कर्नाटकमा बन्यो भाजपाको सरकार, येदियुरप्पाले लिए मुख्यमन्त्रीको शपथ

जेठ ३, २०७५

काठमाडौं, ३ जेठ– भारतको कर्नाटक राज्यमा भारतीय जनता पार्टी (भाजपा) ले सरकार बनाएको छ । सरकार बनेसँगै बिहीबार बिहान कर्नाटक विधानसभाका भाजपा विधायक दलका नेता बीएस येदियुरप्पाले मुख्यमन्त्रीका रुपमा सपथ लिएका छन् ।

प्रष्ट बहुमत नभए पनि भाजपाले ठूलो दलको हैसियतमा सरकार बनाएको हो । २२४ सदस्यीय विधानसभामध्ये २२२ सिटमा भएको निर्वाचनमा भाजपाले १०४ सिट जितेको छ । 

कांग्रेसले ७८ र जनता दल (सेक्युलर) ले ३७ सिटमा जित हासिल गरेको छ । अन्य दल तथा स्वतन्त्रले तीन सिट जितेका छन् । राज्यपालले संवैधानिक अधिकार प्रयोग गर्दै भाजपालाई सरकार बनाउन निमन्त्रणा गरेपछि कांग्रेस र जनता दल (सेक्युलर) आश्चर्यचकित भएका छन् । 

दुवै दलले गएराति सुप्रिम कोर्टमा उजुरी दायर गरेका थिए । मध्यरात मै अदालतमा सुनुवाई भए पनि येदियुरप्पालाई सपथ लिनबाट रोक्ने अन्तरिम आदेश जारी नभएका कारण राज्यपालले बिहीबार बिहानै उनलाई सपथ गराएका छन् । अदालतले शुक्रबार यस सम्बन्धमा सुनुवाई गर्ने भएको छ ।

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस