परराष्ट्रमन्त्री चीन प्रस्थान : मन्त्रालयमा पत्रकार सम्मेलन गरेर के-के भने ?

बैशाख ३, २०७५

काठमाडौँ, ३ वैशाख - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज  त्यसतर्फ प्रस्थान गरेका छन्  । विदेशमन्त्री वाङसँग औपचारिक द्विपक्षीय भेटघाट गर्ने र बेजिङ त्यहाँका उच्च राजनेतासँग भेटघाटको कार्यक्रम रहेको मन्त्री ज्ञवालीले जानकारी दिए । उनले भ्रमणका क्रममा विगतमा भएका सहमतिलाई कार्यान्वयन गर्ने विषयमा छलफल हुने बताए । 

मन्त्री ज्ञवालीका अनुसार पारवाहन, अन्तरदेशीय प्रसारण लाइन, सडक एवं अन्य प्राथकिताका क्षेत्रमा छलफल हुनेछ । उनी  आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ । 
सो अघि मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले छिमेकीसँगको मैत्रीपूर्ण र सन्तुलित सम्बन्धमा प्राथमिकता दिइने बताए  । 
 नेपालको कूटनीतिक संयन्त्रलाई परिचालन गरेर सम्बन्ध विस्तार गरिने लक्ष्य रहेको बताउँदै समावेशी, प्रगतिशील, लोकतान्त्रिक मुलुकका रुपमा नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाएर आर्थिक सामाजिक विकास गरिने उनको भनाई थियो । 


सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डता र मुलुकको स्वाधीनता कायम गर्दै आर्थिक विकास र समृद्धिको गन्तव्यमा पुग्ने उद्देश्य प्रस्तुत गर्दै उनले  मित्रराष्ट्रसँग व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार तथा विकास साझेदारसँग विश्वास र सद्भावको सम्बन्ध कायम गरी विकास र समृद्धिमा समर्थन र सहयोग जुटाइने बताए । 

प्रधानमन्त्रीले हालै गरेको भारतको राजकीय भ्रमणबाट आपसी विश्वासलाई मजबुत बनाउन सहयोग पुगेको उनको  भनाइ थियो । प्रदेश र स्थानीय सरकारका पदाधिकारी तथा संघीय सरकारका पदाधिकारीसँग कूटनीतिक भेटघाटलाई स्थापित अन्तर्राष्ट्रिय प्रचलनअनुकूल सहज र व्यवस्थित बनाउने प्रयास भएको मन्त्री ज्ञवालीले जानकारी दिए  ।

बैशाख ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस