काठमाडौं, ७ भदौ– नेपालगञ्जबाट २६ किलोमिटर हिँड्यो भने चिसापानी गाउँ पुगिन्छ । त्यहीँ गाउँबाट गायक बन्ने सपनासहित भागेर काठमाडौं छिरेका थिए ‘नेपाल आइडल’ का टप ६ बाट बाहिरिएका सुरज थापा ।
‘नेपाल आइडल’ बाट बाहिरिए पनि सुरज भने आफूले धेरै सफलता पाएको बताउँछन् । कार्यक्रममा अन्य गीत भन्दा पनि झलकमान गन्धर्वको भाका ‘आमैले सोध्लिन् नि...’ गाएपछि उनको चर्चा अझै चुलियो ।
‘मैले यो गीत रोज्नु नै सफलता बन्यो, गीतलाई न्याय दिन सक्छु कि सक्दिन भन्नेमा म आफैं पक्का थिएन ।’ सुरज आफूले उक्त गीत गाउँदाको समयलाई सुनाउँछन्, ‘सानैदेखि सुन्दै आएको त्यो गीत गाउँदा म यसरी भावनामा डुबेछु कि, गाउँदै गर्दा आफै भक्कानिएको थाहा भएन ।’
गीतको परिवेश स्वयम् सुरजसँग पनि मिल्दो थियो । बुबाले भारतीय सेनामा जागिर खाएपनि आर्थिक रुपमा भने परिवार सबल थिएन । बुबाको आशा पनि छोरोलाई आर्मी बनाउने थियो तर सुरजले भने संगीतमै सबथोक देखेका थिए ।
त्यसैले उनले बुबाको कुरालाई सुनेनन् । मनको कुरा सुने र आमालाई सपना सुनाउन थाले । ‘एसएलसीपछि बुबासँगै म पनि भारत जाने कुरा थियो, तर म गायक बन्ने सपना देखेर भागेर काठमाडौं आएँ ।’, उनी सुनाउँछन् ।
अहिले पनि उनको घर उस्तै छ, जस्तो घर उनले चौध वर्षअघि छोडेर आएका थिए । अर्थात माटोले बनेको कच्ची घर ।
‘चौध वर्षअघि चिसापानीमा हामी सबैका घर उस्तै थिए तर अहिले वरपर धेरैका पक्की घर बनेका छन् ।’, सुरज खुशी व्यक्त गर्दै सुनाउँछन्, ‘मलाई पैसा सबथोक हो भन्ने पनि लाग्दैन, खुशी हुनलाई आफ्नो मनको कुरा सुन्नुपर्ने रैछ ।’
नेपाल आइडलभन्दा पहिले सुरजको चर्चा गुमनाम जस्तै थियो । काठमाडौंमा आएर ठेलामा सामान बेच्दा, घरघरमा सामान बोकेर हिँड्दा, कपडा पसलमा काम गर्दा उनलाई लाग्थ्यो, ‘भोलि मलाई गायक बन्नु छ ।’
थुप्रै काम गरेर जोगाएको पैसा लगानी गरेर सुरजले ‘क्रन्दन्’ एल्बम् बजारमा ल्याए तर उनको एल्बम् खासै विक्री भएन । ‘त्यतिबेला सिडी विक्री हुन छोडिसकेको थियो, एल्बम् निकाल्दा भएको पैसा पनि सकिएपछि मलाई यो क्षेत्रमा केही गर्न सकिन्न कि भन्ने सोच पनि आएको थियो ।’ सुरज भन्छन्, ‘अफिसको सिसा र भुइँ पुछेर जोगाएको पैसा एल्बममा खर्च गरें तर एल्बमले न चिनायो, न लगानी उठायो ।’
त्यसो त सुरजको संघर्षको यात्रा पनि कम्ता रोमाञ्चक छैन । पारिवारिक स्थिति कमजोर भएकै कारण उनले संगीत सिक्न समेत पाएका थिएनन् । काठमाडौंको आरआर क्याम्पसमा संगीत विषयमा पढ्न त पढ्थे तर त्यहाँ धेरै सैद्धान्तिक पढाइलाई महत्त्व दिइन्थ्यो । अर्कोतिर संगीतप्रतिको भूतले उनलाई नराम्रोसँग सताएको थियो ।
सफल गायकका जीवनी पढ्थे । भोलिको सुन्दर भविष्यको कल्पना गर्थे । ‘भोलि आफूलाई चिनाउनु छ भन्ने लाग्थ्यो, समस्या त थिए नि, तर जब म गीत गाउन पाउँथे, त्यतिबेला सबै कुरा भुलिसकेको हुन्थें ।’ सुरज सुनाउँछन् ।
नेपाल आइडलमा भाग लिएपछि भने उनलाई केही सहज भएको छ । त्यसो त उनले आइडलमा भाग लिनुभन्दा अघि पनि यहाँ हुने सबै रियालिटी शोमा भाग लिने गर्थे । भारतको ‘इन्डियन आइडल’ मा समेत भाग लिएका थिए । तर उनी इन्डियन आइडलमा तीन राउण्डभन्दा माथि पुग्न सकेनन् ।
‘नेपालमा केही गर्न सकिन्न भन्ने लागेर बुबासँगै बसेर केही गर्ने भनेर म भारत गएको थिएँ ।’, उनले केही महिनाअघिको समयलाई सम्झिन्छन्, ‘सेनाबाट अवकाश भएर पनि बुबाले उतै सेक्युरिटी गार्डमा काम गर्दै आउनुभएको थियो ।’
त्यही बेलामा ‘इन्डियल आइडल’ मा भाग लिने मौका जुरेको थियो तर उनी धेरै माथि पुग्न सकेनन् । किन प्रायः कार्यक्रममा भाग लिन्थे होला सुरज ? ‘रियालिटी शो पनि गायनलाई चर्चित गराउने राम्रो माध्यम हो, लगानी गरेर एल्बम् निकाल्नलाई मसँग पैसा थिएन तर मलाई संगीत क्षेत्रमा चिनिनु पनि थियो ।’, उनी मुस्कानसहितको उत्तर फर्काउँछन् ।
सुरजले काठमाडौंको एचबीसी एफएमबाट प्रशारण हुने एक कार्यक्रममा फोनबाट गीत गाएर प्रथम भएका थिए । प्रथम भएपछि उनले संगीत सिक्ने अवसर पाए । ‘त्यही सिकाइले अरु सबै काम छोडेर मैले दोहोरी साँझमा काम गर्ने मौका पाएँ ।’ सुरज थप्छन्, ‘बल्ल मैले आफ्नो गीत गाउने अवसर पारेको छ ।’
उनले यतिखेर आफ्ना गुरू लाक्पा शेर्पालाई सम्झे ।
नेपाल आइडलमा ‘टप अठार’ पछि भोटिङ प्रक्रिया शुरु भएको थियो । शुरुमा दर्शकको भोट पाउँदा उनलाई नौलो लागेको रहेछ । किनकि, उनले बुझेका थिए, दुई चार साथीबाहेक भोट माग्ने या अभियान थाल्ने कोही थिएन । ‘नेपालगञ्ज छोडेको लामो समय भइसकेको थियो, काठमाडौंमा पनि माहोल थिएन, त्यसैले टप ६ सम्म पुग्छु भन्ने पनि लागेको थिएन ।’ उनी सुनाउँछन्, ‘त्यसकारण पनि मैले राम्रो गीत गाएरै दर्शकको भोट ल्याउनुपर्छ भन्ने लाग्थ्यो ।’
उनलाई अभियानमार्फत पनि प्रतिस्पर्धीलाई राम्रै सहयोग पुग्छ भन्ने लागेको रहेछ ।
दर्शकले जातीयताका आधारमा प्रतियोगीलाई भोट हाल्ने गरेको पनि स्वीकार्छन् सुरज । ‘सबैलाई त भन्न मिल्दैन तर केही वर्गले जातीय पहिचानका लागि क्याम्पेनिङ गरेरै पनि भारी भोट गर्ने गर्नुहुन्छ । ’, उनी लोकान्तरको प्रश्नमा सहमति जनाउँदै भन्छन् ।
दर्शकको माया पाएपनि भोटकै कारणले बाहिरिँदा भने उनलाई त्यति दुख लागेन । कारण, ‘आमाले सोध्लिन् नि’ गाएपछि पाएको प्रतिक्रियाले नै मैले सक्दो गरिसकें भन्ने सोचेका थिए ।
‘म बाहिरिनु पर्दा स्टेजमा सबै रुनुभयो, पाँच मिनेट त कोही बोल्नै सक्नुभएन । उल्टो मलाई आपत प–यो ।’ उनी थप्छन्, ‘अरुलाई उल्टो फकाउन पर्ने स्थिति बन्यो ।’
‘मैले आइडलमा भाग लिएरै धेरै कुरा सिक्ने अवसर पाएँ, तर नेपाल आइडलबाट बाहिरिँदा हार्नुभन्दा त्यत्रो लामो समयसम्म सँगै बसेका साथी समूहसँग छुट्नुपर्दा दुख लाग्यो,’ उनी थप्छन् ।
अहिले उनलाई विभिन्न कार्यक्रमबाट स्टेज कार्यक्रमको प्रस्ताव आउन थालेको छ । त्यसैले पनि यतिबेला समय मिलाउन गाह्रो भएको सुरज बताउँछन् । ‘संघर्ष गरेर यहाँसम्म आएको छु । अब भने सफलता मिल्छ भन्ने लागेको छ ।’ उनी योजना सुनाउँछन्, ‘अब घर पनि बनाउनु छ, सफल गायक पनि बन्नु छ ।’
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...