हिन्दूराष्ट्र अभियान शुरू गर्दै कमल थापाले भने – यो बेमौसमी आन्दोलन होइन !

साउन २, २०७५

काठमाडौं – धर्म परिवर्तनले मुलुकको अस्तित्व संकटमा पर्दै गएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दू राष्ट्र पुनस्र्थापना महाअभियान शुरू गरेको छ ।

विभिन्न धर्मगुरूहरूको उपस्थितिमा काठमाडौंमा आयोजित एक समारोहबीच राप्रपा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले अभियानको घोषणा गरेका हुन् । अभियान उद्घाटन गर्दै अध्यक्ष थापाले धर्म परिवर्तनको डढेलोले नेपालको अस्तित्व संकटमा पर्दै गइरहेको बताए ।


ADVERTISEMENT

‘धर्मनिरपेक्षताको आडमा नेपालमा भइरहेको धर्म परिवर्तनको निशानामा आदिवासी, जनजाति र दलित परेका छन् । धर्मपरिवर्तनका कारण हिन्दू मात्र होइन, बुद्धिस्ट र किरात धर्म पनि अल्पमतमा पर्ने खतरा छ,’ अध्यक्ष थापाले भने, ‘धर्म परिवर्तनको यो डढेलो नरोक्ने हो भने नेपालको सामाजिक सद्भाव र एकता अन्त्य भएर धार्मिक द्वन्द्वको अवस्था निम्तिने खतरा टड्कारो छ ।’

अध्यक्ष थापाले उग्रवामपन्थी शक्तिले आफ्नो अभिष्ट पूरा गर्न र पश्चिमा शक्तिले नेपालमा धार्मिक सांस्कृतिक प्रभाव कायम गर्न गरेको प्रयास स्वरुप धार्मिक सास्कृतिक आक्रमण भइरहेको आरोप लगाए । ‘यो आक्रमणले राष्ट्रिय एकताको आधारलाई खल्बलाइदिएको छ । राजनीतिक, सामाजिक र अर्थिक क्षेत्रमा समेत नेपाललाई क्षतविक्षत तुल्याएको छ,’ अध्यक्ष थापाले भने ।  

अध्यक्ष थापाले राजनीतिक दलहरुले सहमतिको आधारमा धर्मनिरपेक्षता खारेज नगरिए जनदबाबबाट हिन्दू राष्ट्र कायम गर्ने दावी गरे । ‘कसैलाई के लाग्न सक्छ यो बेमौसमी अभियान किन शुरू गरेका होलान्,’ अध्यक्ष थापाले भने, ‘म के निवेदन गर्न चाहन्छु भने यो कसैका विरुद्ध होइन, कसैको धार्मिक आस्थाविरुद्ध होइन र सरकारविरुद्ध पनि होइन ।’

साउन २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस