काठमाडौंको शिल्पीमा चराहरूको सम्मेलन !

असोज २७, २०७४ काठमाडौं, २७ असोज – के चराहरूको भाषा हामीले बुझ्छौं ? चराहरूले सम्मेलन गरे भने के विषयवस्तु उठाउलान् ? संवेदना र चाहना चराहरूको जीवनमा कसरी अटाएका होलान् ? यस्ता प्रश्नको उत्तर तपाईले ठ्याक्कै नभेट्न सक्नुहुन्छ नाटकमा । तर काठमाडौंको शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘चराहरूको सम्मेलन’ ले तपाईको मनमा एउटा बेग्लै रोमाञ्चकता पैदा गर्छ ।

नाटक ‘चराहरूको सम्मेलन’ मा केही चराहरू छन् । चराहरूमा बलिया चरा मात्र छैनन् । ढुकुर, सुगा, कालिज, हाब्रे, लाटोकोसेरो, भँगेरो, सारस, मयुर, दुईमुखे चरो, बाज लगायतका थुप्रै चराहरूको सम्मेलन छ । ती चरामध्ये कोही बलिया छन्, कोही अत्यन्तै कमजोर । केही धेरै बेरसम्म उडिरहन सक्छन्, केही आफूलाई कमिलाभन्दा पनि कमजोर ठान्छन् । ती सबै चराहरूलाई एउटा यात्रामा लैजानु पर्नेछ चराहरूमध्येको अलि चनाखो हाब्रे चरालाई ।

यात्रा शुरु हुनुपूर्व नै चराहरूले आफूलाई कमजोर छु भन्दै यात्रामा नजान अनेक बहाना गर्छन् । किनकि उनीहरूले आफूभित्रको ‘म’ लाई चिन्ने मौका पाएका हुँदैनन् । धेरै चराले आफूभित्र कमजोरी मात्र देख्छन् । तिनै ‘कमजोर’ चरालाई हाब्रेले अनेक कहानी र आशा जगाउने कथा सुनाएर यात्राका लागि आग्रह गर्छ र एउटा अनौठो यात्रामा लैजान्छ ।

अन्ततः हजारौं चरामध्ये केही चराहरू यात्राका लागि तयार हुन्छन् । किनकि उनीहरूले भेट्नुपर्नेछ – सिमोर्गलाई । सिमोर्ग अर्थात् चराहरूको राजा । तर, सिमोर्गलाई भेट्न त्यति धेरै सजिलो छैन । त्यो कठिन यात्रा गर्न चराहरुलाई सहज पनि छैन ।

को हो सिमोर्ग? ऊ कस्तो छ ? कठिन र रोमाञ्चक यात्राले के ती चराहरूलाई सिमोर्गसँग भेट गराइदेला? यस्तै प्रश्नसँगै यात्रामा लैजान्छ नाटकले ।

‘चराहरूको सम्मलेन’ तिनै चराहरूको एउटा कठिन यात्रा हो, जुन यात्रामा चराहरूले केही मरुभूमि र रहस्यमय उपत्यका पार गर्दै सिमोर्गसँग पुग्नुपर्ने हुन्छ ।

लगभग एक घण्टा तीस मिनेट लामो उक्त नाटकमा चरा बनेका कलाकारले चराको प्रतिबिम्ब छरिदिन्छन् आफूमा । सबै चराले आ–आफ्नो विशेषता त बोकेका छन् नै । ती चराहरूले मान्छेको परिवेश र मानवीयता पनि आफूभित्रै राखेका छन् ।

नाटकमा प्रयोग भएका संवादले मान्छेको संवेदेनालाई छुन्छन् । जिन्दगीभर अँध्यारोमा बस्ने चमेराले उज्यालोको खोजी गर्नु, राजकुमारीसँग सुखभोग पनि आफै अलमलमा पर्नु जस्ता पक्षले मानवतालाई नै व्यङ्ग्य गरेको छ ।

दिया मास्केले निर्देशन गरेको उक्त नाटकमा पात्रको अभिनय सह्रानीय छ । र निर्देशक मास्केको निर्देशकीय पक्ष पनि प्रशंसनीय छ । पिटर ब्रूक र ज्यँ–क्लोद का–येरले फरीद उद्–दीन अत्तारको कविता कृतिलाई नाट्य रुपान्तरण गरेका हुन् । उक्त नाटकलाई नेपालीमा अनुवाद पुष्पराज आचार्यले गरेका हुन् ।

नाटक ‘चराहरूको सम्मेलन’ भए पनि नाटकले चराको माध्यमबाट मान्छेकै अनुभूतिलाई जोडेको छ । समाजका विभिन्न र भिन्न आयामलाई कथानकमाथि उठाएको नाटकले चराहरूको सम्मेलन होइन, मान्छेहरूकै सम्मेलन गरेको छ । मान्छेकै समस्यालाई विषयवस्तु बनाएको छ । अन्त्यमा नाटकले मान्छेलाई आफूभित्रै भएको खुबी र रहस्यमय शक्तिलाई चिन्नुपर्ने सन्देश दिन्छ ।

तस्बिरः अनुप बरालको फेसबुकबाट

ADVERTISEMENT

असोज २७, २०७४ मा प्रकाशित

अर्घेलो थापा

अर्घेलो लोकान्तरका कला संवाददाता हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस