सिन्डिकेट लाद्न पाउनुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलित !

बैशाख ३, २०७५

काठमाडौं, ३ बैशाख– सरकारले सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले आन्दोलन गर्ने भएका छन् । सिन्डिकेट हटाउने गरी सरकारले ल्याएको  ‘यातायात व्यवस्थापन निर्देशिका’ खारेजीसहितको माग गर्दै उनीहरुले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेका हुन् । 
राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बैशाख ५ गते  पत्रकार सम्मेलनको आयोजना गरेर चरणबद्ध आन्दोलनको घोषणा गर्ने बताए । 
राष्ट्रिय यातायात व्यवसायी महासंघ संयोजकत्वमा हुने अन्दोलनमा ढुवानी महासंघ,  ट्रक व्यवसायी महासंघ, पेट्रोलियम ढुवानी महासंघ, पेट्रोलियम डिलर एसोसियसनसमेतले साथ दिने दाबी गरिएको छ । 
महासंघ स्रोतका अनुसार बैशाख ६ गते प्रधानमन्त्री र सात ओटै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, १९ गते देशभरका यातायात कार्यालय घेराउ गर्ने र बैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको  गरिने तय गरिएको छ । 
यसैबीच महासंघले आन्दोलनका लागि अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यको संयोजकत्वमा १ सय ५१ सदस्सीय  मूल आन्दोलन कमिटी  समेत गठन गरेको छ । 

निर्देशिका जारी गरेसँगै सरकारले देशव्यापी रुपमा सार्वजनिक सवारीसाधनलाई रुट परमिट खुला गरेपछि यातायात व्यवसायी असन्तुष्टि जनाउँदै आएका छन् । 
 

बैशाख ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस