सशस्त्र युद्धदेखि शान्तिपूर्ण राजनीतिसम्म : २४ वर्षअघि यसरी बनेको थियो माओवादी पार्टी

Photo : AFP / Dailymail
जेठ ३, २०७५

काठमाडौं, ३ जेठ–देशका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र (माओवादी केन्द्र)बीच बिहीवार (आज) पार्टी एकता हुँदैछ । नेपालमा गणतन्त्र स्थापना गर्न भन्दै माओवादीले २०५२ सालमा सशस्त्र जनयुद्ध शुरु गर्नुअगाडि २०५१ सालमा माओवादी पार्टी गठन भएको थियो ।

२०४० साल मंसिरमा निर्मल लामाको नेतृत्वमा नेकपा चौम (चौथो महाधिवेशन) राष्ट्रिय सम्मेलन आयोजक कमिटी गठन भयो । २०४१ फागुनमा सम्मेलन गरी चौमका महामन्त्री निर्मल लामा बने, यो समूह २०४६ सालको जनआन्दोलनमा संयुक्त रूपमा सहभागी भई संघर्षमा होमियो ।


पार्टी विभाजन गरी निर्मल लामाले नेकपा (चौम) गठन गरे पश्चात २०४० कार्तिकमा राष्ट्रिय सम्मेलन भयो र मोहन विक्रम पार्टीको महामन्त्री बने । २०४१ मंसिर १–१६ सम्म पाँचौं महाधिवेशन भयो । महाधिवेशनले मोहन वैद्य (किरण) लाई महामन्त्रीमा निर्वाचित गर्‍यो ।

२०४३ सालमा नेकपा मशालको तर्फबाट काठमाडौंमा प्रहरी बिटमा आक्रमण र पोस्टर टाँस्ने काम भयो, जुन घटनामा पार्टीका धेरै कार्यकर्ता गिरफ्तार परे र पार्टीलाई गम्भीर क्षति पुग्यो । यस घटनालाई सेक्टर काण्ड भनिन्छ । सेक्टर काण्डमा पार्टीको योजना असफल भएपछि मोहन वैद्यले महामन्त्रीबाट राजीनामा दिए । २०४५ सालमा नेकपा मशालको सम्मेलनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित गर्‍यो । साथै दीर्घकालीन जनयुद्धको कार्यदिशा समेत पास गर्‍यो । २०४५ सालयता प्रचण्ड पार्टीको नेतृत्वमा छन् ।

२०४८ सालको संसदीय निर्वाचनमा पार्टीले संयुक्त जनमोर्चा नामको चुनावी मोर्चा निर्माण गर्‍यो । प्रतिनिधि सभामा ९ र राष्ट्रिय सभामा २ जना गरी ११ स्थानमा पार्टी विजयी बनेको थियो । 

२०४९ सालमा वर्ग संघर्षको तयारी गर्ने बारेमा निर्मल लामाहरूसँग व्यापक बहस भयो, तर निर्मल लामाहरूले वैधानिक संघर्षलाई मुख्य माने । जनयुद्धको तयारी गर्ने कुरामा असहमति प्रकट गरे । २०५१ असारमा प्रथम राष्ट्रिय सम्मेलनपछि निर्मल लामाहरू पार्टीबाट अलग भए । त्यसपछि निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोख्रेलहरू मिलेर २०५१ सालमा छुट्टै नेकपा एकता केन्द्र गठन गरे ।

प्रचण्डको नेतृत्वमा २०५१ साल फागुन २–४ मा तेस्रो विस्तारित बैठक बसी नयाँ जनवादी क्रान्तिको राजनीतीक तथा फौजी कार्यदिशा निर्माण भयो र पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी राखियो । २०५२ फागुन १ गते माओवादीले जनयुद्धको शुरुवात गर्‍यो ।

२०५७ माघ–फागुनमा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमार्फत् प्रचण्डपथलाई पार्टीको सिद्धान्त बनाउने निर्णय भयो ।

२०६२ असोजमा चुनवाङ बैठकपछि रणनीति बदल्दै माओवादीले राजतन्त्रविरुद्ध संसदवादी दलहरूसँग १२ बुँदे समझदारी गर्‍यो । २०६३ वैशाख ११ गते संसद पुनस्र्थापना गर्दै जनआन्दोलन सम्पन्न भएपछि माओवादी शान्ति प्रक्रियामा आयो ।

२०६४ भाद्रमा काठमाडौंको बालाजुमा पाँचौं विस्तारित बैठक सम्पन्न भयो । २०६४ साल चैत्र २८ गते सम्पन्न संविधानसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ स्पष्ट बहुमत हासिल गर्‍यो । २०६५ श्रावण ३२ गते संसदबाट प्रचण्ड पहिलो पटक प्रधानमनत्री निर्वाचित भए ।

२०६५ पौष २९ गते माओवादीसंँग २०५१ सालमा छुट्टिएको नारायणकाजी समूहबीच पार्टी एकता हुन पुग्यो । एकतापश्चात पार्टीको नाम एकीकृत नेकपा माओवादी राखियो ।

२०६९ असारमा एकीकृत माओवादीबाट मोहन वैद्यको नेतृत्वमा एक समूह अलग भई नेकपा–माओवादी गठन भयो । २०६९ माघमा भएको सातौं महाधिवेशनले प्रचण्डलाई पुन अध्यक्षमा निर्वाचित गर्‍यो ।

२०७० मंसीर ४ मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा माओवादीलाई झड्का लाग्यो । संविधान घोषणासँगै माओवादीको फूटको श्रृंखला जारी रह्यो ।

०७२ साल असोजमा  उपाध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी छाडेर नयाँ शक्ति पार्टी गठन गरे । २०७४ सालमा प्रतिनिधि सभाको चुनाव हुनुपूर्व मोहन वैद्य समूहबाट रामबहादुर थापा लगायतका नेताहरु पुनः मूलधारमै फर्किए । त्यसपछि एकिकृत पार्टीको नाम माओवादी केन्द्र राखियो ।

स्थानीय चुनावमा कतिपय स्थानमा कांग्रेससँग चुनावी तालमेल गरेको माओवादी त्यति राम्रो परिणाम निकाल्न सकेन । 

प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा माओवादीले गठबन्धन गर्दै पार्टी एकता गर्ने सहमति गरे ।  त्यसपछिका विभिन्न छलफल र वार्तालाई अन्तिम रूप दिँदै माओवादी केन्द्र र नेकपा एमाले पार्टी एकता गर्न सहमत भएका छन् । २४ वर्षपछि बिहीवारदेखि माओवादी केन्द्र एमालेसँग मिलेर नयाँ पार्टी बन्दैछ ।

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस