फायर एन्ड फ्युरी :  के ट्रम्प अमेरिकी राष्ट्रपतिका लागि साँच्चै योग्य छन् ?

अमेरिका तथा विश्वभरि अहिले एउटा पुस्तक व्यापक चर्चामा छ । माइकल वुल्फले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको एकवर्षे शासनकालका बारेमा भित्री खुलासासहित लेखेको पुस्तक फायर एन्ड फ्युरी : इन्साइड द ट्रम्प ह्वाइट हाउसले पुस्तक बजार तताएको छ । 

पुस्तकका केही अंशहरू बेलायतको द गार्डियन पत्रिकामा जनवरी ३ (पुस १९ गते) मा प्रकाशित भएपछि पुस्तकप्रति पाठकहरूको रुचि ह्वात्तै बढेर गयो । ट्रम्पका एक वकिलले यो पुस्तकलाई सार्वजनिक हुनबाट रोक्नका लागि लेखक तथा प्रकाशकलाई जनवरी ४ मा पत्र पठाएपनि त्यसलाई छल्दै प्रकाशक हेनरी होल्ट एन्ड कम्पनीले पुस्तक सार्वजनिकीकरण मितिलाई अघि सार्दै जनवरी ५ मै बजारमा ल्यायो । निस्केको एक हप्तामै किताबको सात लाख प्रति बिक्री भयो भने दश लाखभन्दा बढी प्रतिको माग बजारमा छ । 

पुस्तकमा ट्रम्पले ह्वाइट हाउसमा देखाउने गरेको असामान्य व्यवहार, उनको हप्कीदप्की शैली, ह्वाइट हाउसमा प्रमुख रणनीतिकार स्टिभ ब्यानन र ट्रम्पका छोरीज्वाईं इभान्का र ज्यारेडबीचको द्वन्द्व अनि ह्वाइट हाउसका कर्मचारीहरूले ट्रम्पप्रति राख्ने धारणालाई वुल्फले विस्तारमा केलाएका छन् । ट्रम्पको बारेमा किताब लेख्ने भएपछि ह्वाइट हाउसको सहज पहुँच पाएका र ट्रम्प समेतको स्वीकृति पाएका भनिएका वुल्फले त्यहाँ अनेकौं व्यक्तिहरूसँग गरेको कुराकानी र सुनेको हल्लाका आधारमा पुस्तक लेखेको बताएका छन् । 

लेखक वुल्फ

ट्रम्प आफैं तथा उनीनजिकका अधिकारीहरूले चाहिँ वुल्फले पूर्णतः काल्पनिक कुरा लेखेको र उनको पुस्तक आख्यान मात्र भएको प्रतिक्रिया दिएका छन् । ट्रम्पले वुल्फलाई एकपटक मात्र भेटेको अनि त्यो पनि एउटा आलेखका लागि भनी प्रतिक्रिया दिए । ट्रम्पप्रति चरम घृणाभाव राख्ने मूलधारका सञ्चारमाध्यम तथा विश्लेषकहरूले भने वुल्फको पुस्तकलाई प्रचारप्रसार गरिरहेका छन् । 

हुन पनि ट्रम्पलाई चुनाव जित्छु भन्ने कुनै अपेक्षा नै नरहेको, चुनाव जितेको दिन उनले भूत देखेको जस्तो गरी तर्सिएको अनि उनकी पत्नी मेलानियाले हर्षको नभई आश्चर्यको आँसु बगाएको जस्ता कुरा पुस्तकमा उल्लेखित छन् जसको पुष्टि वुल्फले गरेका छैनन् । 

पुस्तक पढिसकेपछि पंक्तिकारलाई यसमा नयाँ कुरा खासै नभएको अनुभूति भयो । ट्रम्पका ससाना कुरालाई पनि मूलधारका ट्रम्पविरोधी सञ्चारमाध्यमहरूले यथार्थ रूपमा वा कहिलेकाहीँ बढाइचढाइ प्रस्तुत गरिरहेका हुन्छन् । अनि ट्रम्पका आफ्नै ट्वीटहरूले पनि उनको सोचलाई खुलासा गरिरहेका हुन्छन् । 

पुस्तकको शुरूआत ट्रम्पले शासन सम्हाल्न लागेको बेलामा ब्राइटबार्ट समाचार वेबसाइटका सम्पादक तथा ट्रम्पका प्रमुख रणनीतिकार स्टिभ ब्यानन र फक्स न्युजका संस्थापक रोजर एल्सबीचको डिनर बैठकबाट हुन्छ । यो डिनर कसले आयोजना गरेको हो भन्ने वुल्फले नखुलाएको भएपनि उनी आफैं यसका आयोजक थिए भन्ने समीक्षकहरूले पत्ता लगाएका छन् ।

यो चर्चा किन गरिएको हो भने वुल्फले पुराना पुस्तकहरूमा पनि विषयलाई कि ढाकछोप गरेको कि त बढाइचढाइकन प्रस्तुत गरेको आरोप लाग्ने गरेको छ । उनले दोस्रो वा तेस्रो व्यक्तिबाट पाएको जानकारीलाई पहिलो व्यक्तिबाट सोझै पाएको झैं गरी प्रस्तुत गर्ने गरेका छन् भनी समीक्षकहरू आरोप लगाउँछन् । अनि आफूले थाहा नपाएका कतिपय कुरालाई कल्पनाले भरिदिने उनको बानी रहेको पनि आरोप छ । 

हुन पनि पुस्तकमा केही तथ्यगत त्रुटिहरू औंल्याइएका छन् । अमेरिकी संसद्का पूर्वसभामुख जोन बोएनरलाई ट्रम्पले नचिन्ने भनी लेखिएको भएपनि ट्रम्प र बोएनरले सँगै गल्फ खेलेको कुरा ट्रम्पकै पुरानो ट्वीटबाट थाहा हुन्छ । अनि बेलायतलाई युरोपेली संघबाट झिक्नका लागि भएको मतदान अर्थात् ब्रेग्जिट डेमा ट्रम्पलाई ब्रेग्जिट भनेको के हो नै थाहा नभएको लेखिएको छ जबकि ट्रम्पले महीनौंदेखि ब्रेग्जिटका बारेमा ट्वीट गर्दै आएका थिए । 

पुस्तकको समस्या भनेको वुल्फले ट्रम्पसँग कहिल्यै पनि आफैंले कुरा गरेको देखिँदैन । उनले खाली ट्रम्पका बारेमा अन्य व्यक्तिले बनाएको धारणालाई पुस्तकमा पस्केका छन् । अन्य व्यक्तिका धारणालाई पर्गेल्दा चाहिँ ट्रम्प अत्यन्तै मूर्ख र केटौले पाराका व्यक्ति देखिन्छन् र त्यो एक हदसम्म सत्य हो जस्तो चाहिँ देखिन्छ ।

ट्रम्पलाई कुनै कुरामा पनि ध्यान केन्द्रित गर्न नसक्ने व्यक्तिका रूपमा प्रस्तुत गरिएको छ । सरकारको नीतिका गम्भीर विषयका कुरा उठ्दा उनी झर्को मान्ने अनि बेवास्ता गर्ने देखिन्छन् । टीभीप्रति आसक्त ट्रम्प ह्वाइट हाउसको आफ्नो कोठामा तीनतीनवटा टीभी हेरेर बसिरहन्छन् अनि आफ्नाविरुद्ध बोलिएका कुरालाई हेरेर त्यसमाथि प्रतिक्रिया जनाउनमा ऊर्जा खर्च गर्छन् । राष्ट्रपति पदको मर्यादा भुलेर उनी सार्वजनिक स्थानमै कसैविरुद्ध तुच्छ भाषामा विषवमन गर्छन् अनि कडा ट्वीट पनि लेखिदिन्छन् । 

स्टिभ ब्यानन

पुस्तकमा उल्लेखित ट्रम्पका बानीबेहोरा हेर्दा उनी राष्ट्रपति पदका लागि योग्य छैनन् भन्ने देखिन्छ । एक ठाउँमा त उनलाई उनको सहयोगीले संविधानको बारेमा व्याख्या गर्दा तल्लो ओठ चलाएर शून्यमा ताकिरहेको भनी वर्णन गरिएको छ । कुनै कुरामा ध्यान केन्द्रित गर्न नसक्ने, ससाना कुरामा पनि झर्किने, आफूभन्दा योग्य व्यक्ति छ भने त्यसलाई हटाउन उद्यत हुने, आधी घन्टाभित्र त्यही एउटै कुरा दोहो–याइरहने, बोलीको कुनै टुंगो नभएका व्यक्ति राष्ट्रपतिको कुर्सीमा आसीन भएको स्थिति खतरनाक नै हो । 

ट्रम्प आफैं पदका लागि अयोग्य त छँदैछन्, उनीसँग काम गर्नेहरू पनि उत्तिकै अक्षम र षड्यन्त्रकारी रहेको वुल्फको पुस्तकले देखाउँछ । प्रमुख रणनीतिकार स्टिभ ब्याननप्रति वुल्फको सहानुभूति छ तर ब्यानन पनि रिसाहा (होप हिक्सलाई उनले बेस्सरी थर्काएर हिक्स रोएको कुरा) र कसैले मन नपराउने व्यक्ति जस्ता देखिन्छन् । अनि (निष्काशित) प्रेस सेक्रेटरी सीन स्पाइसर, अहिले ह्वाइट हाउसकी सञ्चार निर्देशक रहेकी होप हिक्स, छाडा बोल्ने पहिलेका सञ्चार निर्देशक एन्थोनी स्कारामुच्ची लगायत कसैले पनि ट्रम्पलाई गतिलो सल्लाह दिन नसक्ने अनि उनीहरूले सल्लाह दिएपनि ट्रम्पले नमान्ने पुस्तकमा देखाइएको छ । 

माथि नै उल्लेख भएअनुसार वुल्फले ब्याननप्रति भने सहानुभूति राखेका छन् । हुन पनि ब्यानन प्रतिभाशाली व्यक्ति हुन् । ज्ञानको भण्डार र विचारमा सुस्पष्टता उनको चिनारी हो । आर्थिक राष्ट्रवादको नीति अपनाउनका लागि उनले नै ट्रम्पलाई प्रेरित गरेका हुन् । अझ वुल्फ त महिलाहरूप्रति तुच्छ टिप्पणीले भरिएको बिल्ली बुशसँगको ट्रम्पको कुराकानीपछि ध्वस्त भएको ट्रम्पको निर्वाचन अभियानलाई ब्याननले नै जोगाएको र जिताएको उल्लेख गर्छन् । 

तर केही मुसलमान देशका नागरिकलाई अमेरिका छिर्न नदिने निर्णय ट्रम्पलाई गर्न लगाउने अनि चीनसँग व्यापार युद्ध गर्नुपर्छ भन्ने सोच राख्ने ब्याननलाई गम्भीर राजनीतिकर्मीका रूपमा लिन गाह्रो देखिन्छ । अनि ब्यानन ह्वाइट हाउसबाट निस्किसकेपछि ट्रम्पले उनको सल्लाहविना नै रिपब्लिकन सिद्धान्तअनुरूपको करसम्बन्धी कानून र राष्ट्रिय सुरक्षा नीति ल्याएका हुन् । 

पुस्तकमा उल्लेख भएअनुसारको प्रभाव ब्याननले ह्वाइट हाउसमा छोडेको विषयमा समालोचकहरूले शंका गरेका छन् । वुल्फले ब्याननलाई बढाइचढाइकन प्रस्तुत गरेका हुन् कि भन्ने देखिन्छ किनकि पुस्तकमै देखिएअनुसार ट्रम्प आफैंले ब्याननलाई शुरूमा चम्चे ठान्थे अनि पछि चाहिँ अलिकति बुद्धि भएको मानिस ठान्थे र अन्त्यतिर चाहिँ काम नलाग्ने फोहोरी मानिसका रूपमा लिन थालेका थिए । उनको कुरा ट्रम्पले नसुन्ने गरेको अनि उनको तिक्ततालाई पुस्तकमा प्रशस्त स्थान दिइएकोले पनि ब्याननको प्रभावलाई यथार्थभन्दा बढी देखाइएको लाग्छ ।

ब्याननको संघर्ष ट्रम्पकी छोरी इभान्का र ज्वाईं ज्यारेडसँग देखाइएको छ । ब्याननले मजाकका रूपमा उनीहरूलाई जार्भान्का भनी बोलाउँथे र उनीहरू व्यक्तिगत स्वार्थका लागि त्यहाँ काम गरिरहेको भन्थे । ट्रम्पले अधिकारीहरू छिटोछिटो राख्ने र निकाल्ने प्रक्रियामा इभान्का र ज्यारेडको हात रहेको पुस्तकमा देखाइएको छ । उनीहरू ऐतिहासिक उपन्यासका दरबारिया षड्यन्त्रकारी पात्र जस्तो देखिन्छन् । 

इभान्का र ज्यारेड

पुस्तक पूर्णतः व्यक्तिचित्रणमा केन्द्रित रहेको छ । एक ठूलो तप्काले जस्तै वुल्फले पनि ट्रम्पप्रतिको घृणाले प्रेरित भएर पुस्तक लेखेका झैं देखिन्छन् । तर आफ्नो पूर्वाग्रहबाट बाहिर निस्किएर ट्रम्पको कुशासनका कारण अमेरिका तथा विश्वले कस्तो दुष्परिणाम भोग्नुपर्ने हुन्छ भन्ने कुरालाई वुल्फले प्रस्तुत गरेको भए पुस्तक गम्भीर र संग्रहणीय हुने थियो । 

ट्रम्प अस्थिर चित्तका, आत्ममुग्धतामा रम्ने र सम्भवतः मानसिक असन्तुलन भएका व्यक्तिका रूपमा पुस्तकमा प्रस्तुत हुन्छन् तर उनको बारेमा थाहा पाएका मानिसले यी सबै कुरा पहिलेदेखि नै भन्दै आएका हुन् । लस एन्जेलस टाइम्समा माइकल हिल्तजिकले पुस्तकको समीक्षा गर्दै भनेको कुरासँग पंक्तिकार पनि सहमति राख्छ, ‘फायर एन्ड फ्युरी पुस्तकमा नयाँ तथा महत्त्वपूर्ण कुरा केही छैन ।’ संयुक्त अरब अमिरातको समाचार वेबसाइट दनेसनल डट् एईमा कपिल कोमिरेड्डीले गरेको समीक्षामा उल्लेख भएजस्तो, ‘यो पुस्तक शंकास्पद व्यक्तिहरूको भनाइको संकलन मात्र हो जसलाई लेखकले आफ्ना कुरासमेत जोडेर प्रस्तुत गरेका छन् । पुस्तकले ट्रम्पलाई घृणा गर्नेहरूलाई आनन्द दिन्छ । तर ट्रम्पको उदयलाई सम्भव बनाउने तथा उनलाई सत्तामा टिकाइराख्ने प्रणालीका बारेमा पुस्तकले केही बोलेको छैन ।'

डोनल्ड ट्रम्प

यो पुस्तक प्रकाशित भएपछि माइकल वुल्फले पुस्तककै कारण ट्रम्पले राजीनामा दिनेछन् भनी गरेको दाबीलाई पनि सहजै पचाउन मुश्किल देखिन्छ ।
 

माघ २४, २०७४ मा प्रकाशित

विन्देश दहाल

विन्देश दहाल लोकान्तर डट् कममा अन्तर्राष्ट्रिय राजनीतिबारे लेख्छन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस