यसपटक बाग्लुङमा कांग्रेसको गढ ढाल्दैछौं : देवेन्द्र पौडेल [अन्तर्वार्ता]

मंसिर ६, २०७४

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता देवेन्द्र पौडेल पहिलो पटक गृहजिल्ला बाग्लुङबाट चुनावी प्रतिष्पर्धामा छन् ।यसअघि नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिएको बाग्लुङमा यसपटक तीनवटा वामपन्थी दल मिलेर चुनाव लड्दैछन् । नेकपा एमाले, माओवादी केन्द्र र राष्टिय जनमोर्चाको गठवन्धने कांग्रेसलाई परास्त गर्ने दाबी पौडेलको छ । लोकान्तरका लागि विमल गौतमसुशील पन्तले पौडेलसँग कुराकानी गरेका थिए ।
 
पहिलो पटक गृहजिल्लाबाट चुनाव लड्दै हुनुहुन्छ, कांग्रेसको गढमा चुनाव जित्न कतिको सहज ठान्नु भएको छ ? 


खासगरी तीनवटा पार्टीहरु नेकपा एमाले, माओवादी केन्द्र र राष्टिय जनमोर्चा एउटै गठबन्धनबाट चुनाव लडेका कारण हामीलाई चुनाव जित्न सहज छ । अलग अलग ढंगले चुनाव लडेको भए यहाँले भनेजस्तो कांग्रेसको गढ जस्तो मानिथ्यो होला । हामी तीन पार्टी मिलेको, कार्यकर्तामा उत्साह भरिएको र देशभरि पनि वामपन्थीहरुको बाहुल्यता रहेका कारणले जनतामा एक किसिमको भावना पैदा भएकोले चुनाव जित्ने कुरालाई सहज रुपमा ग्रहण गरेको छु । 


मतदाताहरु राजनीति दल र नेताहरुप्रति आक्रोसित भएको पाइन्छ ।  कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

मतदाताहरु उत्साहित देखिएका छन् । हामीले जति ठाउँमा कार्यक्रम गर्यौं, मतदाताको उत्साहप्रद सहभागित रह्यो । हामी घरदैलो र सभामा छौं । सबैतिर बुझ्दाखेरि यो क्षेत्रको राज्यसंगको प्रतिनिधित्व र पहुँच संगसंगै विकासका कुरा जोडेर ल्याउनुस् भनेर सबैतिर अत्यन्त सद्भाव भएको मैले पाएँ । 

तपार्इंले चुनावको मुख्य एजेण्डा के बनाउनु भएको छ ? 

मध्यपहाडी लोकमार्ग पनि यही क्षेत्रमा परेको हुँदा यसलाई स्तरीय बनाउने । बुर्तिवाङ, खर्वाङ र हटिया बजारलाई व्यापारीक केन्द्रको रुपमा र भोलि सुविधा सम्पन्न शहरको रुपमा विकसित गर्ने र यी ठाउँहरुमा स्वास्थ्य चौकी र अस्पताल निर्माण, पर्यटकीय क्षेत्रहरुको विस्तार, कृषि र जलविद्युत विकास, विस्तार लगायत सालझण्डी ढोरपाटन बाटोलाई स्तरउन्नती गर्ने अनि साखा बाटाहरु पुराएर यो क्षेत्रमा सामाजिक विकासका कामहरु बढाउने गरी हामीले लक्ष बनाएका छौं । 

एमाले र राष्ट्रिय जनमोर्चाले तपाइँलाई भोट हाल्छन् भन्ने के आधार छ ?

हामी तीनवटै दल संगै हिडिरहेका छौं । जिल्लामा ६ वटा सीट –प्रतिनिधि सभाका २ र प्रदेशका ४ मध्ये) बराबर बनाएका छांै । प्रष्ट छौ, हामी एकले अर्कोलाई सघाएर सम्मानजनक रुपमा मत हालेर सबै उम्मेदवारलाई जिताउने निर्णय गरेका छाैं  ।

तपाईले अघि सारेका विकास निर्माणका कुरा त तपाइँका प्रतिष्पर्धीले पनि भनिरहेका छन् । बाग्लुङका जनताले तपाईँलाई नै किन भोट दिने ? 

प्रतिष्पर्धीले भनेपनि वामपन्थीको सरकार बन्ने कुरा निश्चित छ । भोलि प्रतिपक्षमा बस्नेले धेरै काम गर्न सक्ने सम्भावना नभएकोले मतदाताले हामीलाई विश्वास गरेका छन् । मेरो प्रतिष्पर्धामा रहेका साथीलाई साथमा लिएर यस क्षेत्रको विकासको काम गर्ने हो । 

कांग्रेस उम्मेदवारलाई कम आक्नु भएको त होइन ? 

हामी भण्डै दश हजार मतले अगाडि भएको आंकडा आउँछ । २०७० को संविधानसभा चुनाव र हालैको स्थानीय चुनावका मतदाताको संरक्षण गरियो भनेमात्रै पनि हाम्रो उल्लेख्य मत आउने कुरा प्रष्ट छ । विपक्षीहरुपनि आफ्नो कार्यक्रममा सक्रिय भएर आएको हुँदा उहाँको सक्रियतालाई सम्मान गर्छौं तर उहाँहरुले जित्ने र अप्ठेरो पार्ने सम्भावना मैले देखेको छैन । 

तर कांग्रेस नेताहरु तीन दल मिलेपनि आफ्नो गढ ढाल्न नसक्ने बताइरहेका छन नि !

यसपटक बाग्लुङमा वामपन्थी उदाउँदैछन् । वामपन्थी जनमतका पक्षधरहरुपनि अत्यन्तै खुसी छन् । कतिपय कांग्रेस बृत्तभित्रपनि भोलि वामपन्थीको सरकार बन्ने भएकोले हामीहरुलाई सहयोग गर्न तत्पर देखिएका छन् । 

मंसिर ६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस