माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
जनकपुरधाम, ११ वैशाख–२०४६ सालको जनआन्दोलन शुरु हुनुभन्दा चार दिनअगाडि फागुन ३ गते जनकपुरमा पञ्चर्याली आयोजना गरिएको थियो । जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसका राजनीतिशास्त्रका विद्यार्थी २३ वर्षीय ललन चौधरी त्यसदिन हुन लागेको पञ्चर्यालीलाई पर्खिरहेका थिए । त्यस र्यालीले जनकपुर शहरको परिक्रमा गर्ने कार्यक्रम थियो ।
ललन स्कूल पढ्दादेखि नै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध थिए । वैचारिक रूपमा उनी कांग्रेसप्रति प्रतिबद्ध त छँदै थिए, त्यसबाहेक उनी पञ्चायती व्यवस्थाविरोधी बन्नुका पछाडि अरु पनि कारण थिए । उनका राजनीतिक क्रियाकलापका कारण उनका बाबुलाई सरकारी स्वामित्वमा रहेको जनकपुर चुरोट कारखानाको नोकरीबाट बर्खास्त गरेको थियो ।
केहीदिन अगाडि मात्र ललनलाई खोज्दै उनको घरमा आएका प्रहरीहरूको हात पर्नबाट उनी जोगिएका थिए । किनभने उनी जनआन्दोलनको तयारीका क्रममा गाउँबाट बाहिर गएका थिए । प्रहरीहरू उनलाई खोजिरहेका छन् भन्ने खबर सुनेपछि उनले सोचे, ‘उनीहरू मलाई समात्न चाहन्छन् भने म समातिउँला । तर लुत्रुक्क परेर समातिनुभन्दा बरु मरुँला । इतिहासका किताबमा लेखिन लायक कुनै काम गरेपछि मात्र म गिरफ्तार हुन्छु ।’
फागुन ३ गतेको दिन बिहानै ललन, गोजीमा एक टुक्रा कालो कपडा राखेर घरबाट बाहिर निस्के । र्याली जानकी मन्दिर आइपुगेर आमसभामा परिणत भएपछि भीडको बीचबाट हातमा कालो झन्डा बोकेर पञ्चायतविरोधी नारा लगाउने उनको सुर थियो । यसो गर्दा उनी गिरफ्तार हुने निश्चित थियो र उनी कठोर यातनाको शिकार हुनसक्थे । तर ललन सकेसम्म धेरै मानिसहरूले उनको विरोध प्रदर्शन देखुन भन्ने पनि चाहन्थे ।
क्याम्पस गएर उनले साथीहरूलाई आफूले बनाएको योजना सुनाए । उनका साथीहरूले उत्साहपूर्वक उनको योजनाको समर्थन गरे । उनका १० जना साथीले त उनीसँगै कालो झण्डा बोकेर जाने समेत निधो गरे । सबैभन्दा पहिला ललनले झण्डा देखाउने र त्यस समयको परिस्थिति हेरी अरु साथीहरूले पनि झण्डा देखाउने सहमति भयो । वरिपरि धेरै प्रहरी भएमा ललनबाहेक अरु सबै भाग्ने सल्लाह भएको थियो ।
र्याली एकबजे शुरु भयो । जनकपुर तथा यसको छेउछाउका गाउँहरूबाट आएका पञ्चहरू शहरको परिक्रमा गर्न थाले । राजा वीरेन्द्र तथा रानी ऐश्वर्यको पूर्ण कदका तस्वीरहरू बोकेको त्यस जुलुसले पञ्चायती व्यवस्थाको समर्थनमा नारा लगायो । र्याली जनकपुरको सडकबाट अगाडि बढिरहेका बेला ललन र उनका साथीहरू एक्लाएक्लै जानकी मन्दिरतिर गइरहेका थिए । खुला मैदानको छेउमा रहेको जानकी मन्दिरको पश्चिमी प्रवेशद्वारनजिक उनीहरू भेट्ने तय गरिएको थियो । बाटामा ललनले नेविसंघका साथी केशव ढुङ्गेललाई भेटे । उनले केशवलाई पनि आफूसँगै हिँड्न भने ।
ललनको योजना थाहा पाएपछि अग्ला ललनलाई हेर्दै केशवले भने, ‘तिमी पक्राउ पर्ने निश्चित छ । तिमी साँच्चै यसो गर्न चाहन्छौ ?’ ‘म पक्राउ पर्न चाहन्छु,’ ललनले दृढ भएर जवाफ दिए । उनीहरू जानकी मन्दिरमा आइपुग्दा आमसभा शुरु भइसकेको थियो ।
सभामा त्यसदिनका मुख्य अतिथि धनुषाबाट निर्वाचित राष्ट्रिय पञ्चायतका सदस्य हेमबहादुर मल्ल भाषण गर्दै थिए । केहीबेर स्थितिको अवलोकन गरेपछि ललनले साथीहरूलाई बोलाए अनि आफूचाहिँ भीडलाई छिचोल्दै मञ्चतिर बढे । भीडको अगाडि पुगेपछि कालो झण्डा दाहिने हातमा उचालेर उनी ‘पञ्चायती व्यवस्था मुर्दावाद ! बहुदलीय व्यवस्था जिन्दावाद !’ भन्ने नारा लगाउँदै मञ्चतर्फ दौडिए ।
ललनको चर्को आवाजलाई साथ दिँदै उनका साथीहरूले पनि पञ्चायत व्यवस्थाविरोधी नारा लगाए । भीडका मानिसहरू यो कसरी भयो भनेर उदेक मान्दै ललन र उनका साथीहरूले नारा लगाएको हेरिरहे । ठीक यसै बेला त्यहाँ दुईओटा घटना भए । भीडको बीचबाट कसैले ‘बम ! बम ! भाग ! भाग ! भनेर चिच्यायो । आतंकित भएर सबै मानिसहरू एकैचोटी बाहिर निस्कने ढोकातिर दौडे ।’
ठीक त्यही बेला प्रहरीहरूको एक झुन्ड ललनमाथि जाइलाग्यो । प्रहरीले उनलाई लात्तीले भकुरेर डन्डाले पिट्दै घिसारेर मन्दिरको परिसरभित्र लगे । त्यहाँ मन्दिर परिसरभित्र उनलाई मरणसन्न हुनेगरी कुटे । ललन भने आफूले गर्न चाहेको काम पूरा भएकोमा सन्तुष्ट थिए । उनी एक्लैले पञ्चहरूको र्यालीलाई भताभुङ्ग पारेको यो घटना जनकपुर शहरमा चर्चाको विषय बन्यो । २०४६ फाल्गुन ३ गते पक्राऊ परेका ललनलाई डिएसपी कार्यालय लगियो ।
नेपाली कांग्रेसका नेताहरू महेन्द्रनारायण निधि, लिला कोइराला, ललन चौधरी र वृषेशचन्द्र लाल लाई त्यहाँबाट १ महिनको लागि जलेश्वर कारावास पठाइयो । त्यहाँबाट चारै जनालाई सिन्धुली कारावास पठाइएको थियो । हुन त ललनको हत्या गर्नकै लागि सिन्धुली स्थानान्तरण गरिएको भए पनि राजाले बहुदल दिन तयार रहेको अञ्चलाधिशलाई फोन गरे पछि उनको ज्यान गएन । धन्य, उनी बाँचे ।
२०४६ चैत २६ गते राजा वीरेन्द्रले बहुदल घोषणा गरेपछि जनकपुरको बाह्र विघामा आयोजित विजय र्यालीमा सम्बोधन गर्न पुगेका ललन चौधरीलाई हेर्नका निम्ति भनेर ४ लाख जति मानिसहरू जम्मा भएका थिए । कालो झण्डा देखाउने युवा ललन चौधरीलाई मान्छेले आफ्नो काँधमा बोकेर नगर परिक्रमा गराएका थिए । ‘शेरे गणेशमान जिन्दावाद, बहुदलीय व्यवस्था जिन्दावाद र ललन चौधरी जिन्दावाद’ भनेर नारा लगाइएको थियो ।
नेपालका प्रतिबन्धित राजनीतिक दलहरूले २०४६ माघ ७ गतेका दिन निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्वहालीका लागि जनआन्दोलन गर्ने घोषणा गरे र फागुन ७ गतेलाई जनआन्दोलन शुरु गर्ने दिनका रूपमा रोजे, जुन दिन ४० वर्ष अगाडि राणाशासनको अन्त्य भएको थियो । प्रजातन्त्रको पुनर्वहालीका लागि भएको त्यस जनआन्दोलनलाई दबाउन सरकारले सक्दो प्रयास गरेको थियो । तर अन्ततः जनताको जीत भइ छाड्यो ।
चैत २६ गतेका दिन राजाबाट राजनैतिक दलमाथिको प्रतिबन्ध फुकुवा भयो र संसदीय प्रणालीको शासन व्यवस्था स्थापनाका लागि प्रयास थालियो । ६० दिनसम्म उक्त जनआन्दोलन चलेको थियो ।
भारतीय नेता चन्द्रशेखर, एम.जे.अकवर, सुब्रमन्यम स्वामी, डीपी त्रिपाठी तथा नेपाली कांग्रेसका नेता गणेशमान सिंहसहितको निर्देशनमा पञ्च र्यालीमा कालो झण्डा देखाएको ललन बताउँछन् । ‘२०१८ माघ १९ गतेका दिन दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम आक्रमण गरी गणतन्त्रको फाउण्डेशन गरेकै ठाउँमा २०४६ फागुन ३ गते मैले कालो झण्डा देखाएर लोकतान्त्रिक गणतन्त्र स्थापना अभियानको नेपालमै शुरुवात गरेको थिएँ,’ उनी भन्छन् ।
पटक–पटक जेल
२०४६ सालको जन आन्दोलन हुनुअगाडि २०३५ सालको आन्दोलनमा जनकपुरको डीएसपी कार्यालयमा ४ महिना नजरबन्द, २०३६ मै जनकपुर चुरोट कारखानाका मजदुरहरूद्वारा गरिएको आन्दोलनमा २ महिना नजरबन्द, २०४२ को सत्याग्रहमा ७ महिना जेल, २०४६ को आन्दोलनमा २ महिना जेल, २०४२ मा राजा वीरेन्द्रको सवारी हुँदा २ वर्ष जेल, इण्डो नेपाल ट्रेड सन्धि ब्रेक हुँदा ७ महिना जेल, २०५९ सालमा ९ महिना जेलमा जीवन बिताउनु परेको ललन चौधरी करीब ४० पटक थुनामा समेत गइसकेका छन् ।
२०४८ सालको चुनावमा महेन्द्रनारायण निधिविरुद्ध विद्रोही बनेर चुनावमा आउन युवाहरूले उक्साए पनि ललन चौधरीले त्यसो नगरी आफ्ना नेतालाई सम्मान गरेका थिए । तर अहिले ललनको नेपाली कांग्रेसमा कुनै पदीय भूमिका छैन । ललन चौधरी २०४६ आन्दोलनमा यति लोकप्रिय भएका थिए कि नेविसंघ धनुषाका सभापति भएको बेला उनलाई संयुक्त वाममोर्चाका मदन भण्डारीले पोलिटब्यूरो सदस्यको पद प्रस्ताव गरेका थिए, तर पनि उनले कांग्रेस परित्याग गरेनन् ।
जनवादी मोर्चाका रामराजाप्रसाद सिंह, फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका वृषेशचन्द्र लाल सहितकाले पार्टी प्रवेश गर्न प्रस्ताव गरे पनि उनले कांग्रेस परित्याग गरेका छैनन् । आफूले देश र प्रजातन्त्रका लागि नेपाली कांग्रेसको झण्डा बोकेर हरेक आन्दोलनमा मात्र नलागी धनुषा जिल्लामा कांग्रेस संगठन विस्तारमा सधैँ सक्रिय रहे पनि पार्टीले मुल्याङ्कन गर्न नसकेको उनी बताउँछन् ।
‘सन् १९७८ मा शेख मुजिर रहमान अली भुट्टोलाई फाँसी पर्दा त्यतिबेला म काठमाडौंमा पढ्थेँ । त्यहाँ हामीले पाकिस्तान एम्बेसीमा गएर शिशा फुटायौं, आन्दोलन गर्यौं । त्यसपछि २०३६ सालको आन्दोलन शुरु भयो । त्यो आन्दोलनको शुरुदेखि अन्तसम्म मैले काम गरेँ,’ ललन चौधरीले लोकान्तरसँग भने, ‘ रामसरोज यादवको नेतृत्वमा मैले आफ्नो गाउँको भन्सार जलाएँ । ११ राउण्ड मेरो गाउँमा फायरिङ भयो, जसमा बालबाल मेरो ज्यान जोगियो ।’
२०३६ सालकै आन्दोलनमा थुनामा बसे । त्यसपछि बीपी कोइराला आउँदा पम्पलेट टाँस्ने, प्रचार–प्रसार गर्ने, गाउँ–गाउँ गएर प्रचार गर्ने गर्थेँ । जनमतसंग्रह भयो, बहुदलको पक्षमा लागेर २०३६ को मुभमेन्ट पूरा गरेको उनी बताउँछन् ।
‘त्यसपछि २०४२ को सत्याग्रहमा काम गरेँ, जेल गएँ । फेरि २०४६ को जनआन्दोलनको मुभमेन्ट पूरा गरेँ । जेल गएँ, मार खाएँ, हजारौँ पञ्च उपस्थित भएको र्यालीमा कालो झण्डा देखाएँ । २०६२÷०६३ को आन्दोलनमा शुरुदेखि अन्तसम्म काम गरेँ,’ उनी स्मरण गर्छन् ।
यसरी चारवटा ठूल्ठूला आन्दोलनमा पूर्णरूपमा सक्रिय योगदान गरेको ललन भन्छन्, ‘जेल नेल गएँ, मार खाएँ, डन्डा खाएँ, गोली प्रहारबाट जसोतसो बाँचे । प्रजातान्त्रिक आन्दोलनदेखि विभिन्न आन्दोलनकै क्रममा पटक–पटक गरी ५ वर्षभन्दा बढी समय जेल बसेको छु ।’
ललन विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय हुनुका साथै उनी एउटा कुशल खेलाडी पनि थिए । त्यतिबेला नेविसंघ र मण्डले विद्यार्थीबीच खुबै प्रतिस्पर्धा हुन्थ्यो । तर कसैले पनि नसोचेको घटना उनी अहिले पनि स्मरण गर्दै भन्छन्, ‘जब म जुडो च्याम्पियन भएँ, कराँते च्याम्पियन भएँ, टुर्नामेन्टमा जब गोल्ड लिन अगाडि बढेँ तब स्टेडियममा नै नेविसंघ र मण्डलेको फाइट बनाइदियो ।’
सारा दर्शकले हेर्न थाल्यो कि नेविसंघ र मण्डलेको फाइट भएछ भनेर । मैले जिरो प्वाइन्टमा त्यसपछि नक आउट गरें । जब म गोल्ड लिन लागेँ, पुलिस प्रशासन, मण्डले, मन्त्री सबैले मलाई स्टेडियममा नै पिट्न थाल्यो भन्दै उनी सम्झन्छन्, ‘विश्वकै कुनै पनि स्टेडियममा यस्तो घटना भएको थिएन । २०४९ सालमा मैले एसपी अफिसमा नेशनल गेम ल्याउँदा जनकपुरका केही खुँखार गुण्डाहरू जो कि मेयर पनि भएका थिए तिनीहरूले गेमलाई बिथोले तर पनि मैले गेम गराएँ ।’
राजनीतिमा उनीभन्दा धेरै पछाडि आएका, उनले नै सदस्यता दिएका व्यक्ति सांसददेखि मन्त्रीसम्म भइसके । तर कांग्रेसले उनलाई कहिल्यै पनि राजनीतिक लाभ र अवसरको पद भने दिन सकेन । गणतन्त्र आएपश्चात दुईपटक संविधानसभाको निर्वाचन, स्थानीय तहको निर्वाचनदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि उनलाई कांग्रेसले अवसर दिन सकेन ।
कुनै पनि आन्दोलन शुरु हुनै लाग्दा प्रहरी सबैभन्दा पहिले लालन चौधरीलाई नै समात्न उनको घर पुग्ने गर्छ । उनी भन्छन्, ‘प्रहरीलाई थाहा छ, सबैभन्दा अनुशासित आन्दोलनकारी ललन चौधरी नै हो भन्ने कुरा । ललन चौधरीलाई समात्न सकिएन भने एक मिनेटमा नै आन्दोलनलाई कहाँसम्म हाइटमा पुर्याइदिन्छ भन्ने डरले पनि आन्दोलनमा प्रहरीले सबैभन्दा पहिले मलाई नै समात्छ ।’
‘आन्दोलनमा शहादत दिन पनि पछि पर्दैन ललन चौधरी भन्ने कुरा प्रहरीलाई थाहा हुन्छ, त्यसै डरले पनि मलाई समात्छन् । तर शहादत दिने, अमरतत्व प्राप्त गर्ने (शहीद बन्ने) सबैको भाग्यमा हुँदैन,’ उनले लोकान्तरसँग भने ।
आन्दोलनकारी योद्धाका लागि आन्दोलन भएको राम्रो कि नराम्रो ? भन्ने सबालमा उनी भन्छन्, ‘हेर्नुस्, कसैले पनि आन्दोलन होस् भनेर चिताएका हुँदैन । आन्दोलन भनेको बाध्यता हो । मैले यो चिताएको छैन कि आन्दोलन भै राखोस् । आन्दोलन भनेको पर्व होइन । लाठी खाने कसैको शोख होइन । जेल जाने शोख होइन ।’ तर जब लोकतन्त्रमाथि खतरा हुन्छ, राष्ट्रियता, जनअधिकारमाथि खतरा हुन्छ त्यो बेलामा सचेत नागरिकले बाध्य भएर आन्दोलन गर्छ, र त्यस्तो अवस्थामा ललन चौधरी घरमा बस्दैन, सडकमा आन्दोलनको अगुवायी गर्न पछि हट्दैन,’ उनले भने ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...