निराशाजनक रोपाइँ : चामलको परनिर्भरता बढ्न सक्ने

असार २८, २०७५

काठमाडौं – असार महिना सकिनलाग्दा समेत उत्साहजनक रुपमा रोपाइँ हुन नसक्दा आगामी वर्ष पनि चामलको परनिर्भरता बढ्ने देखिएको छ । 

असार २८ गतेसम्म आइपुग्दा अझैं १ करोड ७६ लाख ११ हजार ९ सय ६ रोपनी जग्गामा रोपाइँ हुन सकेको छैन । पर्याप्त जमीनमा सिँचाइ सुविधा नपुगेकाले अधिकांश किसान धान रोप्न आकासे पानीको पर्खाइमा हुन्छन् । नेपालमा धान रोपाइँ वर्षमा २ पटक हुन्छ । चैतमा चैते धान र असारमा वर्षे धान ।


असारमा धान रोपाइँका लागि ३ करोड १० लाख ४९ हजार ३ सय ८० रोपनी जग्गा प्रयोग हुने गरेको छ । खेतीपातीका लागि ६ करोड १८ लाख २० हजार रोपनी जमीन प्रयोग भएको छ । प्रयोग भएका जमीनमध्ये ५० प्रतिशत जमीनमा धान रोपाइँ गर्न सकिन्छ भने खेती गर्न सकिने २ करोड ६० लाख रोपनी जमीन बाँझै छ ।

कूल खेतीयोग्य जमीन ८ करोड २४ लाख २० हजार रोपनी छ । खेती गर्न सकिने जमीनमध्ये असार २५ सम्ममा १६ प्रतिशत जमीनमा मात्र धान रोपाइँ भएको छ । यद्यपि, धान लगाउन योग्य जमीनको भने ४३ दशमलव २८ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ । ‘अहिलेसम्म ५६ दशमलव ७ प्रतिशत जमीनमा धान रोपाइँ हुन सकेको छैन,’ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सह–प्रवक्ता शंकर सापकोटाले भने । 

हिमालपारिका २ जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ । पूर्वाञ्चलमा सबैभन्दा बढी धान उत्पादन हुने गरेको छ । झापा सबैभन्दा धेरै धान उत्पादन गर्ने जिल्ला हो । पूर्वमा ८९ लाख १८ हजार ७ सय ६० रोपनी जमीनमा धान रोपाइँ गर्न सकिन्छ । तर, त्यहाँ जम्मा २२ लाख ७५ हजार १७५ रोपनीमा मात्र धान रोपाइँ भएको छ ।

अझै ६६ लाख ४३ हजार ५०५ रोपनी जमीनमा धान रोपाइँ हुन सकेको छैन । पूर्वका झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरीमा जम्मा २१ दशमलव ०७९ प्रतिशतमा रोपाइँ भएको छ । 

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा समग्र कृषि क्षेत्रको उत्पादनमा बढोत्तरी हुन्छ । ‘नेपालीको भातखाने बानीका कारण धानको उत्पादन बढाउनु आवश्यक छ,’ वरिष्ठ धान विशेषज्ञ भोलामानसिंह बस्नेतले भने । 

मध्यमाञ्चलमा १९ जिल्ला पर्छन् । उच्च पहाडी भूभाग (दोलखा, रसुवा, सिन्धुपाल्चोक) मध्यपहाड (रामेछाप, सिन्धुली, नुवाकोट, काभ्रे, मकानवपुर, भक्तपुर, काठमाडौं, ललितपुर र धादिङ) तराई (धनुषा, महोत्तरी, सर्लाही, पर्सा, बारा, रौतहट र चितवन) मा ३९ दशमलव ०२ प्रतिशत रोपाइँ भएको छ । 

सो क्षेत्रमा ८७ लाख ८६ हजार ५ सय ६० रोपनीमा धान रोपाइँ गर्न सकिन्छ । तर, २५ लाख ६५ हजार ६७५ रोपनीमा मात्र धान रोपाइँ भएको छ भने ६२ लाख २० हजार ८ सय ८५ रोपनीमा धान रोपाइँ हुन सकेको छैन । 

विगत १० वर्षको तथ्याङ्क हेर्दा नेपालमा धान उत्पादनको वृद्धिदर सन्तोषजनक छैन । हालको जनसंख्यालाई करीब ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । गत वर्ष जम्मा ४२ लाख मेट्रिक टन भएको थियो । पश्चिमका १६ जिल्लामध्ये हिमालपारिका २ जिल्लामा धान रोपाइँ हँुदैन । बाँकी १४ जिल्लामा ५४ दशमलव ८७ प्रतिशतमा रोपाइँ भएपनि २८ लाख १९ हजार १ सय ७३ रोपनीमा रोपाइँ भएको छैन । 

विश्वको सबैभन्दा अग्लो स्थानमा धान खेती हुने जिल्ला नेपालमै पर्छ । जुम्ला जिल्लामा उत्पादन हुने जुम्लीमार्शी धान विश्वमा राम्रो मानिन्छ । कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करीब २८ प्रतिशत छ भने सो उत्पादनमा झण्डै आधा अर्थात् १२ प्रतिशत धानको योगदान छ । 

मध्यपश्चिमका १५ जिल्लामा ४६ दशमलव ६५ प्रतिशत र सूदुरपश्चिमका ९ जिल्लामा ७४ दशमलव ८४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । मध्यपश्चिममा ३५ लाख ६१ हजार ९ सय २० रोपनीमध्ये १९ लाख २ हजार ६५ रोपनीमा अझै रोपाइँ भएको छैन । 

त्यसैगरी, सूदुरपश्चिमका ९ जिल्लामा ७४ दशमलव ८४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । अझै ८ लाख ८९ हजार ८ सय ६४ रोपनीमा रोपाइँ भएको छैन । सदूरपश्चिममा धान रोपाइँका लागि उपयुक्त जमीन ३५ लाख ३१ हजार २ सय रोपनी रहेको छ । 

असार २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस