बैशाख ३, २०७५

- गुराँस ठकुरी

पानी घाम सहेर भोक नभनी भुल्छ्यौ सबै वेदना
आमा पावन सृष्टिको छ महिमा गाएर पुग्ला कहाँ ।
छातीमा  छहरा  प्रवाह  रसको हुर्काउँछ्यौ सन्तति
भछर्यौ दिव्य प्रकाशबाट जननी ! खाली जहाँछन् जति ।।


तिम्रो काख म ठान्छु रम्य सुनको प्रासादको आसन
आमा सृष्टि फुलाउँछ्यौ सगरमा मैलो पखालीकन ।
तिम्रो  दिव्य  मुहारको मधुरता हे स्वर्गकी सुन्दरी
जस्तै प्यार दिउन् यहाँ तर अरू लाग्दैन आमासरि  ।।

चोखो भाव म गर्छु अर्पण सधैं सम्पूज्य मेरो तिमी 
आत्मा बस्दछ जो उही भुवनको सेरो र फेरो तिमी ।
भन्छ्यौ स्नेह दिएर हे मनधनी ज्ञानी भए है भनी
तिम्रै आकृति देख्छु यो गगनमा टाढा भए तापनि  ।।

तिम्रो आशिक बग्छ यो रगतमा यो श्वास फेर्दैछु म
तिम्रै सौम्य मुहारमा कति फुले मुस्कान हेर्दैछु म ।
भोकै पर्नुपरोस् खुसी छु, ममता माया मिली टन्न छु
आमा छ्यौ जगमा र पो जीवनमा साँच्चै म सम्पन्न छु ।।

आफ्नै निर्भय कर्मले जग भर्यौ हे दूधकी पोखरी
मैले देख्न सकूँ सधैँ अधरको मुस्कानको माधुरी ।
मैले मेट्न सकूँ हरे हृदयका तिम्रा कयौँ तिर्सना
आमा ! बाँच तिमी सयौँ सय जुनी दीर्घायुको कामना ।।


 

बैशाख ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस