प्रचण्डलाई भावुक बनाउने अन्तिम पत्र

जेठ ६, २०७५

प्रिय कमरेड प्रचण्ड, अभिवादन !

निकै व्यस्त हुनुहुन्छ । त्यसैले यो पत्र पढ्नुहुनेछ भन्ने त्यति धेरै बिश्वास छैन मलाई किनभने यो कुनै माओका छोराले स्टालिनलाई लेखेको पत्र हैन । महान् विचारक फिडेल क्यास्ट्रोलाई, कमरेड चे ग्वेभाराले लेखको बिदाइपत्र हैन यो । सोभियत संघ र फासिस्ट जर्मनीको विषयमा पनि हैन । सामान्य नेपाली नागरिकको हैसियतमा कोरेको पत्रलाई इतिहासले मूल्याङ्कन गर्ने कुरा आएन ।


ADVERTISEMENT

प्रचण्डज्यू, सर्वप्रथम कम्युनिस्ट आन्दोलनका टुटेका, खण्डित र षड्यन्त्रकारी लामा अनुभवहरूको बीचमा उभिएर देशको सबैभन्दा ठूलो ’नेपाल कम्युनिष्ट पार्टीको’ निर्माण गर्नुभयो, तपाईंलाई धैरै धैरै बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । तर यो गौरवशाली दिनमा केवल मदन भण्डारी र जीवराज आश्रितको शालिकलाई माल्यार्पण गरेर पुग्दैन । प्रथम शहीद त दिलबहादुर रम्तेल हुन् । उनलाई किन बिर्सेको ?

अर्को कुरा, सधैं त कम्युनिस्ट पार्टीको कार्यक्रमको ब्यानरमा मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको फोटो देखिन्थ्यो । चेतनाशून्य आयोजक रहेछन् भने पनि तिनले पुष्पलाल र प्रचण्डका फोटा राख्ने गर्थे । तर प्रचण्डज्यू, एमालेसँगको पार्टी एकतामा यी फोटाहरू किन एकाएक अपहरणमा परे ? केही दिनअगाडि ब्यानरकै विषयमा लफडा गर्ने युवाहरू राजावादी त बनेनन् ?

विमानले समाजवादको राडारमा सम्पर्क स्थापित गरिसक्यो भन्ने हल्ला सुनिन्छ । र एयरहोस्टेसहरू बडो हँसिलो मुद्रामा नितम्ब हल्लाइरहेका छन्

प्रचण्डज्यू, पार्टी एकताको ६ बुँदे घोषणापत्रको ४ नं. बुँदालाई अध्ययन गर्‍यो भने त्यहाँ स्पष्ट रूपमा उल्लयेख गरिएको छ, ’हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ । जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र सामूहिक नेतृत्व एवं व्यक्तिगत उत्तरदायित्वको आधारमा पार्टी निर्माण र सञ्चालन हुनेछ ।’ यसकारण ब्यानरमा लेनिनका तस्बिर हुनुपर्थ्यो भन्ने लाग्छ ।

जे होस् अब देश, कम्युनिस्ट भर्सेज प्रजातान्त्रिक भएको छ । मौसम सफा छ । भिजिबिलिटी भनेको के हो थाहा त छैन तर पूरापुर विश्वास छ कि त्यो पनि राम्रै छ । कम्पासहरूले ठीक ठीक दिशाको संकेत गरिरहेका छन् । विमानले समाजवादको राडारमा सम्पर्क स्थापित गरिसक्यो भन्ने हल्ला सुनिन्छ । र एयरहोस्टेसहरू बडो हँसिलो मुद्रामा नितम्ब हल्लाइरहेका छन् । 

प्रचण्डज्यू, अन्यथा नलिनु होला, मैले घुमाउरो तरिकाले सटायर हान्न खोजेको हैन । सीधै कुरा हो यो । म यो एमालेसँगको पार्टी एकताको सुनौलो खबर गाईगोठहरूमा पुर्‍याउन चाहन्छु । भेडीगोठहरूमा पुर्‍याउन चाहन्छु । चौरीखर्कहरूमा पुर्‍याउन चाहन्छु । टुहुराटुहुरी नानीबाबुहरू, विधवा दिदीबहिनीहरूको कानसम्म पुर्‍याउन चाहन्छु ताकि यो खुशीको उन्माद सहन नसकेर तिनले पनि रात्रिभोज गर्न सकून् ।

प्रचण्डज्यू, पृथ्वीबाट डाइनोसर हराएको लाखौं वर्ष भएको छ । तर आजको मितिसम्म वैज्ञानिकहरूले डाइनोसरको उत्पत्ति, विकासक्रम र लोपबारे अध्ययन अनुसन्धान गरिरहेकै छन् । यो भूमिबाट माओवादी हराएको जम्मा चार दिन त पुगेको छ । त्यसैले माओवादी डाइनोसर हुन सक्दैन । माओवादीका अवशेषहरू घाइतेका शरीरमा घाउ बनेर बल्झिरहेका छन् । कृपया यो नाथेले घाइतेको कुरा ग–यो भनेर नरिसाउनुहोला ।

पार्टी एकता बहुमतीय सत्ता व्यवस्थापनको लागि हतियार मात्रै नबनोस् । सारा बुद्धिजीवीहरूलाई संकीर्ण तबरले होच्याउने, आफू उभिएको धर्तीबाहेक अर्को संसार नै छैन भन्ने जस्तो जुन किसिमको डरलाग्दो ‘ओलीजम्’ देखापरेको छ, त्यसको अन्त्य होस्

मलाई विश्वास छ, अब जनयुद्धका बेपत्ताहरू खोज्ने काम नेपाल कम्युनिष्ट पार्टीको हुनेछ । केपी ओलीज्यूले कुनै समयमा भएको जनयुद्धको विरोधमा कुनै तीखा वाण प्रहार गर्नुहुने छैन । समीकरणमा सत्ता स्वार्थ गाँसिएको हुन्छ, यो त एकता भयो । सस्तो समीकरण हैन । नौ महिने सरकार गिराउने र निर्माण गर्ने जुन किसिमको जनविरोधी, विकासविरोधी हर्कतहरू हुँदै आएका थिए, ती समस्या हल हुनेछन् । 

तपाईंको टाउकोको मूल्य तोक्नेहरूको दयामायाका कारण तपाईं प्रधानमन्त्री बन्नुभएको थिएन । विगत तीन दशकयता नेपालको शक्तिकेन्द्र तपार्इंकै हातमा छ । त्यसैले यो एकतालाई कसरी घनीभूत रूपमा अगाडि बढाउने, सामूहिक समृद्धिको लक्ष्यमा पुग्ने भन्नेबारेको सबैभन्दा ठूलो जिम्मेवारी तथा भूमिका हजुरको नै हो । र यो भूमिका कुनै राजामहाराजाको हुकुमी प्रमाङ्गीले पाएको हैन । त्यसैले जनताको बलमा उठेको यो गौरवपूर्ण विरासत पानीट्याङ्कीमा पैसा लुकाएको जस्तो नहोस् ।

प्रचण्डज्यू, शासकको लोकप्रियता फूलमाला र अभिनन्दनबाट मापन हुँदैन । त्यस्तो किसिमको अभिनन्दनका शृङ्खला तत्कालीन राजाले चलाउँदा हामीले ‘चिडियाखानाको जनावर कस्तो छ, केवल हेर्न गएको’ भनेर जनताको उपस्थितिलाई कमजोर पारेका थियौं । आजकल हजुरको घाँटीमा फूलमाला र खादाहरू काँधले थाम्नै नसक्ने देखिन्छन् । फूलमाला र खादाहरूले तपाईंको सहयात्री ओलीको काँध पनि खच्चडको जस्तो भइसक्यो । मलाई विश्वास छ, तपाईंहरू चिडियाखानाको जनावर हुनुहुने छैन ।

पार्टी एकता बहुमतीय सत्ता व्यवस्थापनको लागि हतियार मात्रै नबनोस् । सारा बुद्धिजीवीहरूलाई संकीर्ण तबरले होच्याउने, आफू उभिएको धर्तीबाहेक अर्को संसार नै छैन भन्ने जस्तो जुन किसिमको डरलाग्दो ‘ओलीजम्’ देखापरेको छ, त्यसको अन्त्य होस् । सामन्ती, दलाल र पूँजीपतिहरूले आज शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता जनताका आधारभूत अधिकारहरूलाई व्यापारीकरण गरेका छन्, त्यो जनविरोधी लुटको आमूल अन्त्य होस् ।

प्रचण्डज्यू, युद्ध र शान्ति प्रक्रियाको सफल प्रयोग हजुरकै नेतृत्वमा सम्पन्न भएको कारण अब समृद्धि र विकासको परिकल्पना समेत हजुरकै नेतृत्वमा हुनुपर्छ । तपाईं कुनै वंशीय गोत्रको नेता हैन । यो ग्रामीण जनभावनाले नेपालको माटोमा जन्माएको हजुर केवल आम मान्छे नभएर संस्था हो । ख्याल गर्नुहोला कि केवल पार्टीको नाम, नेतृत्वहरू, भूमिका, विचार अनि मार्गदर्शक सिद्धान्त फेरिएर मात्रै देश बन्ने हैन । जनताको गरीबी, भोकमरी, अभाव जस्ता दुःखका पहाडहरू फेरिनु आवश्यक छ ।

तपाईंका क्रान्तिकारी अनुहारबाट एकाएक आक्रोश हराएको छ । त्यो मुखारविन्दबाट सामन्तवादी, प्रतिक्रियावादी, विस्तारवादी, दक्षिणपन्थी जस्ता शब्दहरू ननिस्केको धेरै भयो । जनताको महान् सपना अपहरणमा परे जस्तो भएको छ

आम जनतालाई समाजवादसँग सरोकार छैन । तिनीहरूले अस्पतालमा सुलभ रूपमा उपचार गर्न पाऊन् । सामान्य रोगको उपचार गर्न नसकेर अस्पतालकै झ्यालबाट हाम्फालेर आत्महत्या गर्न नपरोस् । जनतालाई मार्क्सवादसँग नि खासै सरोकार छैन । यहाँ दुई किसिमको शिक्षानीति नहोस्, जसले दुईखालका नागरिक उत्पादन गरिरहेका छन् । हामीले परिकल्पना गरेको समावेशी नेपाल हो, जहाँ वर्ग र जातको विभेद नहोस् ।

प्रचण्डज्यू, यो पत्र कुनै दर्शन, आदर्श छाँट्न लेखेको हैन । त्यसका लागि त गोपाल किराँती, आहुती र लोकेन्द्र बिष्टहरू नै काफी छन् । अब हजुर नै मार्क्सवाद, हजुर नै जनवाद, हजुर नै लेनिनवाद, हजुर नै समाजवाद । हजुरको नामको उच्चारण विनाको राजनीतिक बहस केवल समयको बर्बादी हुन्छ ।  हजुरको नामसँग माओवाद जोडिएन भने पनि बर्बाद हुन्छ । यो एकता अलिकति बर्बादी पनि हो कि भन्ने लाग्छ ।  

प्रचण्डज्यू, विमान त उडाउँदै हुनुहुन्छ । तपाईं सिनियर पाइलट हो । मौसमका बारेमा कोपाइलटले राम्रोसँग तालिम लिएका छैनन् । ती नक्कली पाइलट हुन् । ती पानीजहाजका पाइलट हुन् । हुन त विमानकै पाइलट नै भएर पनि के गर्ने ? चिनियाँ कम्पनीका विमानहरू घुँडा टेकेर आराम गरिरहेछन् आँगनमा । मानौं ती बडा थकित थिए र सुत्न यहाँ आए । तर तपाईंले उडाएको विमान सिंगल इन्जिनको नहोस् । 

कमरेड प्रचण्डज्यू, तपार्इं महान् हुनुहुन्छ । नेपाली माटोमा चेतना र क्रान्तिको बिउ छर्ने तपाईं हेपिएका अनि दबिएका आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम, थारूको मगजलाई राजनीति र स्वाभाविक जातिगत विशेषतालाई फ्युजन गरिदिने महान् नेता हुनुहुन्छ । प्रचण्डपथका निम्ति तिनले भौतिक, अभौतिक सबै कुरा सुम्पे । तर यो कम्युनिस्ट पार्टी ‘बाहुनवाद’ को हुलिया बोकेर आयो भन्छन् । यो खेदजनक छ ।

आदिवासी जनजातिहरूको अधिकारको सवालमा तपाईंका स्वरहरू किन विलीन हुन पुगे, पीडाको कुरा छ । तपाईं नै पहिचानको जननी हुनुहुन्छ । तपाईंका क्रान्तिकारी अनुहारबाट एकाएक आक्रोश हराएको छ । त्यो मुखारविन्दबाट सामन्तवादी, प्रतिक्रियावादी, विस्तारवादी, दक्षिणपन्थी जस्ता शब्दहरू ननिस्केको धेरै भयो । जनताको महान् सपना अपहरणमा परे जस्तो भएको छ । केही गुमे जस्तो, केही हराए जस्तो भएको छ ।

पुत्र प्रकाश दाहालको निधन हुँदा तपाईंले रुने अवसरसम्म पाउनुभएन । यसर्थ, एउटा महान् चिन्तन, पथप्रदर्शक र जस्तोसुकै कठिन संकटमा समेत विचलित नहुने आदर्श पुरुषको रूपमा उभिनुभएको छ

प्रचण्डज्यू, अब अलिकति निजी कुरा गरौं । तपाईं प्रधानमन्त्री हुँदा र नहुँदा समयक्रमसँगै दर्जनौंपटक भेट्ने, कुरा गर्ने अवसर पाएको थिएँ । अन्तिमपटक तपाईंलाई लाजिम्पाटको उदास बैठक कोठामा सहानुभूतिका शब्दसँगै भेटेको थिएँ । त्यसअघि आर्यघाटको किनारमा देखेको थिएँ जहाँ गहभरि आँसु छचल्काउँदै हुनुहुन्थ्यो । यतिका पीरव्यथाका बाबजुद राजनीतिमा जुन चलायमान सक्रियता देखाउनुभएको छ, जसको चर्चा गर्न शब्दकोश नै छैनन् । 

एउटा महान् बाबा, जो मुटुको टुक्रासमानको पुत्रवियोगको पीडा सहन नसकेर बेहोश भएन । अस्पतालमा भर्ना भई ग्लुकोज चढाएर सुतेन । बरू राजनीतिक कर्ममा निरन्तर लागिरह्यो । पुत्र प्रकाश दाहालको निधन हुँदा तपाईंले रुने अवसरसम्म पाउनुभएन । यसर्थ, एउटा महान् चिन्तन, पथप्रदर्शक र जस्तोसुकै कठिन संकटमा समेत विचलित नहुने आदर्श पुरुषको रूपमा उभिनुभएको छ ।

त्यस्तो कुनै एकान्त ठाउँ थिएन जहाँ तपाईंलाई रुन सहज होस् । युद्ध र आन्दोलनका क्रममा अरूका छोराछोरी निधन हुँदा जुन किसिमको प्रगतिवादी राजनीतिक व्याख्या गर्नुहुन्थ्यो, सोही अनुरूप आफ्नो छोराको निधनमा धारणा व्यक्त गर्नुभयो । यो किसिमको महानताले जनताको सन्तान र नेताको सन्तान समान हैसियतका हुन्छन् भन्ने कुराको पुष्टि भयो । 

खुशीमा पनि, दुःखमा पनि प्रचण्ड नेपाली जनताको भरोसाको एकमात्र नाम भएको छ । आजको मितिमा देशको बलियो अभिभावक तपाईं नै हो । यो कुनै एक पार्टीको कुरा भन्दा पनि हरेक नेपालीले सोच्नुपर्ने विषय हो । राष्ट्रले समयमै अभिभावक चिन्न नसक्दा ठूलाठूला क्षति बेहोर्नुपरेका उदारहणहरू छन् । विश्वास छ, छरिएर रहेका ससाना कम्युनिस्ट घटकहरूलाई समेत एकता प्रक्रियामा ल्याउनुहुनेछ । 

तपाईंले नेतृत्व गर्नुभएको जनयुद्ध र समर्थन गर्नुभएको जनआन्दोलनले धेरै क्षेत्रमा कायापलट गरायो । नेपाली माटोमा जरा गाडेर बसेको राजसंस्था माटोमै मिल्यो । समावेशी, समानुपातिकता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता जनताका मौलिक हक, अधिकारहरू स्थापित भए । तर जनजीविकाको सवालमा खासै परिवर्तन हुनसकेन । युवाहरू पलायन हुने क्रम झन् बढेको छ । यो भयावह अवस्थामा सुधार आएन भने कागजी गणतन्त्रप्रति जनतालाई के मतलब ? 

उही तपाईंको भलो चाहने मनुष्य ।
 

जेठ ६, २०७५ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस