तराईमा न्यानो बाँड्दै लालबाबु, कम्बल बोकेर पुगे मोरङका गाउँ-गाउँ

माघ २, २०७४

काठमाडौं, २ माघ- मोरङ क्षेत्र नम्बर ६ का निर्वाचित सांसद् एवम् एमाले नेता लालबाबु पण्डित कम्बल बोकेर वितरणका लागि मोरङका विभिन्न क्षेत्रमा पुगेका छन्। शीतलहर र अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भइरहेका बेला पण्डितले कम्बल वितरण गरेका हुन्।

यसक्रममा सोमबार विराटनगर महानगरपालिका वडा नम्बर ६ र ९ तथा बुढीगंगा गाउँपालिका वडा नम्बर २ मा कम्बल वितरण गरेको पण्डितले लोकान्तरलाई जानकारी दिए। यस्तै मंगलबार बिहान विराटनगर ११ मा वितरण गरेको र दिउँसो १२ नम्बर वडामा वितरण गर्ने तयारीमा रहेको उनले बताए। यी सबै ठाउँ पण्डितकै निर्वाचन क्षेत्र मोरङ- ६ मा पर्छन्।

करिब ५ सय थान कम्बल वितरणका क्रममा रहेको र थप संकलन भइरहेको उनले बताए। 'हिजो र आज गरी केही कम्बल वितरण गरिसकेका छौँ, बाँकी केही वितरण गर्दैछौँ,' पण्डितले भने, 'करिब ५ सय थान कम्बल वितरणका क्रममा छौँ, थप केही संकलन भइरहेको छ।'

अनेरास्वियुको व्यवस्थापन र आफ्नो पहलमा संकलन गरेकाले आफ्नै निर्वाचन क्षेत्रमा वितरण गरेको उनले बताए। पण्डित गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई पराजित गर्दै संसद् सदस्यमा निर्वाचित भएका थिए।

माघ २, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस