काठ तस्करीको अभियोग लागेका डीएसपी निलम्बित

काठमाडौं, ३१ जेठ–सशस्त्र प्रहरी बलको गाडी प्रयोग गरी काठ तस्करी गरेको अभियोगमा सशस्त्रका एक जना नायब उपरीक्षक (डीएसपी) र तीन जना जवान निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा सशस्त्र प्रहरी बल नेपाल अरुण गुल्म चैनपुर संखुवासभाका प्रमुख रामप्रसाद भण्डारी र जवान विनोद कट्टेल, मिलनकुमार राई तथा सो गाडीका चालक सशस्त्र प्रहरी जवान दीपेन्द्रकुमार कर्माकार रहेका छन् ।
डीएसपी भण्डारीलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयको सिफारिसमा बुधबार साँझ गृह मन्त्रालयले निलम्बन गरेको हो । यसैगरी तीनै जवानलाई सशस्त्र मुख्यालयले निलम्बन गरेको हो ।

उनीहरूले गत २१ जेठमा सो गुल्मको बा१ग १६६९ नम्बरको ट्रकमा अवैध रूपमा काठ राखेर धरानतर्फ लैजान लागेको अवस्थामा धनकुटा जिल्लाको मूलघाट भन्ने ठाउँमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस मूलघाट धनकुटाको टोलीले नियन्त्रणमा लिएको थियो ।
सो घटनालाई लिएर पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बराह वाहिनी पकलीबाट सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० गुणाखर खनालको अध्यक्षतामा छानबिन समिति गठन गरिएको थियो ।  राजधानी दैनिकमा खबर छापिएको छ । 

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस