जसको विवाहभन्दा सम्बन्धविच्छेदमा  बढी खर्च भयो

पुस ३०, २०७४

सेलेब्रिटीहरू सधैँ चर्चामै रहन्छन् । उनीहरूको प्रेम, विछोड, विवाह र सम्बन्धविच्छेद पनि चर्चाकै विषय बन्छ । केही सेलेब्रिटीका विवाहभन्दा सम्बन्धविच्छेद झन् बढी चर्चामा रहे । कारण, विवाहभन्दा सम्बन्धविच्छेदमा उनीहरूको खर्च बढी भयो । 


ऋतिक रोशन सुजैन खान
बलिउड सेलेब्रिटी ऋतिक रोशन व्यवसायी पनि हुन् । प्रोडक्सन हाउस र रेडिमेड गार्मेन्ट ब्रान्ड एचआरएक्सका मालिक हुन्, उनी । व्यावसायिक घरानाका उनी पैसा बढी फुर्मास गर्ने सेलेब्रिटीमा पर्छन् । रामरमाइलो र फिल्ममा मात्रै होइन, विवाहमा पनि उनले धेरै खर्च गरे । तर, विवाहमा भन्दा बढी खर्च र सम्बन्ध विच्छेदमा गरे ।

ऋतिकले सन् २००० मा इन्टेरियर डिजाइनर सुजैन खानसँग विवाह गरे । बैंग्लोरको गोल्डन पान रिसोर्टमा करोडौँ रुपैयाँ खर्च गरेर विवाह गरे । त्यतिवेला यो निकै चर्चाको विषय बनेको थियो । तर, १४ वर्षपछि २०१४ मा उनको सुजैनसँग सम्बन्धविच्छेद हुँदा विवाहको भन्दा निकै बढी खर्च भयो । सुजैनले उनीसँग सम्बन्ध टुंग्याएबापत ४ सय करोड भारतीय रुपैयाँ मागेकी थिइन् । तर, उनले तीन सय ८० करोड रुपैयाँ दिएका थिए ।

सञ्जय कपुर करिश्मा कपुर
अटो पाट्र्स निर्माण गर्ने कम्पनी सोना कोयोका अध्यक्ष सञ्जय कपुरको बलिउड अभिनेत्री करिश्मा कपुरसँग दोस्रो विवाह थियो । तर, विवाहबन्धनमा बाँधिएको केही समयलगत्तै सम्बन्धमा दरार आएका खबर बाहिरिन थाले । अभिषेक बच्चनसँग इन्गेजमेन्ट गरिसकेकी करिश्माले उनलाई छाडेर ६ महिनापछि सञ्जयसँग विवाह गरेकी थिइन् । सन् २००३ मा करिश्मा र सञ्जयको विवाह भएको थियो । तर, विवाहको १३ वर्षपछि सन् २०१६ मा उनीहरूको सम्बन्धविच्छेद भयो । यो कदम सञ्जयका लागि आर्थिक रूपमा भारी भयो । सम्बन्धविच्छेदका लागि सञ्जयले करिश्माको व्यवस्थापनका लागि ७ करोड रुपैयाँ दिएका थिए । सम्बन्धविच्छेदपछि सञ्जयले करिश्मा पैसाकै लागि आफ्नो पछि लागेको आरोप लगाएका थिए ।

विक्रम चटवाल प्रिया सचदेव
होटेल कारोबारी विक्रम चटवाल र मोडल प्रिया सचदेवको विवाह २००६ मा भएको थियो । उनीहरूको विवाह भएको खर्च चर्चाको विषय बनेको थियो । यो विवाहमा २६ देशका ६ सय पाहुना उपस्थित थिए । विशेष पाहुनाका लागि प्लेन चार्टर्डको व्यवस्था पनि थियो । निम्ता स्विकारेर बिल क्लिन्टन, नाओमी क्याम्पवेलजस्ता व्यक्ति आएका थिए । एक सय ५० करोड भारु खर्च गरेर भएको उनीहरूको विवाह लामो समय टिकेन ।

एक छोरी जन्माइसकेका उनीहरूको सम्बन्ध २०११ मा टुंगियो । विक्रमले प्रियाको व्यवस्थापनका लागि झन्डै तीन सय करोड भारु दिए । हाल प्रियाले करिश्मा कपुरका पूर्वपति सञ्जय कपुरसँग विवाह गरिसकेकी छिन् । -नयाँ पत्रिकाबाट 

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस