टाउको गिँडिएको सर्पले टोकेर घाइते भए व्यक्ति

काठमाडौं, २५ जेठ – अमेरिकाको टेक्सासमा एक व्यक्तिलाई टाउको गिँडिएको एक सर्पले टोकेको घटना सार्वजनिक भएको छ । 

साँपको विषलाई असरहीन बनाउने औषधिको २६ डोज व्यक्तिलाई दिनुपरेको थियो । 

जेनिफर सटक्लिफले स्थानीय सञ्चारमाध्यमलाई बताएअनससार, उनका पति बगैंचामा काम गरिरहँदा उनले चार फीट लामो विषालु –याटलस्नेक देखे । 

उनले साँपलाई मार्नका लागि त्यसको टाउको गिँडिदिए । मरेको साँपलाई फ्याँक्न जाँदा त्यसको काटिएको टाउकोले उनलाई टोकिदियो । 

यो साँप मरेको कैयौं घन्टासम्म त्यसको टाउको बाँचिरहन्छ र टोक्न सक्छ । 

सर्पले टोक्नेबित्तिकै पतिलाई विष लागेको जेनिफरले बताइन् । त्यसपछि कोर्पस क्रिस्टीस्थित उनको घरबाट एयरलिफ्ट गरेर उनलाई अस्पताल पु–याइयो । 

एक हप्ता अस्पतालमा बसेपछि उनी खतरामुक्त भएका छन् । तर उनलाई मिर्गौलामा अलिकति समस्या छ । 

एरिजोना विश्वविद्यालयकी डा लेस्ली बायर साँपलाई मार्नु, अझ त्यसको टाउको काट्नु सही नभएको बताउँछिन् । 

उनी भन्छिन्, ‘सर्पको टाउको गिँड्नु उसमाथिको क्रूरता हो । अनि यो खतरनाक पनि हुन सक्छ किनकि सर्पको काटिएको टुक्रा उठाउँदा तपाईं उसको विषको सम्पर्कमा आउनुहुन्छ ।’

एजेन्सी
 

जेठ २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस