घलेम्दी हाइड्रोपावरको १६ करोड बराबरको सेयर जारी

मंसिर २९, २०७४

काठमाडौं, २९ मंसिर- घलेम्दी हाइड्रोपावरले १६ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने निर्णय गरेको छ ।  म्याग्दीको नारच्याङस्थित घलेम्दि खोलामा बन्ने यस आयोजनाका लागि कम्पनीले दुई चरण गरी सर्बसाधारणका लागि सो रकम बराबरको सेयर जारी गर्न लागेको हो ।  


पहिलो चरणमा स्थानीय बासिन्दाको लागि ५ करोड ५० लाख रुपैयाँको र दोस्रो चरणमा सर्वसाधारणको लागि ११ करोड रुपैयाँको सेयर जारी गर्ने कम्पनीले जनाएको छ ।  सुरुमा ४ मेगावाटको प्रस्ताव गरिएको भएपनि थप १ मेगावाट थपिएको छ । सो आयोजनाबाट उत्पादन हुने ४ मेगावाट विद्युतको व्यवसायिक उत्पादन वि.सं २०७४ कात्तिक ३० गते रहेको र थप एक मेगावाटको लागि सन् २०२० अगष्टमा १९ मा तोकिएको छ ।


 

तर आयोजनाले ४ मेगावाटको लागि पाएको अवधि नै एक वर्ष ढिला हुने क्रेडिट रेटिङ कम्पनी इक्राले उल्लेख गरेको छ । यो आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ८० लाख रुपैयाँ बराबर रहेको छ । सुरुमा कुल ७१ करोड ४० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाको लागत ९४ करोड रुपैयाँ पुग्ने देखिएको छ । लगभग आयोजनाको लागि ६५ प्रतिशत काम सकिएको छ । 


पावरहाउस निर्माण, इलेक्ट्रो केमिकल इक्विपमेन्ट जडान र पेन स्टक जडानमा केही समस्या रहेको र समय लाग्ने देखिएको छ । हालसम्म लागेको ५८ करोड ३० लाखमध्ये भदौताका बैंकहरुबाट २९ करोड कर्जा लिएर र संस्थापकहरुले ३८ करोड ५० लाख लगानी गरेका छन् ।
 

मंसिर २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस