जनप्रतिनिधिले घर भत्काउन खोजेपछि स्थानीयद्वारा इँटा प्रहार

जेठ ३०, २०७५

विराटनगर २९ जेठ – विगत केही दिनदेखि रंगेली नगरपालिकाको काममा विवाद उत्पन्न हुन थालेको छ ।

रंगेली नगरपालिकाले नगरवासीको गुनासोमा ध्यानै नदिई विकासको काम गर्दा अहिले थप समस्या देखिँदै जान थालेको छ । रंगेली नगरपालिकाले सडकको चौडाइ बढाउने विषयमा पटक–पटक सूचना टाँस गर्दै आएको भएपनि स्थानीयलाई सूचना पटक्कै चित बुझेको थिएन । नगरपालिकाले बारम्बार सूचना टाँस गरेर सडकमा पर्ने घर भत्काउने जानकारी गराउँदै आएको थियो । तर, स्थानीयले अटेर गरेपछि रंगेली नगरपालिकाले गैरकानूनी रुपमा बनाइएका घरटहरा भत्काउने निर्णय गरेको थियो ।

५ नम्बर वडाका वडाध्यक्षले आफूलाई भोट नहाल्ने सर्वसाधारणको घर भत्काएको समाचार आइरहेको बेला ७ नम्बर वडामा भने घर भत्काउन गएका वडाध्यक्ष सहितको टोलीलाई स्थानीयले इँटा प्रहार गरेका छन् । रंगेली नगरपालिकाको ७ नम्बर वडाका वडाध्यक्ष रामचन्द्र मण्डलसहित पुगेको प्रहरी टोलीमाथि स्थानीय चन्दन दासले इँटा प्रहार गरेका हुन् । उनले आफ्नो घरको छतबाट इँटा प्रहार गर्दै डोजरले घर भत्काउँदै गरेको अवस्थामा वडाध्यक्षसहित प्रहरीलाई लखेट्ने प्रयास गरेका थिए ।

वडाध्यक्षसहित प्रहरी, डोजर चलाउने चालकलाई समेत घरको छतबाट जथाभावी इँटा प्रहार गरेका थिए । घर भत्काउने क्रममा प्रतिकार गर्दा बेटी चौधरीले हानेको इँटाले लागेर अध्यक्ष मण्डलको दाहिने हातमा चोट लागेको छ । स्थानीयले प्रहार गरेको इँटाले डोजरको सिसा समेत फुटेको छ । ७ नम्बर वडाको तित्रीटोलमा १ सय २५ मिटर लम्बाइ सडक निर्माणको काम भइरहेको छ भने २६ फिट चौडाइ सडक विस्तार गर्न नगरपालिकाले काम शुरू गरेको छ ।

नगरपालिकाले पहिलो चरणमा पक्की नाला निर्माण गर्न करिब ८ लाख रुपैयाँ बजेट छुट्याएको वडा अध्यक्ष मण्डलले बताए । इँटा प्रहार गर्ने चौधरीलाई ईलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कविन्द्र कार्कीले जानकारी दिए ।

जेठ ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस