बुद्धिजीवीहरुप्रति ओलीको आक्रोश : विकासको कुरा गर्दा महेन्द्रपथमा गयो भन्दिने !

बैशाख १०, २०७५

काठमाडौं १० वैशाख–प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकासको कुरा गर्दा आफूलाई महेन्द्र पथमा गएको भनेर आरोप लगाइएको गुनासो गरेका छन् । उनले राम्रो कुरालाई राम्रो भनेर लेख्न बुद्धिजीवीलाई सुझाव दिए ।

पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले रेल र पानीजहाज चलाउने कुरा गर्दा व्यङ्ग गरिएको भन्दै आपत्ति जनाएका हुन् । 

‘मैले रारा ताल गएर सम्वोधन गरे, कतिपय बुद्धिजीवीले राराताललाई महेन्द्र ताल भन्दिएको छ, कठै ! म राराताल गए भन्दैमा महेन्द्रको ताल भन्दिने । महेन्द्र जन्मिनु भन्दा करोडौ बर्ष पहिले पनि ताल थियो’ ओलीले भने, ‘विकासको कुरा गर्दा महेन्द्र पथमा गयो भन्दिने ? विकास भनेको महेन्द्रपथ भन्ने बुद्धिजीवीको  सर्टिफिकेट पनि गज्जब छ ।’

ओलीले एमाले पार्टी स्वीमिङ पुल नभइ महासागर भएको बताए । ‘विचार, सिद्धान्त, नीति संगठन, जनविश्वास, आशा भरोसा, कार्यक्षमताको हिसाबले एमाले सानदार पार्टी हो’ ओलीले भने, ‘जहाँ नेपाली छन्, त्यहाँ एमाले छ । एमाले पुगेर संगठित गरेको पनि होइन ।’

अध्यक्ष ओलीले राष्ट्रियताको सवालमा एमालेको कुनै आक्रोश र उत्तेजनाबाट प्रभावित नभएको बताए । ओलीले नेपालमा सामाजिक विद्वेष फैलाउन केही शक्तिकेन्द्रले खेलिरहेको बताए । 
‘हतियार बेच्नका लागि नेपालमा अस्थिरता निम्ताउन खोजिएको छ’ओलीले भने, ‘द्न्दवका व्यवसाय नेपाललाई चाहिएको छैन, हामी मिलेर बस्छौ ।’
 

बैशाख १०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस