अन्ततः गोविन्द केसीले आज अनसन तोड्दै, प्रधानन्यायाधीशको राजीनामाबारे मौनता

पुस २९, २०७४

काठमाडौं, २९ पुस-  प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अनशन थालेका डा.गोविन्द केसीले शनिबार अनशन तोड्ने भएका छन् । स्वास्थ्यमन्त्री दीपक बोहरासँग शुक्रबार राति पाँचबुँदे सहमतिमा हस्ताक्षर भएपछि केसीले अनशन तोड्न लागेका हुन् । सहमतिपत्रमा चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति ७ दिनभित्र गठन गर्ने उल्लेख छ ।

आईओएमका डिन डा.जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिन त्रिवि कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने, आईओएमको कटौती गरिएको अधिकार फिर्तासम्बन्धी त्रिवि नियमावली संशोधनका लागि तत्काल त्रिवि सभा (सिनेट) को विशेष बैठक बोलाउने सहमतिपत्रमा उल्लेख छ । तर, प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागबारे भने सहमतिमा केही उल्लेख छैन । केसीका सहयोगी डा.जीवन क्षत्रीले सहमतिपत्रमा उल्लेख नभए पनि त्यो माग जीवितै रहेको दाबी गरे, अन्नपूर्ण पोस्टमा खबर छ  ।
‘सर्वोच्चको पछिल्लो आदेशअनुसार छानबिनमा पर्ने भइसकेपछि अब पराजुलीले जिम्मेवारीबाट अलग हुनुपर्छ भन्नेमा डा.केसी अडिग हुनुहुन्छ, हाम्रो भनाइ पनि त्यही हो,’  क्षत्रीले भने ।


ADVERTISEMENT

चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा शशि शर्माको पुनर्बहाली आदेशसँगै डा.केसीले प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागसहित गत सोमबारदेखि अनशन थालेका थिए । 

पुस २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस