काठमाडौंको असनतिर खेल्ने सानो चकचके बालक । एकदमै बदमास । न बुवाले भनेको मान्ने, न आमाले । कसैले सम्झाउँदा पनि टेर्ने छाँट नदेखाएपछि परिवारले ती बालक सुध्रिन्छन् कि भनेर वीरगञ्जस्थित ठूलीआमाको घर पठाइदिए । त्यहाँ दाजुहरूको डर मान्ला, छोरो ठूलो बनेर राम्रो मान्छे बन्ला भन्ने सपना देखेका थिए परिवारले ।
बालकको नाम थियो – पुरुषोत्तम प्रधान ।
‘म सानोमा साह्रै बदमास थिएँ, नौ वर्ष पुगेपछि भने पढ्नुपर्छ भन्ने लाग्न थाल्यो’, पुरुषोत्तम सुनाउँछन् । अहिले भने उनको स्वभाव सरल र शालीन लाग्छ ।
२०५१ सालतिर शूटिङ युनिटसँग ‘बूम बोई’ को काम थाल्दा एकसय पच्चीस रुपैयाँ पारिश्रमिक पाएको सम्झना छ प्रधानलाई । अहिले भने पुरुषोत्तमले एउटा फिल्मको ६ लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् ।
त्यसो त उनले शुरुवाती दिनमा सित्तैमा पनि काम गरेका थिए ।
चलचित्र ‘लूट’ ले अभिनेता सौगात मल्ल, दयाहाङ राई, निश्चल बस्नेतलगायतलाई रातारात चर्चित बनायो । तर यही फिल्मलाई क्यामेरामा कैद गरेका छायांकनकार पुरुषोत्तम प्रधानलाई भने कमै दर्शकले ख्याल गरे । पर्दापछाडि बसेर काम गर्ने प्रधानलाई दर्शकले कमै चिनेपनि फिल्मकर्मीको ध्यान चाहिँ उनले राम्ररी नै खिँचे ।
त्यस फिल्मा उनको छायांकन पक्षको भने राम्रै चर्चा भयो ।
त्यही चर्चाले उनलाई अझ राम्रो काम गर्ने जिम्मा थपिदियो । ‘सधैं फिल्मकै बारेमा सोचिरहेको हुन्छु, जन्मेको नै फिल्मका लागि हो झैं लाग्छ,’ प्रधान भन्छन्, ‘अरूसँग भन्दा पनि फिल्मबारे कुरा गर्ने साथी भेट्दा रमाइलो लाग्छ ।’
बूम् बोए (माइक समाएर कलाकारको आवाज रेकर्ड गराउने व्यक्ति) हुँदै छायांकनकार बनेका प्रधानले आजसम्म गरेको कामलाई मूल्यांकन गरेका छैनन् ।
‘यो क्षेत्रमा के गरें भनेर मूल्यांकन गर्ने बेला अझै भएको छैन,’ उनी हाँस्दै सुनाउँछन्, ‘तर मलाई पूरै जिन्दगी फिल्म क्षेत्रमै बिताउनुछ ।’
त्यसो त उनी फिल्मबाहेक अन्य क्षेत्रमा राम्रो ज्ञान नभएको बताउँछन् ।
यतिबेला कामको व्यस्तताले परिवारलाई समय दिनसमेत भ्याएका छैनन् उनले । एकपछि अर्को फिल्मको शूटिङमा व्यस्त हुन्छन् उनी । ‘छोरीलाई आमाले समय दिनुभएको छ ।’
बिहे गरेको एक वर्ष नहुँदै पत्नी (अनु श्रेष्ठ) गुमाउनुपरेको पीडाले उनलाई अहिले पनि पोल्छ । छोरी जन्मेको चौबीस दिन नहुँदै पत्नीको अकस्मात् मृत्यु भएपछि छोरी हुर्काउने जिम्मा आमा (भवानी प्रधान) मा थपिएको छ ।
‘आमा र भाइको सहयोग छ, त्यसैले कहिल्यै आफ्नो कामलाई पन्छाउनुपरेको छैन,’ प्रधान सुनाउँछन् ।
फिल्म क्षेत्रका दुई दशक परिवारलाई धेरै समय दिन नपाएपनि आमाको धैर्य र लगनशीलताले उनलाई कामप्रति नै प्रेरित गरेको प्रधान सुनाउँछन् ।
‘अहिले पनि बेलाबेलामा सम्झाउनुहुन्छ, सानोमा त आमाको धेरै पिटाइ खाएको छु,’ यसो भन्दा उनी मुसुक्क हाँसे ।
बा–आमाले छोरो बिग्रने छनक देखेरै वीरगञ्ज पठाएपछि उनी परिवारसँग त्यति नजिक हुन पाएका थिएनन् । वीरगञ्जमा ठूलीआमाको घरमा बसेर पढिरहेका थिए । यता काठमाडौंमा बुवाको मृत्यु भएछ । उनको बालमस्तिष्कले मृत्यु र बुबाको महत्त्वलाई नै थाहा पाएन त्यतिबेला ।
‘बुवा बित्नुभएछ, म भने बुवा बितेको चार महिनापछि मात्र काठमाडौं आएँ,’ उनी थप्छन्, ‘अहिले सम्झँदा कस्तो केटाकेटी सोच भन्ने लाग्छ ।’
‘म नौ वर्ष पुगेपछि आमाले गर्नुभएको दुःख बुझेर राम्रो मान्छे बन्नुपर्छ भन्ने लाग्न थाल्यो,’ उनी आफ्नो बाल्यकाल सम्झन्छन् ।
आमा भवानीले अहिले नातिनी हुर्काउँदैछिन् ।
परिवारलाई भन्दा बढी समय फिल्मका लागि छुट्ट्याएको बताउँछन् प्रधान । जोखिम मोलेर फिल्मलाई कसरी राम्रो किसिमले खिच्न सकिन्छ भनेर उनी लागिपर्छन् । कसरी आफ्नो कामलाई अझ राम्रो बनाउन सकिन्छ भन्ने सोचमा डुबेका हुन्छन् उनी ।
‘चलचित्र दृश्यविधा हो, छायांकनको पनि बेग्लै महत्त्व हुन्छ । यसलाई पर्याप्त समय दिनैप–यो नि,’ प्रधान भन्छन् ।
नेपाली सिनेमाले पछिल्लो समय बजार फराकिलो पार्दै गएको प्रधानको बुझाइ छ । केही समययता नेपाली सिनेमा र नाटकले फड्को मारेको उनको बुझाइ छ ।
अहिलेका युवापुस्ताको जोशले केही दशकमै नेपाली सिनेमाले विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने उनले अनुमान गरेका छन् ।
‘फिल्मको कुनै भाषा हुँदैन, यो विधालाई दृश्यकै माध्यमबाट मात्र पनि बुझ्न सकिन्छ,’ उनी थप्छन्, ‘बल्ल फिल्मलाई कसरी स्तरीय बनाउन सकिन्छ भनेर नेपाली चलचित्रकर्मीहरू लागिपरेका छौं ।’
नेपाली सिनेमामा प्राविधिक पक्ष केही सबल बन्दै गएपनि फिल्मको पटकथा कमजोर हुने कारणले फिल्म स्तरीय बन्न नसकेको उनको बुझाइ छ ।
‘हामीलाई कथाको कमी छैन, तीन करोड नेपालीका ६ करोड कथा छन्,’ उनी थप्छन्, ‘तर हामी पटकथामै चिप्लिरहेका हुन्छौं । बल्ल आएर कथाको महत्त्व बुझ्न थालिएको छ ।’
प्राविधिक हिसाबले राम्रो सिनेमा खिचेको प्रतिक्रिया पाएपनि प्रधानले औपचारिक तालिम भने लिएका छैनन् सिनेमाटोग्राफीको । त्यतिबेला अहिलेजस्तो फिल्म स्कूल पनि थिएनन् ।
काम गर्दै सिक्दै गरेको प्राविधिक ज्ञानलाई अझै परिष्कृत गर्न इन्टरनेटको सहायता लिने गर्छन् उनी । ‘हामीलाई त अहिले इन्टरनेटले धेरै सहज बनाइदिएको छ नि, रुचिमात्र भए पुग्यो ।’
‘मैले त प्रयास मात्र गर्दैछु, फिल्म यति गहिरो विषय हो कि, राजामौली, जेम्स क्यामरून जस्ता पुराना निर्देशकले पनि अझै फिल्म सिकेका छैनन्,’ उनी थप्छन्, ‘एक जुनीले फिल्म सिक्छु भनेर पुग्दैन ।’
अहिले छायांकनमै व्यस्त बनेका प्रधान बिस्तारै चलचित्र निर्माणमा समेत लाग्ने योजनामा छन् । पच्चीस वर्ष फिल्ममा बिताएका प्रधान आफ्नो दिमागले भ्याएसम्म यही क्षेत्रमा लाग्ने सपना देखेको बताउँछन् ।
उनी भन्छन्, ‘फिल्म सबथोक हो, म फिल्म क्षेत्रमै मर्न चाहन्छु ।’
Advertisment
Advertisment