कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
– दीया चापागाईं
कहिले अव्यवस्था, कहिले राजनीतिक उथलपुथल, कहिले द्वन्द्व त सधैको राजनीतिक अकर्मण्यता । देश र जनताका लागि भनिएको राजनीति जिम्मेवार बन्न सकेन । बफादार र दूरदर्शी नेतृत्व हामीले पाएनौं ।
हुनेले भएको गह्रो बाँझै छोडे । कामकाजीले श्रमको मूल्य पाएनन् । बिचौलियाको बदमासीमा जुनसुकै सरकार रमिते बने । इलम, रोजगार र स्वरोजगारका बाटाहरू कहिल्यै चौडा बनेनन् ।
‘सुन्दर सपना र उज्जवल भविष्य भनेकै विदेश हो’ भन्ने मानसिकताले नेपाली युवालाई गाँज्दै लग्यो । अरु नेपालीको मानसिकता र सोंचझैं मलाई पनि दिनरात विदेशको सपना आउन थाल्यो । त्यही विदेश सपनाको मिठो कल्पनामा दिनरात मग्न हुँदै अनगिन्ती सपनाको थ्रुपो लिएर अन्ततः एसियाको एक विकसित र आधुनिक मुलुक इजरायल आइपुगें ।
इजरायल पुगेको पनि १ दशकभन्दा बढी भइसकेछ । यति लामो समयक्रमको इजरायल बसाइँमा मैले स्वदेशमा हुँदा देखेका सपना कति साकार भए ? कति भएनन् ? आत्मसमीक्षाकै विषय होला । तर, यस क्रममा मैले अनुभूत गरेका अनगिन्ती भोगाईं छन् – कति सधैं स्मरण गरिरहुँ जस्ता, कति कहिल्यै नसम्झुँ जस्ता ।
भनिन्छ – मानिसको जन्मदेखि मृत्युसम्मको अवधि नै जीवनको सफलता र असफलताको कहानी हो । दार्शनिकदेखि साहित्यकारले मानव जीवनलाई अनेक ढंगले परिभाषित गरेका छन् । संसारलाई नाट्यशाला भनेका छन् ।
मान्छेलाई रंगमञ्चको पात्र । मान्छे फगत रंगमञ्चको कलाकार मात्रै हो र उसलाई नचाउने निर्देशक अरु नै कोही छ । जसलाई विधाता भन्छौं हामी । हिन्दू दर्शनले भन्छ – तिम्रो सबै कर्म र फलको पहिल्य नै तय छ, बस् तिमी कर्म गरिराख ।
घरपरिवार, आफन्त, नातागोता, इष्टमित्र, बन्धुबान्धवबाट निकै टाढा छु । गाउँघरको भाषामा ‘सात समुद्रपारी’ । पराइँ मुलुकमा एक्लोपनले कहिलेकाँही चिमोट्छ । उराठ लाग्छ । तैपनि आफ्नो दायित्वबोध हुन्छ, अनि कर्ममा तल्लीन हुन्छु । संघर्षमय जीवनको यात्रामा असफलताबाट निराश र सफलतामा हौसिने काम भने मबाट कहिल्यै भएन । हुने पनि छैन ।
कहिलेकाँही लाग्छ – सिंगो जीवन ‘पाहुना वा यात्रा’ त हो । त्यो यात्राभित्र पनि पत्र–पत्र परेका धेरै यात्रा हुँदा रहेछन् । पत्र–पत्र परेको यात्रामा पनि खण्ड–खण्डमा चुनौतीको चाङ । जीवन मैले सोचेजस्तै हो कि ? भावीले लेखेको पूरा गर्ने कालखण्ड मात्रै ? जति सोच्यो, उत्ति गाह्रो । बुझ्यो, झन् गाह्रो । स्वदेशबाट पराइँ मुलुकमा एकोहोरो काममा व्यस्त रहँदा, फुर्सदका क्षणमा वा राति एक्लै ओच्छ्यानमा सुत्ने उपक्रम गरिरहँदा यस्तै–यस्तै अनगिन्ती लहडले मन बरालिन थाल्छ ।
जीवन आफ्नै हो । तर, के सबैलाई सोचेको वा चाहेको पूरा हुन्छ ? हामी बबुराहरू, ठूला कल्पना गर्छौ, धेरै चाहना राख्छौं । फर्केर हेर्दा पाउँछौं – सोचेकोभन्दा नसोचेको पो बढी भोगिएछ । कहिलेकाँही म सोच्छु – जे राम्रो सोचेकी थिए, भएन । नसोचेको भोगे, भोगिरहेकी छु । सायद जीवनको एउटा पाटो यही हो ? सोचेजस्तो र चाहेजस्तो नहुने भनेकै जीवनको परिभाषा हो कि ? आफैले आफूलाई सम्झाउँछु ।
मेरो प्रिय माटो र जन्मभूमिको सम्झना चुम्बकीय बनिदिन्छ । त्यही शक्तिले मेरो मनलाई लगातार आफूतिर तानिरहेको हुन्छ । कर्मथलोमा बसालेको रहनसहनको पनि माया लाग्छ, लाग्नु पनि स्वभाविक हो । कर्मथलोमा मैले बिताएका सुखद–दुःखद हरेक पल मेरा अविराम र अमिट छाप हुन् । हरेक पाइलासँगै जीवनको अन्तिम घडीसम्म यी यसरी नै मसँग आइरहने छन् । टाँसिइरहने छन्, मुटुको अन्तस्करणमा । म यही चाहन्छु पनि र भगवानसँग प्रार्थना गर्छु ।
जीवन आरोह अवरोह न हो । यो बाँच्ने क्रममा यात्राहरूको लामो श्रृंखला बन्छ । अनन्तः भोगाइँको थुप्रो लागिदिन्छ । मेरो पनि छ । विदेशमा मैले इजरायल रोजे । यहाँ मेरो जीवनको उर्जावान उमेरका १ दशक बिताएँ ।
इजरायल । मध्यपूर्वमा अवस्थित सुन्दर पर्यटकीय देश । विदेशी कामदारका लागि सुरक्षित र कामको उचित सम्मान हुने मुलुक । सुनेजस्तै भोगाइँमा पनि ठ्याक्कै त्यस्तै । त्यसैले विश्वभरका नागरिकको एक प्रमुख गन्तव्यस्थल बनेको छ यो । पछिल्ला वर्षमा नेपालीको पनि उपस्थिति बाक्लिँदो छ । अहिले इजरायलमा ५–६ हजारको हाराहारीमा नेपाली कार्यरत छन् । तथ्यांकले यही देखाउँछ । इजरायल आउनेहरू विशेषगरी केयरगिभर (सुसारे) र कृषि पेशामा आवद्ध छन् । उल्लेख्य के छ भने – इजरायलमा नेपाली महिला कामदारको संख्या पुरुषको तुलनामा झण्डै दोब्बर छ ।
इजरायल सानो क्षेत्रफलको मुलुक हो । अर्थात्, नेपालभन्दा झण्डै ७ गुणा सानो छ यो देश । नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ भने इजरायलको २२ हजार ७२ वर्ग किलोमिटर मात्रै ।
तर, विकास, सभ्यता र समृद्धिका दृष्टिले इजरायल विश्वकै अग्रणी मुलुकमा दर्ज भएको छ । राष्ट्रियता र पहिचानका लागि निकै संवेदनशील र सजग हुन्छन् इजरायलीहरू । इजरायल आधुनिक सूचना प्रणालीसँग अभ्यस्त छ ।
इजरायल पुगेका हामी नेपाली एउटै घरपरिवारका झैं लाग्छौं । आफ्नो देश, गाउँघर छोडेर विदेशिएकाहरू एकले अर्कोलाई भेट्दा अपार खुशी लाग्छ, आफ्नोपन अनुभूत हुन्छ । आत्मीयता जाग्छ । हामी इजरायलमा रहेका प्रत्येक नेपालीलाई नेपाली हुनुको गौरव हुन्छ । आफ्नो भाषा, कला, संस्कृति र साहित्यप्रति गर्व गर्छौं । र, हामी इजरायलमा रहेका नेपाली हाम्रो मौलिक कलासंस्कृति, भाषा, साहित्यको सम्वद्र्धनका लागि आफ्नो तर्फबाट हरसम्भव प्रयास गरिरहेका छौं ।
इजरायलमा नेपाली कामदारको ठूलो माग छ । तर, पछिल्ला दिनमा इजरायल सरकारले नेपाली कामदारका लागि बाटो बन्द गरेको छ । केही वर्ष पहिले ‘जी टु जी’ अर्थात् सरकारदेखि सरकारबाट नेपाली कामदार ल्याउने इजरायल र नेपालबीच सहमति भएको थियो । तर, त्यो पूर्णरुपमा कार्यान्वयन हुन सकेन ।
इजरायलको बसाइँले हामी सबै नेपालीबीच सबैखाले भेदभाव बिर्साएको छ । वैमनस्यता मेटाएको छ । यहाँ को पहाडी ? को मधेसी ? को बाहुन ? को दलित ? कुनै भेदभाव हुँदैन । यहाँ सबै नेपाली मात्रै छौं । इजरायल बसाइँले मलाई दिएको सबैभन्दा ठूलो उपहार यही हो ।
इजरायल आउनुअघि यो मुलुकबारे धेरै जानकारी थिएन । यहाँ आइपुगेपछि थाहा भयो – इजरायलसँग युद्धको घाउ र दुःखको लामो श्रृंखला भोगेको इतिहास रहेछ । छिमेकी मुलुक प्यालेस्टाइनसँगको दशकौंको युद्ध अझैं जारी छ ।
युद्ध र युद्धको रापतापबाट आफ्नो अस्तित्व जोगाउँदै आर्थिक समृद्धिको निरन्तर यात्रालाई अविराम अघि बढिरहेको मुलुक रहेछ इजरायल । विश्वभरि इजरायल र इजरायलीको विशेष स्थान छ । महत्व छ । इजरायलमा रहेका पर्यटकीय स्थलको संरक्षण इजरायली सरकारको सधैं प्राथमिकताको विषय बन्छ । संसारकै सबैभन्दा होचो मृतसागर (डेड सी) को सौन्दर्यले इजरायलले वर्षौ–वर्षदेखि भोगेको युद्धको कठोर घाउमा मल्हम लगाएको छ ।
दशकौंदेखि युद्धको चपेटामा परेको भएर होला इजरायल सरकारले १८ वर्ष पुगेका हरेक इजरायली नागरिकलाई अनिवार्य सैन्य तालिम लिनुपर्ने प्रावधान बनाएको छ । सोही अनुसार आफ्ना नागरिकलाई सैन्य तालिम दिँदै आएको छ । यसले आम इजरायलीलाई युद्धका बेला कसरी आफू र अरुलाई सुरक्षित हुने भन्नेबारे राम्रै ज्ञान दिएको छ । ७४ दशमलव ८० प्रतिशत यहुदी, २० दशमलव ७५ प्रतिशत अरबी र ४ दशमलव ४५ प्रतिशत अन्य धर्मावलम्बी रहेको यो मुलुकको सरकारी भाषा हिब्रु हो । छिटपुटले अरबी प्रयोग गर्छन् ।
अचम्मको कुरा यहाँका नागरिक (विशेषगरी यहुदीहरू) ले हरेक मध्यदिन शुक्रबारदेखि शनिबार साँझसम्म केही काम गर्दैनन् । यतिसम्म कि सवारीसाधन नचलाएर घरमै बस्ने तथा घरमा पनि टेलिभिजन, कम्प्यूटर, मोवाइल, ग्याँसचुलो नचलाई साँझबिहान ‘बेतकेनेसेत’ गएर पूजा गर्छन् । शनिबार साँझ ६ बजेपछि भने पुनः निरन्तर काममा व्यस्त हुन्छन् ।
युद्धको अथाह पीडा भोगेर, झेलेर इजरायलले कसरी आर्थिक विकासको मूलमार्ग संरक्षित गरेको रहेछ ? प्रत्यक्ष अनुभव गर्दा आफ्नै मुलुकको १२ वर्ष सशस्त्र माओवादी युद्ध र त्यसले सिर्जना गरेको विध्वंशको स्मरण हुन्छ । दशकौंसम्म युद्धमा होमिनुपरेको इजरायलले कसरी आर्थिक समृद्धिलाई निरन्तरता दिन सक्यो ? नेपालले इजरायलबाट पाठ सिक्नुपर्छ ।
मेरो मनमा हरेक दिन अनेक कुराले जन्म लिन्छन्, तर्क खेल्छन् । कतिपय विचारले आफैंलाई मख्ख पार्छ, कतिपय एकैछिनमा बिर्सुझैं लाग्छ । इजरायललाई युद्धको इतिहासले आर्थिक समृद्धिलाई सघायोभन्दा धेरैलाई अनौठौ लाग्छ होला । तर, ‘वार टुरिज्म’का माध्यमबाट रातारात चम्किएको इजरायलबाट नेपालीले पनि केही सिक्ने कि ? नेपालमा पनि हजारौं सुन्दर र मनमोहक प्राकृतिक सम्पदा छन् । धार्मिक अनुष्ठान छन् । १२ वर्षसम्म झेलेको द्वन्द्वलाई पनि आर्थिक समृद्धिका लागि उपयोग गर्ने अवसर छ ।
इजरायलले आफ्नो देशको विकास अनुकरणीय रुपमा गरेको छ । संस्कृतिको जगेर्ना उस्तै छ । तेलअविभ, हाइफा, जेरुसेलम, तिबेरिया, गोलानहाइट लगायत ठाउँ बाह्रै महिना आन्तरिक र बाह्य पर्यटकले भरिभराउँ हुन्छन् ।
नेपालमा रहेका यस्ता अनगिन्ती पर्यटकीय स्थल तथा गन्तव्य सम्झेर मेरो मन बारम्बार चस्किने गर्छ । स्वर्गको टुक्राजस्तो हाम्रो देश नेपालमा पनि इजरायलीले जस्तै बाह्य तथा आन्तरिक पर्यटक तान्न सके पर्यटनका माध्यमबाट चाँडै विकासको मूल फुटाउन सकिन्थ्यो । राज्य र हरेक नेपालीको दृढ इच्छाशक्ती र लगनशिलता मात्रै त आवश्यक छ ।
इजरायलले अहिले पनि ‘वार टुरिज्म’बाट मनग्य आम्दानी गरिरहेको छ । हामीले युद्धलाई गुमाएको दुःखको इतिहासका रुपमा मात्र लियौं । तर, दुःखद इतिहासलाई आम्दानीका रुपमा परिमार्जन गर्न सकिने कुरा इजरायलमा देखेँ, सिकेँ र बुझेँ ।
इजरायलका थुप्रै रोचक पक्ष छन् । इजरायलमा मुस्किलले १० प्रतिशत जनता मात्रै कृषि पेशामा संलग्न छन् । तर, इजरायल कृषि उपजमा आत्मनिर्भर छ । १० प्रतिशत मात्रै रहेका इजरायली किसानले आफ्नो मुलुकलाई कृषि उपजको निर्यातकर्ता समेत बनाएर विश्वलाई उदाहरण देखाएका छन् ।
हामीसँग बिडम्बना मात्रै छ । अहिले पनि ७५ प्रतिशत नेपाली जनता कृषिमा निर्भर छन् । तर, उत्पादनमा आधुनिकता छैन । बजार छैन । श्रमको सम्मान छैन । सकल राष्ट्रिय ग्रार्हस्थ उत्पादनको जम्मा ३० प्रतिशत हिस्सा मात्रै कृषि क्षेत्रले योगदान दिइरहेको बिडम्बनापूर्ण अवस्था छ । हरियो धनियादेखि बर्सेनि अर्बौ रुपैयाँको फलफूल, तरकारी आयात गर्ने मुलुकका रूपमा कृषिप्रधान देश नेपाल चिनिन्छ । जनशक्ति निर्यात गर्ने देशका रुपमा नेपाल स्थापित भएको छ ।
विश्वकै अग्लो चुचुरो सगरमाथा हाम्रै देशमा छ । शान्तिका अग्रदूत गौतमबुद्ध जन्मेको देश नेपालै हो । विश्वकै दुर्लभ एकसिंगे गैंडाको एक मात्र बासस्थान हो नेपाल । सयौं प्राकृतिक गुफा, झरना, हिमाल, तालतलैया तथा कला र संस्कृतिले धनी भएर पनि हाम्रो पर्यटन क्षेत्र रुखो छ । जीर्ण छ । मौलाउन सकेको छैन । किन ?
किन मेरो मुलुक सधैं रेमिट्यान्सका भर परेको छ ? मलाई यसले सधैं रिंगाइ रहन्छ । र, यसलाई अब खरोरुपले बहसमा ल्याउनुपर्छ भन्ने लाग्छ । अरु देशका सरकारले मरुभूमिलाई सुन्दर बगैंचा बनाएर पर्यटक तानिरहेका छन् । हामीसँग प्रशस्त पर्यटकीय स्थलहरू हुँदा पनि पर्यटक तान्न सकिरहेका छैनौं । नेपाल घुम्न चाहन्छु भन्ने पर्यटकलाई समेत हामीले नेपाल ल्याउन सकेका छैनौं ।
एकात्मक संसदीय गणतन्त्र व्यवस्था रहेको इजरायल मानव विकास सूचकांकमा विश्वभर १९ औं स्थानमा छ । यहाँको प्रतिव्यक्ति आय वार्षिक सरदर ३७ हजार ३३० युएस डलर (स्रोत विश्व बैंकको प्रतिवेदन २०१६) रहेको छ । आयका हिसावले इजरायल विश्वभर २५ औं स्थानमा पर्छ ।
इजरायली प्रायः घुमघाम गर्न रुचाउँछन् । नेपाल इजरायलीका लागि प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने प्रवल सम्भावना छ । यसका लागि तत्काल नेपाल र इजरायलबीच सीधा हवाई सम्पर्क बढाउन सके पर्यटनका लागि नेपाल राम्रो गन्तव्य मुलुक हुने विश्वास गर्न सकिन्छ ।
अन्तमा,
यात्रा जीवन हो, जीवन भनेकै यात्रा । जुन दिन यात्रा टुंगिन्छ, त्यो दिन नै जीवनको अन्तिम दिन हो । जीवनमा जति यात्रा गरिदोरहेछ, त्यति नै नयाँ अनुभव बटुल्ने मौका पनि पाइदोरहेछ ।
तसर्थ, सबैमा सोचको विकास होस्, योजनाको विस्तार होस्, अनुकरणीय कुरा अनुसारको संस्कार मिलोस् ।
(पर्वत घर भएकी चापागाईं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरकी सचिव हुन् ।)
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...