छोरो नपाएपछि श्रीमानले छोड्नुभयो, मैलै सयौं आमाहरूको सेवा गर्ने मौका पाएँ: दिलशोभा श्रेष्ठ

बैशाख १४, २०७४


आजभोलि मलाई सञ्चारमाध्यमहरूसँग कुराकानी गर्न खासै मन लाग्दैन । मैले राम्रो गर्दा गर्दै एउटा पत्रिकाले मेरो चरित्रहत्या गर्ने कोशिश गरेको कारणले आजभोलि म मिडियाबाट टाढा रहन चाहन्छु । कुनै बेला मलाई सञ्चारमाध्यमले नै सहयोग गरेका थिए, तर सञ्चारमाध्यमले नै मलाई भुइँमै गाड्ने कोशिश ग–यो ।

पत्रिकाले लगाएका आरोपहरू प्रमाणित नभएपनि मलाई सञ्चारमाध्यमसँग विरक्ति लागेर आएको छ । अहिले पनि धेरै सञ्चारमाध्यमबाट कुराकानीको लागि अनुरोध आउँछ । तर मैले बिन्ती नै गरेर कतैपनि केही नलेखिदिन र टिभीका कार्यक्रमहरूमा उपस्थित हुन नसक्ने कुरा बताइरहेको छु ।

आजभोलि राम्रो गरिरहेको छु भनेर बाहिर भन्न पनि मन लाग्दैन किनकि प्रचार नगरेपनि मैले कस्तो काम गरिरहेको छु भन्ने कुरा ईश्वरले देखिरहनुभएको छ । मैले गल्ती गरेको भएपनि माफी दिने ईश्वर नै हुनुुहन्छ भने राम्रो गरेमा स्याबासी दिने पनि उहाँ नै हुनुहुन्छ ।

काठमाडौंमा ६ आमाघर

आजभोलि त म काम नै मुख्य कुरा हो भनेर लागिपरेकी छु । काठमाडौंमा ६ ठाउँमा आमाघरका शाखा थपिएका छन् । तिनमा ९० आमाहरू हुनुहुन्छ । साठीजना जति मेरा बच्चाबच्चीहरू छन् ।

आमाहरूको लालनपालन गरेकी छु । बच्चाहरू सबैलाई विद्यालय पढाउँछु । मेरा सातजना बच्चाले अहिले कलेज पढ्दैछन् । बाँकीले विद्यालय स्तरकै पढाइ पढ्दैछन् । आमाघरबाट विद्यालय जाने बालबालिकालाई विद्यालयहरूले फीमा छुट दिइरहनुभएको छ । धेरै बच्चाबच्चीलाई त विद्यालयकै होस्टलमा राखिदिनुभएको छ ।

बच्चाबच्चीको लागि कापी, कलम, किताब र पोशाक मैले जुटाउनुपर्छ । खानेकुरा त हामी आमाघरमा बाँडीचुँडी खाइहाल्छौं । तर पत्रिकाले लेखेपछि यहाँबाट लगिएकामध्ये तीनजना बच्चा अझै फर्किएका छैनन् । उनीहरूलाई ल्याउनका लागि म आफैं जाने तयारीमा छु । अरू बाँकी बच्चाबच्चीहरू त फर्किएर आमाघरमै आएका छन् ।

मेरा बच्चाहरूमध्ये धेरैजस्तो आमाबुवाले साह्रै दुःख पाएका छन् । कोही आमाबुवामध्ये एकजना नहुने छन् । कोही आँखा नदेख्ने आमाबुवा भएका छन् भने कोही प्यारालाइसिसले ढलेकाका बच्चाबच्चीलाई पनि मैले पढाइरहेको छु ।

मलेखुमा नयाँ आमाघर

अब धादिङको मलेखुमा पनि आमाघर खोल्दैछु । अठार कट्ठा जमिनमा बनेको घर एउटा संस्थाले हामीलाई दिएको छ । उहाँहरूले त्यहाँ घर बनाउनुभएको रैछ तर चलाउन नसकेपछि आमाघरलाई दिन्छौं भन्नुभएको छ ।

अहिले म ६४ वर्षकी भएँ । म बाँचुञ्जेल मेरो नजरमा कुनै पनि आमा, बुवाहरू तथा बालबालिकाले सडकमा माग्दै गरेको देख्न नपरोस् भन्ने मेरो अठोट छ ।

आमाघरमा आउने आमाहरूमध्ये धेरैजसो सडकमा मागेर बस्ने आमाहरू नै आउनुभएको छ । कहिलेकाहीँ प्रहरीले उठाएर पनि यहीँ ल्याइदिन्छ । प्रहरीले उठाएर ल्याइदिँदा खुशी लाग्छ । आफूले ल्याउन जान परेन । मकहाँ वृद्धवृद्धाहरू ल्याउँदा नागरिकता चाहिँदैन, सिफारिश चाहिँदैन । दुःख पाएको जो पनि आएर बस्न सक्नुहुन्छ ।

आमाघरको मुख्य थलो कालिमाटी नै हो । यहाँ ३० जना आमाहरू हुनुहन्छ । गुर्जुधारामा १२ जना हुनुहुन्छ । कालिमाटीको घर आफ्नै दाइजोमा आएको भनौं वा माइतीले बनाइदिएको घर हो । गुर्जुधारामा चाहिँ छोरीको घर छ ।

छोरा नपाएकोले श्रीमानले छाडे

छोरा नपाएको कारणले मलाई श्रीमानले घरबाट निकाल्नुभएको हो । उहाँले मलाई छोड्नुलाई मैले आफ्नो अहोभाग्य ठानेकी छु किनकि उहाँकै कारणले मैले सयौं आमाहरूको सेवा गर्न पाएँ, छोराछोरीहरूलाई स्कूल पठाउन पाएँ ।

उहाँले नछोडेको भए त म हाउसवाइफ मात्रै बन्थें होला । मेरो एकजना मात्रै छोरी छ । छोरी ज्वाईं र नानीहरू अहिले अमेरिकातिरै बस्छन् । सबैले महिनाको एक सय डलरका दरले मलाई पैसा पठाउँछन् । त्यो पैसाले यहाँ स्वयंसेवक काम गर्नेहरूलाई अलिअलि दिने गरेकी छु ।

श्रीमानले २०४८ सालमा छोड्नुभयो । मन परेर लभ म्यारिज गरेको थिएँ । थानकोटमा माइती हो । २०५२ सालदेखि आमाहरू पाल्न थालें । अहिले सम्म ९ सय भन्दा बढीलाई सेवा गरे हुँला । बित्नुभयो भने आफैं आर्यघाट लिएर जान्छु ।

आमाहरूको दागबत्ती

पहिलेपहिले दागबत्ती दिन डर लागेर पैसा तिरेर दाहसंस्कार गराउँथें । तर आजभोलि चाहिँ आमाहरूको दागबत्ती आफैंले दिने गरेको छु । कुनै बेला पैसा हुँदैनथ्यो । त्यसपछि दाहासंस्कार गराउने उपाय हुँदैनथियो । त्यसपछि आफैले दागबत्ती दिन थालें । शुरुशुरुमा साह्रै डर लाग्थ्यो । आजभोलि चाहिँ दागबत्ती दिएपछि साह्रै दुःख लाग्छ ।
आमाघरलाई काठमाडौं मात्रै होइन हेटौंडा र चितवनमा पनि पु–याएको छु । अब मलेखुमा पनि चलाउने तयारी गरिरहेको छु ।

आमाहरूको सेवा गर्न केही गाह्रो छैन । हामी नेपाली गरीब छैनौं । जन्मदिन भनेर, विवाह उत्सव भनेर, आमाको मुख हेर्ने दिन भनेर वा यस्तै यस्तै मौकामा आमाघरलाई चाहिँ सामान बोकेर आउनुहुन्छ । बाँडेर खाने कुरा न हो, हामीले बाँडेरै खाएका छौं ।

पैसा त खासै चाहिँदैन । धारा बिजुलीको पैसा तिरिरहनुपर्छ । त्यसमा अलिकति कनसेसन (छुट) गरिदिनुभएको छ । कहिलेकाहीँ कोही के गरौं भनेर आउनुहुन्छ । त्यहीबेला धारा बिजुलीको बिल तिरिदिनुहोस् भनेर अनुरोध गर्छु ।

कसैलाई ग्यास किनिदिन भन्छु । कोही दालचामल बोकेर आफैं आउनुहुन्छ । कोही दाउरा बोकेर आउनुहुन्छ । आजभोलि मान्छेहरूले नगद दिँदैनन् । कोहीकोहीले चाहिँ नगदै पनि दिनुहुन्छ । अलिअलि नगद पनि चाहिन्छ नै ।

तर नगद चाहिँ छोरी ज्वाईंले नै व्यवस्था मिलाएका छन् । छोरीको एक सय डलर, ज्वाईंको एक सय डलर र नानीको एक सय डलर प्रत्येक महिना आउँछ ।

पत्रकारले लेख्नुभन्दा अघि हामी धेरै माथि गएका थियौं । तर पत्रिकाले लेखेपछि हामीलाई अप्ठेरो प–यो । दान दिने मान्छेहरू पनि कम भएजस्तो लाग्छ । तर हामीले दैनिकी चलाइरहेकै छौं ।

२०५६ सालमै संस्था दर्ता गरेर सेवा गर्न शुरु गरेकी हुँ । तर वृद्धवृद्धा र बच्चाबच्चीलाई छुट्टाछुट्टै तरिकाले पाल्नको लागि फरक फरक दर्ता खोजेर दुःख दिए । क्राइटेरिया (न्यूनतम आवश्यकता) पुगेन भने । गाउँमा एउटै आमाले पाँचजना सन्तान जन्माएर एउटै खाटमा सुताएर बच्चाबच्ची हुर्काएकै छन् । यहाँ मेरोमा त्यसरी हुँदैन भन्दै क्राइटेरिया खोजे ।

पहिले पहिले मान्छेहरूले खुब सम्मान गर्थे । गर्न त अहिले पनि गर्छन् । तर अहिले चाहिँ मलाई कतै पनि खासै जान मन लाग्दैन । तर जान्नँ भन्दा रिसाउँछन् ।

एकै दिन नौवटा सम्मान

एकै दिनमा नौवटासम्म पनि सम्मान पाएको छु । नारी दिवसको दिन ६ वटा सम्मान पनि पाएको थिएँ ।
बुवाआमा चाहिँ बितिसक्नुभयो । तर मलाई खुब माया गर्ने दाजुबहिनीहरू छन् ।

आमाघरमा अत्यन्तै विरक्तलाग्दा कथाहरू पनि छन् । यहाँ एकजना आमा हुनुहुन्छ । डाक्टरकोमा जाने भनेर उहाँलाई छोरा बुहारीले सडकमै छोडेर गएछन् । त्यसपछि उहाँलाई एकजना भाइले यहाँ ल्याइदिनुभयो ।

त्यो छोरा बुहारी अहिलेसम्म एकपटक पनि आएका छैनन् । चार वर्ष भइसक्यो । तपाईंलाई सञ्चो बिसञ्चो के छ भनेर कहिलेकाहीँ सोध्छु पनि । तर उहाँले छोरा बुहारीलाई कुनै पनि हालतमा नबोलाउनू भनेर भन्नुहुन्छ । मरेपनि उनीहरूलाई नबोलाउनू भनेर भन्नुभएको छ ।

आमाको श्राद्ध गर्नुपर्दैन

वैशाखे औंसीमा मात्रै आमालाई सम्झिएर हुँदैन । आमालाई सधैं माया गर्नुपर्छ । आमालाई पाल्न कुनै पहाड उचाल्नुपर्दैन । मरेपछि आमाको श्राद्ध गरेर अर्थ छैन । ज्युँदो हुँदै सम्मान गर्नुपर्छ ।

आमालाई आश्रम हैन, आश्रयको खाँचो छ । आफूलाई जन्म दिने आमालाई स्याहार गर्न केही पनि गर्न पर्दैन । आफूले आमाको सम्मान सधैं गर्नुपर्छ । बरू वैशाखे औंसीमा अरूलाई अवसर दिए फरक पर्दैन ।


(समाजसेवा, त्याग, इमान्दारी, समर्पण र परोपकारी मनकी अनुपम उदाहरण दिलशोभा श्रेष्ठसँग लोकान्तरका लागि विशाल भट्टराईले गरेको कुराकानीमा आधारित)

तस्वीरः श्रेष्ठको फेसबुक पेजबाट 



ADVERTISEMENT

बैशाख १४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस