आजबाट स्वस्थानी व्रत प्रारम्भ, कसले लेख्यो स्वस्थानी कथा ?

पुस १७, २०७४

पौष शुक्ल पूर्णिमादेखि शुरु भएर एक महिनासम्म चल्ने स्वस्थानी व्रतकथा आजैका दिनबाट शुरू हुँदैछ ।

स्वस्थानी कथावाचनको शुरुवात कहिलेदेखि भयो भन्ने बारेमा मतैक्य छैन । संस्कृतिविद् वीणा पौड्यालका अनुसार विक्रमको चौधौं शताब्दीसम्ममा स्वस्थानी लिपिबद्ध गरिएको थियो ।

अहिले त स्वस्थानीका विभिन्नथरी संस्करण भेटिन्छन् । तर ती संस्करणमा धेरथोर फरकका साथ उनै कुराहरू छन् ।

कसले लेख्यो स्वस्थानी?

कसले लेख्यो होला त स्वस्थानी ? यससम्बन्धमा यसै हो भन्न सक्ने स्थिति छैन । ‘स्वस्थानीको लेखकका बारेमा आधिकारिक रूपमा भन्न सकिन्न,’ पौड्याल भन्छिन्, ‘श्रुतिपरम्परामा चलिआएको कथालाई लेखनदासहरूले उतारेका हुन् ।’

नेवारी लिपिमा पनि स्वस्थानीको पुस्तक फेला पर्छ । अनि काठमाडौं उपत्यकाका नेवारहरूले पनि स्वस्थानीको कठोर व्रत गर्छन् । अहिले प्रचलित स्वस्थानी कथामा नेवारी प्रभाव कति छ भनेर खोज्नुपर्ने आवश्यकता छ ।

‘नेवारी संस्कृतिले हिन्दू धर्मको प्रभावमा परी अनेकौं संस्कार अँगालेकाले नेवारहरू पनि स्वस्थानीको व्रत बस्नु कुनै नौलो कुरा होइन,’ समालोचक राम लोहनी भन्छन्, ‘शाली नदीको वरिपरि स्वस्थानीको कथा घुम्ने भएकाले शालीको नेवारी अर्थ खोज्न सकिएमा यसको इतिहास बुझ्न मद्दत पुग्थ्यो होला ।’ शालीको सम्बन्ध धानको कुनै प्रजातिसँग भएको लोहनीको तर्क छ । 


स्कन्द पुराणको अंश

स्वस्थानीको उद्गम कहाँ खोज्ने ? स्कन्द पुराणको केदारखण्डमा स्वस्थानीको उल्लेख छ भनिन्छ । तर स्कन्द पुराणमा स्वस्थानी कथा बारेका सन्दर्भ दुर्लभ रूपमा मात्र उल्लेख भएको पाइने लोहनी बताउँछन् । 

‘अचम्मको कुरा त स्वस्थानीमै स्वस्थानी देवीका बारेमा विस्तृत उल्लेख पाइँदैन,’ लोहनी भन्छन्, ‘ती कस्ती स्वरूपकी देवी हुन् भन्ने स्वस्थानीको किताब पढेर थाहा लाग्दैन ।’

स्वस्थानीको शुरुका बीस अध्यायमा वर्णन गरिएका सृष्टि प्रसंग, दक्षयज्ञ विध्वंस, त्रिपुरदहन र तारकासुर वध त धेरै पुराणमा भेटिने लोहनी बताउँछन् । मर्त्यलोकको प्रसंग आउने पछिल्ला दश अध्याय चाहिँ पुराणहरूमा पाइन्नन् ।

उता संस्कृतिविद् पौड्याल भने स्कन्द पुराणको अंश लिएर त्यसलाई स्थानीय रंग दिइएको बताउँछिन् । ‘स्वस्थानी भनेको आफ्नो स्थान हो,’ पौड्यालको कथन छ, ‘काठमाडौं वरिपरिका स्थानीय गाउँठाउँको कथा यसमा हालिएकाले पनि नेपालीलाई यो प्यारो लागेको हो ।’

हुन त अहिले चलेको स्वस्थानीको एक संस्करणमा नेपाली ग्रन्थभन्दा अघि संस्कृतमा १५३ श्लोकको स्वस्थानी महात्म्य पनि भेटिन्छ । पद्मपुराणको एक अध्यायका रूपमा स्वस्थानीको महात्म्य भगवान् शिवले माता पार्वतीलाई बताएको उल्लेख भेटिन्छ ।

शुरुमा स्वस्थानीको महात्म्य बताइएर पछिल्लो खण्डमा भने शिवशर्मा, गोमा, नवराज र चन्द्रावतीको कथा संस्कृतमा बताइएको छ । तर त्यसलाई नेपालीमा अनुवाद गरेर कथा बनाइँदा केही कुराहरू तलमाथि परेका छन् । 

स्वस्थानीको उत्पत्ति र प्रचलनका बारेमा प्रस्ट हुन नसकिएपनि यसको महत्त्व चाहिँ गहन रहेको पौड्याल तर्क गर्छिन् । ‘पुराण र धर्मग्रन्थहरू पण्डितले व्यासासनमा बसेर पाठ गर्ने हुनाले त्यसमा औपचारिकता र एककिसिमको दूरी रहन्छ तर स्वस्थानी भने बेलुका घरपरिवार मिलेर आफ्नै भाषामा सस्वर वाचन गरिने भएकाले पारिवारिक मेलमिलापलाई पनि यसले प्रवर्द्धन गरेको देखिन्छ ।’


महिलाको प्रसंग

स्वस्थानीमा महिलाहरूलाई होच्याएर प्रस्तुत गरिएको विषय पनि हिजोआज धेरै उठाउने गरिएको छ । ‘विष्णुले छल गरेर परस्त्री वृन्दासँग राखेको यौनसम्बन्ध र महादेवले छल गरेर बालिका गोमासँग विवाह गरेर गर्भिणीसमेत तुल्याई चरम दुःखमा अलपत्र पारेको दुवै प्रसंग नैतिक लाग्दैनन्,’ राम लोहनी तर्क गर्छन् । यस्ता प्रसंग स्वस्थानीमा धेरै पाइन्छन् । कतिपय संस्करणमा प्रयुक्त भाषा पनि अत्यन्त अपमानजनक छन् । 

महिलालाई वस्तुको जस्तो व्यवहार गरेर ‘बाटोमा मिल्काई आएँ’ जस्ता प्रसंग पनि बग्रेल्ती छन् जसलाई जायज ठह–याउन मुश्किल देखिन्छ । 

तर स्वस्थानीमा प्रयोग गरिएको भाषा तत्कालीन समाजको प्रतिबिम्ब भएकाले यसलाई आपत्तिजनक मान्न नमिल्ने वीणा पौड्याल बताउँछिन् । ‘विवेकशील मनुष्यले धर्मग्रन्थको अक्षरशः पालना गर्नुपर्ने कुनै बाध्यता छैन, युगधर्मअनुसार व्याख्याकारले ग्रन्थको व्याख्या गर्नुपर्छ,’ उनको तर्क छ । 

लिपिबद्ध भइसकेको धर्मग्रन्थलाई सम्पादन गर्न नमिल्ने भएपनि महिलामैत्री व्याख्या गर्न सकिने पौड्याल बताउँछिन् ।

पुस १७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस