्मने गरेको पाइएको तथ्याङ्कले देखाएको छ ।

दुई दशकमा नेपालमा प्रजनन् दर आधा भन्दा बढिले घटेका तत्थ्याङले देखाएको छ । सन् १९९६ मा प्रति महिला सरदर ४ दशमलब ६ बच्चा जन्मन्थे भने २०१६ मा २ दशमलब ३ मात्रै रहेको छ । परिवार नियोजनाको साधन तथा सेवाको पहुँच र प्रयोगमा बृद्धि भएकोले प्रजनन् दर घटेको सर्वेक्षणको निश्कर्ष छ ।

नेपालमा दुई दशकमा परिवार नियोजनको प्रयोग दर ५३ प्रतिशतले वृद्धि भएको छ । 
 

कात्तिक २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस