ओली र प्रचण्डबीच बालकोटमा डेढ घण्टा 'वान टू वान' वार्ता, के भयो कुराकानी ?

तस्वीर : अध्यक्ष ओलीको सचिवालय

माघ ६, २०७४

काठमाडौं, ६ माघ- एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बस्ने पार्टी एकता संयोजन समिति बैठकको एजेण्डा तय गरेका छन्।

अध्यक्ष ओलीको निवास बालकोटमा भएको झण्डै डेढ घण्टा लामो भेटमा एकता संयोजन समिति बैठकका एजेण्डासहित राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठन लगायत विषयमा समेत छलफल भएको थियो।

बैठकबाट बाहिरिने क्रममा माओवादी प्रचण्डले 'ठोस कुराकानी भएको' संक्षिप्त प्रतिक्रिया दिएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार एकता संयोजन समिति बैठक आइतबार दिउँसो ३ बजे बस्ने तय भएको छ।

बैठकको समय तोकिए पनि स्थान भने तय भइसकेको छैन । 'बैठकको स्थान तय हुन बाँकी छ, सायद यहीँ (बालकोटमा) हुनसक्छ,' अधिकारीले भने ।

आइतबारको बैठकले संगठनात्मक र वैचारिक विषयमा सहमति जुटाउन छुट्टाछुट्टै कार्यदल गठन गर्ने सम्भावना छ ।

यसअघि शुक्रबार पनि दुई अध्यक्षबीच झण्डै ३ घण्टा 'वान टू वान' वार्ता भएको थियो ।

माघ ६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस