सरकारसँगको पाँच बुँदे सहमतिपछि अनशन तोड्दै डा केसी

पुस २९, २०७४

काठमाडौं, २९ पुस– अनशनरत डा गोविन्द केसीले आज अनशन तोड्ने भएका छन् । सरकारसँग शुक्रबार राति पाँचबुँदे सहमति भएपछि उनले आज बिहान १० बजे अनसन तोड्ने भएका हुन् । 

शुक्रबार राति ८ बजेदेखि शुरु भई करिब २ घन्टासम्म चलेको सरकार र केसीपक्षको वार्तामा चिकित्सा शिक्षा आयोग एक साताभित्रमा गठन गर्ने, सर्वोच्च अदालतको आदेश अनुसार आइओएमका डीनमा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिने लगायत पाँचबुँदे सहमति भएको हो । सरकारी वार्ता टोलीमा स्वास्थ्यमन्त्री दीपक बोहरासँगै स्वर्णिम वाग्ले, डा गोविन्द पोखरेल सहभागी थिए भने डा केसीका पक्षबाट डा अभिषेश सिंह, डा सुमन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याल र डा कालु सिंहको सहभागिता थियो।


आइतबार सर्वोच्च अदालतले आइओएमका डीनमा चार वर्षअघि बर्खास्त भएका प्राडा शशि शर्मालाई चार दिनका लागि पुनर्वहाली गरेसँगै डा केसीले न्यायको किनबेच भएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको मागसहित सोमबारदेखि आमरण अनसन थालेका थिए । डा केसीले फैसला विपरीत अभिव्यक्ति दिएर अदालतको अवलेहलना गरेको भन्दै सर्वोच्चको आदेशमा उनलाई अनसन थालेकै राति पक्राउ गरेर भोलिपल्ट अदालत उपस्थित गराइएको थियो ।
बुधबार सर्वोच्चको इजलासले प्रधानन्यायाधीश पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक प्रमाणपत्र तथा डा शर्माको पुनर्वहालीको फैसला झिकाउने आदेश गरेको थियो ।


 

पुस २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस