रहस्यमय जिप दुर्घटनामा निधन भएका मदन–आश्रितको देनको उच्च स्मरण

काठमाडौँ, ३ जेठ - नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको योगदानले अहिलेको कम्युनिस्ट आन्दोलन फस्टाएको भन्दै दुवैजना नेताको देनको अहिले उच्च स्मरण गरिएको छ ।

 वि.सं. २०५० जेठ ३ गते नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परेर भण्डारी र आश्रितको निधन भएको थियो । बिहीबार पर्ने २५औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा कम्युनिस्ट नेता तथा विश्लेषकहरूले दुवैको योगदानलाई सम्झँदै उनीहरूले देखाएको बाटोमा थप उपलब्धिका लागि लाग्नुपर्ने बताएका छन्  । 
विश्वबाट कम्युनिस्ट आन्दोलन शिथिल र खुम्चिँदै गएका बेला नेपालमा कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने विचारकका रूपमा मदन भण्डारी र कुशल सङ्गठकका रूपमा जीवराज आश्रितले भूमिका खेल्नुभएकाले नै आजको कम्युनिस्ट आन्दोलन नेपालमा सबैभन्दा बलियो भएको बुझाइ विश्लेषकहरूको छ । स्मृति दिवसको अवसरलाई माल्यार्पण र भाषणमै सीमित नगरी उनीहरूले देखाएको बाटो तय गर्नु र वैचारिक तथा सैद्धान्तिक पाटोलाई व्यवहारमा उतार्नुले नै दुवैप्रति वास्तविक श्रद्धाञ्जलि हुने विश्लेषकहरूको सुझाव छ । 
एमाले नेता भरतमोहन अधिकारीले  आफूले कम्युनिस्ट आन्दोलनमा ६० वर्ष बिताएको स्मरण गर्दै यस अवधिमा मदन भण्डारीजस्तो विचारक र आश्रितजस्तो कुशल सङ्गठक नदेखेको बताए  । 

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार