संवैधानिक परिषद् बैठक : कामु प्रन्या जोशी प्रधानन्यायाधीशमा सिफारिश

जेठ २९, २०७५

काठमाडौं, २९ जेठ–संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको परिषद् बैठकले जोशीको नाम अनुमोदनका लागि संसदीय सुनुवाइ विशेष समितिमा सिफारिश गरेको कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।


ADVERTISEMENT

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्तिको सिफारिश पनि छिट्टै गरिने बताए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र कानूनमन्त्री शेरबहादुर तामाङ सहभागी थिए ।

यसअघि न्यायपरिषद्को बैठकले जोशीसहित तीन जनाको नाम संवैधानिक परिषद्मा पठाएको थियो । संसदमा संसदीय सुनुवाइ समिति गठन हुन नसक्दा परिषद्ले प्रधानन्यायाधीश सिफारिश गर्न सकेको थिएन ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त नियमावलीले सुनुवाइ समितिसम्बन्धी व्यवस्था गर्नेछ । समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिसभाबाट ३ सदस्य रहने प्रस्ताव गरिएको छ ।

संसदीय सुनुवाइपछि राष्ट्रपतिलाई प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्नेछ । चैत १ गतेदेखि सर्वोच्च कामु प्र्रधानन्यायाधीशको भरमा चल्दै आएको छ ।

तस्वीर : डिल्ली मल्ल

यो पनि पढ्नुहोस् :

प्रधानन्यायाधीशमा जोशी र अख्तियार प्रमुखमा घिमिरेको नियुक्ति पक्का

जेठ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस