सम–सामयिक

यी हुन् गौचन हत्याका ८ फरार अभियुुक्त

काठमाडौं, २८ कात्तिक–निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्या अभियोगमा ५ जना पक्राउ परेपनि अन्य ८ जना फरार रहेको प्रहरीले जनाएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा घटनामा संललग्नता भएका भनिएका समिरमान सिंह बस्नेत , मनोज पुन, लोप्साङ , बोका भन्ने गंगा लिङ्देन (लिम्बु) श्याम बहादुर गुम्बे,काले दाई भन्ने अम्बर बहादुर राना, रोशन बुढाथोकी र अजय थापा फरार रहेको जानकारी दिइएको हो ।

प्रहरीका अनुसार बस्नेत घटनाको योजनाकार हुन् । गौचन हत्यासम्बन्धी छानबिन गर्न गठित समितिका संयोजक डिआईजी गणेश केसीले एक महिना अगाडी देखि शरद कुमार गौचनलाई निग्रानीमा राखेको अनुसन्धानबाट खुल्न आएको बताए ।

उनले घटनामा प्रयोग गरेको साइन मोटरसाइकल भारतबाट चोरी गरी ल्याई नेपाली नम्बर प्लेट बा ३५ प २४६१ राखी प्रयोग गरेको पाइएको छ । शिवजी महतोले भारतको वेतियाबाट१८ हजारमा साइन मोटरसाइकल खरिद गरी२४ हजारमा श्याम गुम्बे गुरूङलाई विक्री गरेको पाइएको केसीले जानकारी दिए ।

यस्तै शिवजी महतोले भारतको वेतियाबाट ५५ हजारमा हतियार खरिद गरी ६५ हजारमा श्याम गुम्बे गुरूङलाई विक्री गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

आज नुवाकोटका राजीव स्याङ्ताङसहित पर्सा कालिकामाईका ३५ वर्षीय शिवजी महतो, भारत बिहारका २४ वर्षीय मुकेश कुमार पाण्डे, पर्साको ठोरीका सन्तोष गुरुङ र काठमाडौंको नागार्जुनका प्रकाश बुढाथोकी लाई प्रहरीले हत्या अभियोगमा पक्राउ गरेर सार्वजनिक गरिरहेको छ ।

प्रहरीका अनुसार महतो र गुरूङ मोटरसाइकलको व्यवस्था गरेका थिए भने मुकेश कुमार पाण्डेले हतियारको व्यवस्थापन गरेका थिए भने प्रकाश बुढाथोकीले घटनामा सहयोगीको भूमिका खेलेका थिए । यस्तै साङतान सुटर हुन् । आर्थिक लेनदेनमा कुरा नमिल्दा घटना घटाइएको प्रहरीको भनाई छ ।

कात्तिक २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस