'बोल माया...'ले उघारेको यथार्थ

धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा, 
कस्तो भई गयौ कस्तो भई आयौ काठैको बाकसमा ।।

नेपाली लोकदोहोरीका धेरै गीतमा स्वर भरेकी गायीका शान्ति श्री परियारले जब यी शब्दहरूमा भाका हाल्छिन्, तब मन गाँठो पर्न थाल्छ । कोमल हृदयका लागि सहनै नसक्ने चोट बनिदिन्छ । यो गीत पूरा सुनी र हेरिनसक्दै अनायासै आँसु आफैँ टिलपिलाउन थाल्छन् ।

भर्खरै बजारमा आएको ‘बोल माया...’ गीतले वैदेशिक रोजगारीमा जादाँ ज्यान गुमाउने नेपाली र उनका परिवारले भोग्ने पीडाको कथा व्यथालाई जस्ताको तस्तै उनेको छ । आफ्नो प्राण प्रिय मान्छेलाई बोल माया भन्दै कयौं पटक पुकारिररहँदा शब्द निरर्थक बनेर फिक्का भएको छ । गुमाइको चित्कार र रोदनले श्रीमतीको गला अवरुद्ध भएको छ भने समग्र परिवारको जिन्दगी श्यामश्वेत बनेको छ ।

घरसम्म लास जीपको छतमा डाँडापाखा छिचोल्दै आइपुग्छ । कफिनमा भौतिक शरीर चिर निद्रामा लीन हुन्छ । गाँउमा सदगद गर्न ल्याइएको भौतिक शरीरसँगै परदेशी र घरदेशीले देखेका सपना पनि मृत बनेर चुनौतिको ठूलो पहाड बनिदिन्छन् । भेला भएका गाँउलेका आँसु भेलले आँखाका डिललाई पार गर्न थाल्छन् । गाँउको वातावरण एकाएक धुमिल हुन थाल्छ । सन्नाटा छाउँछ । परिवारको सदस्य वैदेशिक रोजगारमा गुमाउँदा घरगाउँको परिवेश यस्तै छ ।

‘एक वचन बोल...’ भन्दै अनुनय विनय भावमा जब अञ्जली अधिकारी कफिन समात्दै भक्कानिन थाल्छिन्, तब गाउँले बगेका आँसु सम्हाल्नै सक्दैनन् । हेर्ने मान्छेका ज्यान त्यसैगरी सिरिगैं हुन्छन् ।

वैदेशिक रोजगारी सुरक्षित र नेपालीमैत्री बनाउन सकेनौं । यदि यथार्थ यसभन्दा टाढा भए विदेश जाने दाजुभाइहरू भेटिँदा पीडा र आक्रोशका खेस्रामात्रै किन पल्टाउँथे । प्रकाश सपूतजस्ता कलाकारले मनलाई कसरी उथलपुथल पार्ने गरी दुःखान्त सिर्जना कोर्थे !

आफ्ना र घर परिवारका सपना फूलाउन धेरै नेपाली देश छाडेर परदेश लाग्छन् । कतिले सपनालाई विपनाको रूपमा अनुभूत गर्न पाउँछन्, त कतिले आफूसँगै खरानी बनाउन बाध्य हुन्छन् । हो यही यथार्थतालाई सर्जक प्रकाश सपूतले बोल मायामार्फत आम नेपाली नियतीको पर्दापण गर्न सफल भएका छन् ।

परिवारमा रम्ने, सँगै बस्ने इच्छालाई जब अभावले थिच्न थाल्छ, दुःखको विजारोपण त्यहीँबाट शुरु  हुन्छ । यो दुःखले क्षणिक भएर व्यक्तिलाई मात्रै पीडामा घुलाउँदैन यसले त परिवार, समाज तथा देशलाई नै वर्षौवर्षसम्म क्षतिको गह्रौं भारी बोकाउँछ ।

सानो तर प्राकृतिकरूपले भरिपूर्ण मुलुक, नेपाल । यसैमा गर्व गरेर बसिरहन विवश बन्यौं तमाम हामी  नेपाली । सम्भावना र अवसरका मूल फुटाउने भनेर हामी सबैले ओकलिरह्यौं । गरिबीको चक्रमा जेलिइरहेकाहरूलाई आश्वासन बाँड्न कहिल्यै पछि परेनौं । आर्थिक स्थिति मजबुत हुनेहरूले त्यहीअनुसारको शब्दका आदर्श भाव फ्याकिरह्यौं ।

विदेशमा जान खोज्नेलाई स्वदेशमै सफल बनिन्छ भनेर भाषण र प्रशिक्षित पनि गर्‍यो । सम्झाउन खोज्यौं तर अहँ, वास्तविक अभावमा रहेर विदेशको कठिन श्रममा जानेहरूका लागि भने उपयुक्त विकल्प दिन सकेनौं । बरु उनीहरूलाई स्वदेशप्रति विकर्षित बनाउन तम्सियौं । उनीहरूका दुःख र पीडामा कतै रमिते बनेर लोकका निर्जीव त बनेनौं ?

यो वास्तविक पीडा आज आमनेपालीले भोगिरहेकै छन् । अझै पनि यसैबाट कति प्रताडित बनिरहनुपर्ने हो । कति चाहना र इच्छामा दोब्रिँदै आफन्तलाई कफिनको बाकसमा लिन एयरपोर्ट धाइरहनुपर्ने हो ।

आरोप सबैका लागि होइन तर नगर्ने र गर्न नचाहनेहरूका लागि भने अवश्य हो । यदि यथार्थ यसभन्दा टाढा भए विदेश जाने दाजुभाइहरू भेटिदाँ पीडा र आक्रोशका खेस्रामात्रै किन पल्टाउँथे । प्रकाश सपूतजस्ता कलाकारले मनलाई कसरी उथलपुथल पार्नेगरी दुखान्त सिर्जना कार्थे !

वैदेशिक रोजगारीमा जानेहरूका लागि उचित सम्बोधनमा ढिला त जरुर भइसकेको छ । अहिले नै यी यावत् पक्षलाई समेट्न चुक्यौं भने भोलिको अवस्था झनै भयावह बन्ने निश्चितै देखिन्छ । सबै वैदेशिक रोजगारीमा रहेकाहरूलाई स्वदेशमै फर्काउन सम्भव पनि नहोला, तर पनि कम्तिमा ज्यान बचाउन केही त गर्न सकिन्छ ।

सुरक्षित रोजगार, सीपयुक्त तालिम, उचित पारिश्रमिक र अन्य धेरै । अब त कति पर्खनु ! सीमाको पनि त अन्त्य हुन्छ । निश्चित दायरा हुन्छ । प्रश्नको आकार ठूलो छ । सम्बन्धित निकाय र सरोकारवाला गम्भीर बन्नैपर्छ ।
दिनानुदिन सरदर ३/४ जना वैदेशिक रोजगारीमा हुनेहरूले धर्ती छाडिरहँदा नेपाल आमाले कति चित्कार छोड्नु । कति दुःख र पीडालाई लिएर जिन्दगीको सफरमा हिँडिरहनु ।

पेटमा हुर्किरहेको सन्तानले अभिभावक चिन्न नपाउने, कपाल फुलेर बयोवृद्ध बनेका बुबाआमाले आँखैअगाडि आफ्ना सन्तान ढलेको देख्नुपर्ने, श्रीमतीको सिउँदो कलिलै उमेरमा पुछिने यो भन्दा पीडाको कुन रूप हुन्छ होला ! तर यो वास्तविक पीडा आज आम नेपालीले भोगिरहेकै छन् । अझै पनि यसैबाट कति प्रताडित बनिरहनुपर्ने हो । कति चाहना र इच्छामा दोब्रिँदै आफन्तलाई कफिनको बाकसमा लिन एयरपोर्ट धाइरहनुपर्ने हो ।

यस्तो छ गीत :

जेठ १२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस