सिरिया : रासायनिक हमला भएका स्थानको अुगमन गर्न अनुमति

बैशाख ४, २०७५

काठमाडौं, ४ वैशाख– सिरियामा रासायनिक आक्रमण गरेको भनिएको डुमा शहरमा रासायनिक हतियार अनुगमनकर्तालाई भ्रमणको अनुमति दिने भएको छ । रासायनिक अस्त्र हमला भएको सन्दिग्ध स्थानको भ्रमण गर्न बुधवार अन्तराष्ट्रिय विज्ञहरूलाई अनुमति दिइने रुसले जनाएको छ ।

गत शनिबारदेखि अर्गनाइजेशन फर प्रोहिविसन अफ केमिकल विपन्सको नौ सदस्यीय टोली राजधानी दमास्कसमा रहे पनि उसलाई डुमा जाने अनुमति दिइएको थिएन ।

ब्रिटेन र संयुक्त राज्य अमेरिकाले मस्को र सिरियाले वास्तविकता लुकाउने प्रयास गरिरहेको र अनुगमनकर्ताहरूलाई सिरियाली सरकारी फौजले डुमामा गराएको भनिएको हमलाबारे सूचना संकलन गर्नबाट रोकिरहेको आरोप लगाएका छन् ।

रासायनिक अस्त्र प्रयोग सम्बन्धी अन्तराष्ट्रिय निगरानी समूहले सिरियाली अधिकारीहरूले उनीहरूकै शब्दमा सुरक्षाको कारण देखाउँदै पहुँच नदिएको बताएको थियो । तर, रुसी विदेश मन्त्री सर्गेइ ल्याभरोभले आक्रमण गरिएको स्थलमा सबुत मेटाउने कुनै काम नभएको ग्यारेन्टी दिने बताए ।

सिरिया र उसको सहयोगी रुसले रासायनिक आक्रमण नगरेको दाबी गरेका छन् । अप्रिल ७ मा डुमामा रासायनिक आक्रमण गरिएको समय उक्त क्षेत्र विद्रोहीको नियन्त्रणमा थियो । तर अहिले सिरियाली सरकार र रुसी सेनाको नियन्त्रणमा छ ।

बैशाख ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस