मास–बेस्ड कि क्याडर–बेस्ड ? अराजक जमातमा सीमित नबनोस् कांग्रेस

साउन ३, २०७५

नेपाली कांग्रेसमा आफैंले गराएको चुनावपछि आएको परिणामले यदुवंशी युद्ध शुरू भएको छ । त्यस्तो परिणाम आउनुको वस्तुगत र मनोगत कारणको सम्यक् अध्ययन र विश्लेषण गर्नुको साटो एकअर्काप्रति आरोपप्रत्यारोप चलिरहेको छ । 

हरेक परिवर्तनको नेतृत्व गरेको दाबी गर्दा हरेक परिवर्तनपछि आफ्नो अवस्था चाहिँ किन कमजोर हुँदै गइरहेको छ कांग्रेसको भन्नेतिर कसैको ध्यान गएको देखिँदैन । बडो गौरवसँग केही कांग्रेसीहरू भन्छन् – कम्युनिस्टहरूलाई हामीले आफ्नो सिद्धान्तमा ल्याउन सफल भयौं तर कोही पनि सोध्दैनन् – संसारभरि हराउँदै गएका कम्युनिस्टहरू हाम्रोमा चाहिँ बढ्दै जानुको कारण कतै हामी नै त होइनौं ? कांग्रेसले नै नेपालका कम्युनिस्टहरूलाई प्रजातन्त्रको मूल धारमा ल्याएको हो भने अब कम्युनिस्टको नामबाट डराउनुपर्ने कारण नै छैन । र जनताले प्रजातन्त्रका लागि कांग्रेसलाई नै रोज्नुपर्ने अवस्था पनि रहँदैन अथवा कांग्रेस र कम्युनिस्टमा अब आधारभूत अन्तर पनि बाँकी रहेन भनी बुझ्नुपर्ने हुन्छ । यसरी आफ्नो ठाउँ अरूले लिइसकेकाले आफ्नो औचित्य समाप्त भएको कुरा स्वयं कांग्रेसका कथित नेताहरू नै भन्दै हिँड्ने गरेका छन् । 

कुहिरोको काग भन्ने उखान जस्तै कांग्रेसका कति नेता र कार्यकर्ताहरू पराजयको कारण कम्युनिस्टको जस्तो पूर्णकालीन कार्यकर्तामा आधारित मिलिटेन्ट संगठन नहुनुलाई दोष दिँदै कांग्रेसको संगठन पनि त्यस्तै पूर्णकालीन कार्यकर्तामा आधारित हुनुपर्छ भनेर जोडतोडसँग उठाउन थालेका छन् । हुन त कांग्रेसमा यो बहस पहिलोपटक आएको होइन । जुन जुन बेला कांग्रेसको चुनाव परिणाम नराम्रो आउँछ त्यस त्यस बेला यस्तो बहस चल्ने गर्दछ । यसभन्दा पहिले राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएर बनेको राप्रपाको एउटा तप्का र एमालेको संयुक्त सरकारले गराएको स्थानीय स्तरको चुनावमा कांग्रेसको अवस्था यसरी नै कमजोर भएको थियो र त्यसबेलामा पनि यस्तै संगठनको स्वरूप र ढाँचा परिवर्तन गर्ने बहस चलेको थियो । त्यो बहसमा यो पंक्तिकार पनि सक्रिय रूपमा सहभागी भएको थियो पूर्णकालीन कार्यकर्तामा आधारित संगठनमा जानुहुँदैन भन्ने पक्षमा । 

यो बहस र विवादको सन्दर्भमा सन् १९५० को दशकमा दुई शिखर पुरुषबीच भएको एउटा प्रसंगलाई प्रस्तुत गर्नु सान्दर्भिक हुनेछ । भर्खरै बेलायतमा संसद्को चुनाव भएको थियो र त्यसबेलाका विश्वप्रसिद्ध बौद्धिक र दार्शनिक प्रतिभा बर्ट्रेन्ड रसेल एक पार्टीको सामान्य कार्यकर्ताबाट पराजित भएका थिए । त्यसैबेलाका अर्का चर्चित पात्र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु पनि बेलायत भ्रमणमा गएका रहेछन् । नेहरु रसेललाई भेट्न उनको निवासमा पुगेछन् । रसेललाई भेट्न त्यसबेला बेलायत भ्रमणमा आउने प्रायः जसो ठूला पाहुनाहरू जाने गरेकोबाट पनि स्पष्ट हुन्छ, उनी विश्वव्यापी रूपमा कति प्रसिद्ध थिए भन्ने कुरा । त्यसमा पनि पण्डित जवाहरलाल नेहरु त बेलायतमै पढेका र बेलायतमा उनको धेरैजनासँग चिनापर्ची र व्यक्तिगत सम्बन्ध भएका भारतीय मानिन्थे । त्यसैले रसेलसँग उनको सम्बन्ध नहुने प्रश्नै उठ्दैन । 

नेहरुले वार्ताको क्रममा रसेलले चुनाव हार्नुको कारण जान्न चाहेछन् किनकि विश्वमै यति प्रसिद्धि पाएको मानिस आफ्नै ठाउँमा किन र कसरी हा–यो भन्ने ठूलो जिज्ञासा नेहरुमा रहेछ । रसेललेसामान्य रूपमा भनेछन्, ‘हेर्नुस्, हामीजस्ताको प्रसिद्धि जसलाई भनिन्छ, त्यो आम मतदाताको कति प्रतिशतसम्म पुगेको होला ? अर्को कुरा, मेरो कुनै संगठन थिएन र मसँग साधनस्रोत पनि पर्याप्त थिएन । मेरा समर्थकहरू त धेरै थिए तर स्वेच्छाले बाहेक मलाई सघाउनुपर्ने कुनै आधार थिएन । मजस्तो मानिसलाई आमजनताले अपेक्षा गरेअनुसारको नैतिक आचरणमा अड्नुपर्ने हुन्छ र आफ्नै अन्तर्मनका लागि जस्ता पायो उस्तैको सहयोग स्वीकार गर्न नसकिने हुन्छ । यसले गर्दा एकातिर सबै कुरा म एक्लैले जुटाउनुपर्ने हुन्छ भने अर्कोतिर सबै कुरा संगठनले जुटाइदिन्छ । त्यस्तोमा चुनाव हार्नु अस्वाभाविक होइन । बर्ट्रेन्ड रसेलको यो भनाइपछि नेहरु र उनीबीच राजनीतिक पार्टी र तिनका संगठन, तिनका स्वरूप र चरित्र आदि बारेमा विशद छलफल र विचारविमर्श भएको विवरण त्यसबेलाका प्रमुख भारतीय पत्रपत्रिकामा व्यापक प्रकाशित भएका थिए । 

वस्तुतः कुनै पनि राजनीतिक पार्टीको संगठनको आधार भनेको त्यसको सिद्धान्त, नीति र कार्यक्रमबाट निर्धारित हुन्छ । आधुनिक युगमा आधारभूत सैद्धान्तिक रूपले दुई प्रकारका राजनीतिक पार्टी र त्यसैअनुसारको एउटा प्रजातान्त्रिकपार्टीको संगठन र अर्को कम्युनिस्ट वा कट्टरवादी पार्टीको संगठन हुन्छन् । प्रजातान्त्रिक पार्टीहरूको संगठन भनेका कुनै बनिबनाउ विश्वव्यापी सूत्रमा बन्ने संगठन होइन । आफ्नो देश, काल, परिस्थिति, परिवेश र आवश्यकतालाई हेरेर आफैंले बनाएको विधान, विधि र प्रक्रियाद्वारा परिचालित हुने संगठन हो प्रजातान्त्रिक संगठन । प्रजातन्त्रमा कोही कसैको शत्रु हुँदैन, त्यसैले हिजोको अत्याचारी निरंकुश शासक पनि प्रजातन्त्रमा अरूजस्तै समान अधिकार उपभोग गरेर बस्नसक्छ । 

प्रजातान्त्रिक पार्टीका कार्यकर्ता भनेका स्वेच्छाले स्वयंसेवकका रूपमा पार्टीलाई आवश्यक पर्दा खट्ने र आवश्यक नपर्दा आआफ्नो व्यवसायमा संलग्न रहने जमात हो ।

प्रजातन्त्रले आफ्नो सिद्धान्त र विचारलाई बल प्रयोग गरेर लागू गर्ने कुरामा विश्वास गर्दैन । त्यसको सट्टा आम मानिसको स्वेच्छाले समर्थन प्राप्त गर्ने कुरामा विश्वास राख्छ । त्यसैले उसलाई कुनै मिलिटेन्ट संगठनको आवश्यकता पर्दैन । त्यसका निम्ति त केवल उसको नेतृत्व र नेतृत्ववर्गमा उच्च नैतिक आचरण, सिद्धान्तप्रतिको दृढता र इमान्दारीको आवश्यकता पर्छ । यसको आकर्षणमा पार्टीका कार्यकर्ताले जनतासमक्ष गएर पार्टीको पक्षमा मतदान गराउँछन् । प्रजातान्त्रिक पार्टीका कार्यकर्ता भनेका स्वेच्छाले स्वयंसेवकका रूपमा पार्टीलाई आवश्यक पर्दा खट्ने र आवश्यक नपर्दा आआफ्नो व्यवसायमा संलग्न रहने जमात हो ।

जस्तो कि, धार्मिक कर्मकाण्ड गराउने पुरोहित र यजमान जस्तो, तिनीहरूका बीच काम गरेबापत कति पाउने भन्ने दररेट पनि हुँदैन र गर्नैपर्छ भन्ने बाध्यता पनि हुँदैन तैपनि लामो समयदेखि अविच्छिन्न चल्दै आइरहेको छ । त्यसैले प्रजातान्त्रिक पार्टीको संगठन लचिलो भएको हुनाले सानातिना आन्तरिक विवाद र झगडालाई सजिलै पचाउन सक्छ जसले गर्दा पार्टीभित्र टुटफुट हुने र विभाजित हुने सम्भावना न्यून हुन्छ । त्यस्तै पूर्णकालीन कार्यकर्तामा जस्तो पार्टीप्रति निर्भर ठूलो संख्या नहुने भएकाले सत्तामा पुगेपछि पार्टीभित्रको व्यवस्थापन र पालनमा अल्झिनुनपर्ने भएको कारण आम जनतामा आधारित योजना र कार्यक्रम बनाएर जान सजिलो हुन्छ र देशको साधनस्रोतलाई कार्यकर्ता पाल्नमा लगाउनुपर्ने हुनाले समग्र देशको निर्माण विकासमा ध्यान दिनलाई रोक्ने कुनै तत्त्व हुँदैन ।

जहाँसम्म पूर्णकालीन कार्यकर्तामा आधारित संगठनको प्रश्न छ, त्यसका निम्ति सर्वप्रथम त एउटा शत्रु र त्यसप्रतिको असीम घृणा आवश्यक हुन्छ जस्तो कि कम्युनिस्टका लागि पूँजीवाद वा पूँजीपति र धार्मिक र जातीय कट्टरपन्थी पार्टीहरूका लागि अर्को धर्म वा जातिप्रतिको घृणा र प्रतिशोध । अझ कम्युनिस्ट पार्टीकै बारेमा कुरा गर्ने हो भने युरोपमा भएको औद्योगिक क्रान्ति र त्यसले उत्पन्न गरेको सामाजिक सम्बन्धको उग्र प्रतिक्रियास्वरूप जन्मिएको मार्क्सवादको एउटा गम्भीर र जटिल मोड थियो लेनिनवाद । मार्क्सको विचारलाई लेनिनले दिशान्तर नै गरे भन्ने आरोप पनि धेरैले लगाउँछन् । 

यस्तो गहन विषयमा बहस चलाउन यस्तो एउटा लेख पर्याप्त हुँदैन र त्यो उद्देश्य यो लेखको हुँदा पनि होइन । तर लेनिनलाई मार्क्सवादको आफ्नो भाष्यलाई मूर्त रूप दिन एउटा जबर्जस्त संगठनको आवश्यकता थियो । त्यसैको परिपूर्तिका लागि उनले एउटा सशक्त संगठनका लागि जनवादी केन्द्रीयता नामको सूत्र बनाए । उनको विचारमा एउटा सशक्त संगठनका लागि सयजना समर्थकको कुनै मूल्य हुँदैन त्यसको सट्टामा जति प्रतिबद्ध दशजना कार्यकर्ताको हुन्छ । उनी भन्छन्, ‘पार्टीको सदस्य भनेको त्यो हो जो कुनै समितिमा रहेर पूर्ण रूपले सक्रिय रहन्छ । यस्तो संगठन जनतामा आधारित वा मासबेस्ड संगठन जस्तो नभएर झण्डै सैनिक चरित्रको संगठन हुने भएकाले एउटै आदेश वा निर्णयमा पूर्ण रूपले पूर्ण शक्तिले परिचालित हुन्छ । यस्तो संगठन चुनाव वा त्यस्तै पार्टीका काममा जति प्रभावकारी हुन्छ, त्यति नै त्यसको रेखदेख, व्यवस्थापन र हरेक सदस्यको आवश्यकता पूरा गर्नु पनि पार्टीकै दायित्व हुने हुनाले पार्टी र नेतृत्वको ध्यान पनि त्यसैमा केन्द्रित हुनुपर्ने हुन्छ । 

यस्तो पार्टी सत्तामा पुग्यो भने आफ्नै पार्टीका कार्यकर्ताको व्यवस्थापन र भरणपोषणमा नै यति व्यस्त हुनुपर्छ जसले गर्दा सम्पूर्ण देश र जनताप्रति पर्याप्त ध्यान दिन नसकिने हुन्छ र देशको साधनस्रोत त्यसैमा बढी लगाउनुपर्ने भएकाले समग्र विकासमा धेरै ध्यान दिन नसकिने हुन्छ । संसारमा जेजति कम्युनिस्ट देशहरू थिए र केही छन् ती सबै त्यसरी नै सत्तामा पुगेपछि कम्युनिस्ट संगठनले एउटा नोकरशाही स्वरूप र चरित्र ग्रहण गर्न पुग्यो । यसले गर्दा हरेक कम्युनिस्ट नेता र कार्यकर्ताले आफूलाई जनताभन्दा विशेष रूपमा हेर्न थालेकाले अत्यन्त सुविधाभोगी भएर भ्रष्ट बन्दै गए । 

त्यसैको मुख्य परिणाम हो सोभियत रुस लगायत पूर्वी युरोपबाट कम्युनिस्टको पतन हुनु ।चीन जस्तो देश जहाँ राजनीतिक रूपले कम्युनिस्ट एकदलीय तानाशाही व्यवस्था कायम भएपनि अर्थतन्त्रको भने पूर्ण पूँजीवादीकरण भइसकेको अवस्था छ । तर त्यहाँ पनि पार्टीको नामबाट भएको भ्रष्टाचार आजको सबभन्दा ठूलो चुनौतीका रूपमा देखापरेको छ । जहाँसम्म संसदीय व्यवस्था भएका देशहरूमा निर्वाचनको माध्यमबाट सत्तामा पुगेका कम्युनिस्टहरूको प्रश्न छ, त्यस्ता देशहरूमा पनि कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताबाहेक आम जनतामा विकास र समृद्धि पुगेको पाइँदैन । उदाहरणका लागि, हाम्रै छिमेकी भारतको पश्चिम बंगालमा कम्युनिस्टले झण्डै ३५ वर्ष शासन गर्दा अपेक्षित विकास हुन नसकेको मात्रै होइन, अरू प्रान्तीय राज्यभन्दा पनि अझ कमजोर अवस्थामा पुगेको तथ्य सबैको सामुन्ने छ ।

जे होस्, नेपाली कांग्रेस आज जुन अवस्थामा पुगेको छ त्यसको कारण सांगठनिक ढाँचा होइन । त्यो हो भने २०१५ सालको निर्वाचनमा दुईतिहाइ कसरी ल्याउन सक्थ्यो ? प्रश्न २०१५ सालको मात्रै पनि होइन, २०४८ सालपछि पनि कांग्रेसले संगठनको आधारमा बहुमत नल्याएको होइन । त्यसैले कांग्रेसको समस्या सांगठनिक स्वरूप र ढाँचामा होइन, अन्यत्रै खोज्न जरूरी छ । उसले कतै आफ्नो सैद्धान्तिक धरातल गुमाउँदै गइरहेको त छैन ?

जनतामा आधारित वा मास बेस्ड पार्टी भनेको पनि अराजक जमात भने अवश्य नै होइन । त्यसैले कार्यकर्तामा आधारित होस् वा मास बेस्ड पार्टी होस्, आफैंले बनाएको विधान, विधि र प्रक्रियाबाटै चल्नु अपरिहार्य हुन्छ । अन्यथा त्यो अराजक जमातमा परिणत हुन्छ । 

माओवादीसँग भारतमा भएको १२ बुँदे सहमतिका सम्बन्धमा गम्भीर समीक्षा हुनुपर्थ्यो तर त्यसो हुन सकेन । संस्थापक नेता कृष्णप्रसाद भट्टराई लगायतका मानिसले उठाएका प्रश्न र असहमतिलाई किन उपेक्षा गरियो ? अर्को प्रश्न हो – कांग्रेसबाट निरन्तर त्यस्ता मानिस किन पलायन र विस्थापन हुँदै गएका छन् जसले कांग्रेसको अस्तित्व जीवित राख्न अनेक संघर्ष, बलिदान र त्याग गरेका थिए ? कांग्रेसको अत्यन्त ठूलो जनाधार जो कुनै स्वार्थ वा लोभलालच विना समर्थन र मतदान गर्दै आएको थियो, त्यो किन निराश र निष्क्रिय बन्दै बदनाम भइरहेको छ ? यो परिप्रेक्ष्यमा नेपाली कांग्रेसको नेतृत्ववर्ग त लाज नै छोप्न नसक्ने गरी नांगो मात्रै भएको छैन, सम्पूर्ण पार्टी नै भ्रष्टाचारीको सम्मानमा ठूला ठूला माला बोकेर हिँड्ने स्तरसम्म गिर्दै गएको छ भने जनता के आकर्षणमा यस पार्टीको पछि पछि लाग्नु ?

जनतामा आधारित वा मास बेस्ड पार्टी भनेको पनि अराजक जमात भने अवश्य नै होइन । त्यसैले कार्यकर्तामा आधारित होस् वा मास बेस्ड पार्टी होस्, आफैंले बनाएको विधान, विधि र प्रक्रियाबाटै चल्नु अपरिहार्य हुन्छ । अन्यथा त्यो अराजक जमातमा परिणत हुन्छ । 

कांग्रेसमा कसैले विधान पालन गरेको देखिँदैन । कुनै पनि मतभेद वा विवाद पहिले सडकमा शुरू हुन्छ अनि मात्रै पार्टीको फोरममा प्रवेश पाउँछ । पार्टीको संगठनमा माथिदेखि तलसम्म आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउन आफ्ना परिवारका नाबालक, नोकरचाकर, नातागोताका मानिसलाई सक्रिय सदस्यता दिइने प्रचलन जसरी व्यापक हुँदै गएको छ, त्यसले गर्दा कांग्रेसको संख्यात्मकता चाहिँ बढ्दै जाने तर पार्टी भने निर्जीव बन्दै समाप्त हुने खतरा छ । 

त्यसैले जबसम्म पार्टीले आफ्ना फोरमहरूमा व्यापक छलफल र बहस हुने र त्यसकै आधारमा विधान र नियमअनुसार सर्वसम्मत वा मतदानद्वारा निरूपण हुने र एकपटक निरूपण भइसकेको विषयमा पार्टीको फोरमबाहेक अन्यत्र बोल्न नपाउने जस्ता पार्टी संगठनका सर्वमान्य सिद्धान्तलाई पालन गरिँदैन तबसम्म पार्टी एक अराजक जमात बन्न पुग्छ । आज कांग्रेस त्यही अवस्थाबाट गुज्रिरहेको छ । यसरी एउटा पद्धतिमा नहिँडेसम्म नयाँ र पुराना, युवा र वृद्ध जस्ता विवादहरू अराजकताकै परिचायक मात्रै हुन् । यस्तो संगठन सत्तामा पुग्न अपराधीको सहयोग लिने र सत्तामा पुगेपछि तिनैको साँठगाँठमा भ्रष्टीकरण र अपराधीकरणतर्फ उन्मुख हुँदै जानु स्वाभाविक बन्न पुग्छ । त्यसैले यतिबेला कांग्रेसले सफा ऐनामा आफ्नो अनुहार हेर्न आवश्यक छ ।

साउन ३, २०७५ मा प्रकाशित

अनारसिंह कार्की

नेपाली कांग्रेसको पृष्ठभूमि भएका कार्की राजनीतिक विश्लेषक हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस