केही महिनाअघि मृत्युको हल्ला फैलिएपछि माधवप्रसाद घिमिरेले हँसिलो अनुहार पार्दै लोकान्तरलाई भनेका थिए, ‘
अचम्मै भो, यही जीवनमा अर्को जुनी पाएँ ।’
यता राष्ट्रकवि घिमिरेले गत शनिवार आफ्नो उनान्सयऔं जन्मदिन परिवारमाझ साट्दै थिए । जन्मदिनको अवसर पारेर घरमै भेट्न पुगेका शुभचिन्तकलाई उनले आशिर्वाद दिँदै थिए । जन्मदिनले उनको दैनिकीलाई केही व्यस्त बनाइदिए पनि आएका शुभचिन्तकलाई पनि समय दिँदै थिए ।
आइतवार हामी काठमाडौंस्थित उनको निवासमा पुग्दा पनि उनी कमै फुर्सदमा थिए । ‘हिजो दिनभरी व्यस्त भएर राम्ररी सुत्न पाइएन, अहिले युवावस्थाको जस्तो जोश तथा कहाँ छ र? दिउँसो एकछिन आराम गर्न गर्नुपर्छ ।’, कुराको शुरुवातमै उनले सुनाए ।
र आफ्नो हँसिलो आभालाई अझ तेजिलो बनाए यतिबेला, बाहिर लागेको चर्को घामजस्तै ।
काठमाडौंको चर्को घामले घरबाहिर फुलिरहेका फूल ओइलाएका देखिन्थे झ्यालबाटै । भित्र हामीसँग बात मारेर बसिरहेका घिमिरे भने सधैझैं उज्यालो थिए । शताब्दी पुग्न एक वर्ष मात्र बाँकी हुँदा पनि उनको जोश उस्तै छ । भन्दै थिए – ‘धेरै समय छैन है, आजै कविता लेख्नु छ ।’
हामीले आफ्नो बाल्यकालको दशैं सुनाउन आग्रह गर्दा एकछिन हाम्रो कुरा सुनिरहे उनले ।
‘दशैं त सकिनै लाग्यो नि, बरु तिहारको बारेमा सोध्नुभएको भए अझ गज्जब हुन्थ्यो ।’, एकछिनपछि उनले भने । त्यसपछि उनले आफ्नो बाल्यकालको दशैं सुनाउन थाले । त्यतिबेला उनको अनुहारमा बाल्यकालको हाउभाउ पनि देखिएको थियो । रोमाञ्चक थिए राष्ट्रकवि ।
आइरहेछन् नेपाली तिनीहरुहिमाल हेर्न आएका हुन् कि,त्यो निर्मल भएर बगेको नदीनालाहेर्न आएका हुन् कित्यो झुलेको धान हेर्न आएका हुन् कि,कि साइँली, माइली, दिदी, भाइ हेर्न आएका हुन् किआमाबाबुलाई हेर्न आएका हुन् किकि दशैंमा आशिक थाप्न आएका हुन्?ओहो, उनीहरु त यी सबैका निम्ति आएका हुन्कुराको शुरुवातमै उनले कवितात्मक प्रस्तुति दिए हामीलाई । र भने – ‘भएन त कविता?’
कुरा गर्दागर्दै बाल्यकालको सम्झनालाई कविता बनाइदिएका थिए उनले । एकैछिनमा । त्यसपछि उनी बैठक कोठाभरी फैलिने गरी घतलाग्दो हाँसो हाँसे ।
‘समयसँगै अगाडि बढ्ने मान्छे किसिम–किसिमका छन्, राजनेता, कवि, लेखक सबै एकनासले दौडिरहेका छन्, सँगै ‘युग’ पनि दौडिरहेको छ ।’ उनले थपे, ‘त्यही युगले नै पहिले र अहिलेको दशैंलाई फरक बनाइदिएको छ ।’
उनका अनुसार अहिले नेपालीलाई परदेशबाट दशैंमा आफ्नै घर आउनुपर्छ भन्ने लाग्न छोडिसकेको छ । यो त्यही विकसित युगको विशेषता हो ।
अहिले नातिनीले भन्छिन्, ‘हजुरबुबा, दशैं लागेजस्तो छ ।’
उनले सुनाए, ‘अहिले दशैं आउँदा नातिनीमा जुन भाव देखिन्छ, त्यो भन्दा फरक थियो हाम्रो दशैं ।’
लमजुङको पुस्तुन गाउँमा जन्मे हुर्केका घिमिरेलाई जीवनभरीको रमाइलो दशैंमा मिल्थ्यो । किन टीका लगाउँदै हिँड्थे भन्ने त उनलाई थाहा हुन्थेन । पाँच पैसा पाउँदा पनि दंगदास हुन्थे त्यतिबेला उनी र छिमलका साथी । अझ त्यो पैसाभन्दा पनि महत्त्वको उपहार थियो – चिउरा । उनले सुनाए, ‘हामीले आर्शिवाद थाप्दै हिँड्थ्यौं, अग्रजका आर्शिवादले विश्वास दिलाउँथ्यो ।’
त्यतिबेलाको जस्तो दसैंको रौनक अहिले कहाँ छ र? ‘हामी बुझ्ने हुँदा परदेश गएका हरेक नेपाली दशैंमा घर आइपुग्थे’, घिमिरे बाल्यकाललाई स्मरण गर्दै आफ्नो बाल्यकाललाई जोडे, ‘त्यतिबेला दशैं आएपछि हृदयदेखि नै खुशी भरिएर आउँथ्यो ।’
जतिबेला केटाकेटी थिए, उनलाई दशैंको सांस्कृतिक र धार्मिक पक्षबारे केही थाहा थिएन तर दशैंले यसै रमाइलो बनाइदिन्थ्यो । ‘किन रमाइलो लाग्थ्यो भनेर व्याख्या गर्न सकिन्न’, घिमिरेले सुनाए, ‘असोज कार्तिकमा प्रकृति पनि खुल्दै गएको र किसानले कामबाट पनि छुटकारा पाउने भएकाले पो हो कि रमाइलो लागेको?’
उनलाई सम्झना छ – पिर्के पिङमा मच्चिँदाको रमाइलो । साथीभाइ जम्मा भएर भैलो खेल्दाको रमाइलो । दशैंमा पटुकी बाँधेर चिउरा जम्मा गर्दै टीका थाप्न जताततै पुग्नुको रमाइलो । ‘पाँच पैसा पाउँदाको खुशी वर्णन गरेर साध्य छैन ।’, उनले थपे, ‘पिर्के पिङ खेल्दा त जिउ नै सिरिङग हुन्थ्यो, कतिपटक त लडियो पनि ।’
अहिले भने दशैंलाई लिएर नेपाली ‘दोधार’मा परेको घिमिरे बताउँछन् । नेपालीमा विदेशी संस्कृति हाबी भइसकेको छ । अर्कोतिर आफ्नो संस्कृतिको पनि माया छ । ‘नेपालीले दशैंको टीकालाई पनि औपचारिक कार्यक्रमजस्तो बनाइदिए आजभोलि’, उनले थपे, ‘यो युगको आवश्यकता होला, कसैलाई दोष दिन मिल्दैन ।’
असी वर्षअघिको तुलनामा अहिलेको दशैं भने निकै भिन्न लागेको छ घिमिरेलाई । पहिले दशैंलाई चाड मात्र मानिंदैनथ्यो । नयाँ लुगा लगाउने ‘पर्व’ पनि दशैं थियो । मीठो चोखो खान पाउने ‘मौका’ पनि थियो दशैं । आत्मीयता साटासाट गर्ने अभिन्न माध्यम त थियो नै । अहिले भने त्यसको राग मात्र बाँकी रहेको उनको बुझाइ छ ।
उनान्सय वर्षमा घिमिरेको दशैं बाल्यकालको जस्तो भने पक्कै नहोला । आजभोलि प्रकृतिको चर्चा कतै हुँदैन । परिवारसँगै बसेर दशैं मनाउन लागेका घिमिरे आफन्त तथा परिवारसँग बसेर दशैं मनाउँदै छन् । ‘पहिले तिहारमा गरीब होस् या धनी, सबैका घरमा दियो बल्थ्यो, अहिले धनीको घरमा झिलिमिली बिजुली बल्न थाल्यो, दशैंमात्र होइन, तिहारले पनि रुप फेरिसक्यो नि ।’, उनले तिहारको रमाइलोलाई पनि कुराकानीमा जोडे ।
Advertisment
Advertisment