बादललाई खतरा नेकपाभित्र कि बाहिरबाट ?

भदौ २४, २०७५

गएको साउन २७ (अगस्ट १२ तारिख) बेलुकीको करीब ६ बजेतिर गृहमन्त्री राम बहादुर थापा ‘बादल’ हस्याङ्फस्याङ् गर्दै राष्ट्रपति निवास पुगेका थिए । सामान्य अवस्थामा एक गृहमन्त्रीले राष्ट्रपतिलाई हतारिँदै भेट्न जानुको कारण के हुन सक्छ ? कारण जेसुकै होस्, वरिष्ठताको दृष्टिले पनि, मर्यादाक्रमको दृष्टिले पनि वा अझ यसो भनौं, हामीले राष्ट्रपति पदको जुन अवधारणा तय गरेका छौं, त्यस दृष्टिले पनि गृहमन्त्री र राष्ट्रपतिको त्यो भेट बिल्कुलै स्वाभाविक थिएन ।

संयोगले त्यो दिन पंक्तिकार राष्ट्रपति निवास पुगेको थियो । त्यहाँ हाम्रो ६ जनाको समूह थियो । कवि भूपाल राई एकजना हुनुहुन्छ । त्यो दिन गृहमन्त्री बादल यति हतारमा देखिन्थे, मैले हात मिलाउन पनि पाइनँ । बडो थकथकी लाग्यो । उनको हिँडाइको लय हेर्दा देशमा इमरजेन्सी नै लागे जस्तो थियो, वा मुलुक अप्रत्याशित घटनामा गुज्रिरहेको जस्तो । पूर्वमन्त्री तथा बादलकै पुराना मित्र प्रकाण्डलाई हतकाडी लगाएर कहिले कहाँ कहिले कहाँ पुर्‍याएर निकै दुःख दिने काम भइरहेको थियो । मनमनै गम खाएँ, कतै शक्तिशाली बम त पड्किएन !


ADVERTISEMENT

यसो मोबाइलमा समाचारहरू हेरे, खास त्यस्तो केही थिएन । तर खै कुन अन्लाइनले हो, ‘वामदेव गौतमले डोल्पाबाट चुनाव लड्ने’ लेखेको थियो । यी चुनाव हारेका नेताज्यू फेरि किन चुनाव लड्नपरेको होला भन्दा धेरैको धारणा छ कि संसद्को त्यो महफिल वामदेवविना अपूरो अधुरो छ । बिटुलो छ । कतिपयको अनुमान छ, पाका नेता वामदेवलाई गृहमन्त्री बनाउन उनलाई संसदमा ल्याइँदैछ । केही दिन अगाडि हो, ‘पख्लास् बादल, नयाँ गृहमन्त्री आउँछन् अनि सबै ठिक गर्छन्’ भनेर केही व्यक्ति जुँगा मुसारेका थिए । 

त्यो दिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ हतारमा राष्ट्रपतिलाई भेट्न शीतलनिवास जानुका प्रमुख कारणहरू यस्ता हुन सक्छन् । पहिलो, प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले हुर्मत काढ्न खोजेपछि बादल मडारिएका हुनसक्छन् । प्रतिनिधिसभामा चुनाव नलडेपनि चमत्कारपूर्ण ढंगले राष्ट्रिय सभामा गएर र थप गोलाप्रथामार्फत  भाग्यमा आइलागेको पद नै धरापमा पर्न थालेपछि ‘प्लिज राष्ट्रपतिज्यू, ओलीज्यूलाई धेरै पेल्न नभनिबक्सियोस्, म त पेलिँदा पेलिँदा तेल नै बन्ने तरखरमा छु’ भन्नका लागि बादल आफैंले खातिरदारी देखाएको हुनसक्छ । 

दोस्रो, केही मानवअधिकार हनन भएका सन्दर्भमा विदेशी शक्तिले समेत ध्यान आकर्षण गर्न खोजेपछि यो देशको चर्चा परिचर्चा विदेशमा समेत चलेको थियो । अल्जजीरा जस्ता विश्वप्रख्यात मिडियाले यसको कभरेज गरेका थिए । बलात्कार जस्ता अपराधहरू दैनिक रूपमा बढ्न थालेपछि मुलुकको अविभावकको नाताले राष्ट्रपति चिन्तत भएको हुनुपर्छ । र सोधपुछका लागि बादललाई हाजिर गराएको हुनुपर्छ । तेस्रो, ओलीको दबाबले हुन नसकेकका कामलाई माफियाहरूले राष्ट्रपतिमार्फत दबाब दिएको पनि हुनसक्छ । 

बादलको सचिवालय नै खत्तम

तर गृहमन्त्री बादलको जुन बदनाम हुने काम भइरहेको छ, यसमा बादलको टीम पनि पूर्ण रूपमा जिम्मेवार छ । बादलको विरुद्धमा सत्तापक्ष नै कसरी लागेको छ ? त्यसको चर्चा गरौंला तर सबैभन्दा खतरनाक कुरा बादलको विरुद्धमा बादलकै सचिवालयका मानिस लागिरहेका छन् । हुनसक्छ, तिनलाई यो कुराको महसूस नभएको हुनसक्छ । पंक्तिकारले अघिल्लो स्तम्भमा पनि भनेको थियो, यो मुलुकमा दर्जनौं गृहमन्त्रीहरू छन् र ती गृहमन्त्रीहरू बादलकै चर्को नून खाएर हिँडिरहेका छन् । 

 

गृहमन्त्री बादलको जुन बदनाम हुने काम भइरहेको छ, यसमा बादलको टीम पनि पूर्ण रूपमा जिम्मेवार छ ।

पछिल्लो समयमा गृहमन्त्री बादललाई माफियाहरूको सञ्जालले घेरेका छन् । तीतो सत्य हो यो । हुनसक्छ ती माफियाहरू बादल स्वयंले चिन्दैनन् । तर बादलका सचिवालयका मानिसले ती माफियासँग राम्रै हिमचिम बढाएका छन् । पार्टीपंक्ति र शुभचिन्तकहरूको सल्लाह सुझाव लिने काम तिनीहरू गर्दैनन् । लेनिन विष्ट नामको निकै बाठो मनुष्यलाई विमानस्थलबाट फर्काउने काम व्यक्तिगत इगोको रूपमा भएको बुझिन्छ । यो कुकर्ममा सूर्य सुवेदी पथिक नामका मनुष्यको हात रहेको बुझिन्छ । विष्टलाई समातेर कुनै ठूलो बहादुरी गरेको हैन, बरू बादलको अन्तर्राष्ट्रिय रूपमा बदनाम गर्ने काम गरियो । 

ती विष्ट जहाँ गएपनि, जे बोलेपनि केही फरक पर्नेवाला थिएन । अनि जुन आरोप उनीमाथि लगाइएको छ, त्यो छानबिन होस् । त्यस किसिमको जघन्य अपराध गरेका हुन् भने राहदानी नै जफत होस्, बदर होस् यार । तर ती पिउसालाई समातेर इगोको राजनीति गर्न हुन्नथ्यो क्या ।  प्रहरीहरूको सरुवा बढुवामा पनि सचिवालयकै एक व्यक्तिले नचाहिँदो पहलकदमी लिएको बुझिन्छ । त्यस्तो हो भने ती मान्छे आफ्नो गच्छेअनुसारको हैसियतमा बस्दा ठीक । अपहरणको शैलीमा डाक्टरलाई समातेर मन्त्रालय झिकाउने काम पनि तिनको क्षेत्राधिकारको कुरा थिएन । 

बादलसँग बालुवाटारको असन्तोष

बालुवाटारलाई राम्रैसँग लागेको छ, यो गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आवश्यकताभन्दा बढी हिरो हुन खोज्यो । अथवा बादलको हिरोइजम धेरै हुन थाल्यो । प्रधानमन्त्रीको काम नै छायाँमा पार्ने गरेर बादल हिरो हुँदा सत्ता समीकरणमा सबैभन्दा धेरै जस तत्कालीन माओवादीलाई जाने भयो । फेरि प्रधानमन्त्री ओलीले हासिल गरेका सफलताका सूचीहरूमा कम्तीमा साठी प्रतिशत काम बादलकै हुन् भन्ने कुरालाई स्वीकार गर्न बालुवाटार बाध्य भयो । कञ्चनपुरमा आन्दोलनको आगो बल्यो, बलात्कारीलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शनहरू भए, तर उतैका नेता भीम रावलले भने, ‘यो आन्दोलन कांग्रेसको हो’ ।

जनताको स्वतःस्फुर्त आन्दोलनलाई मन्त्रिपरिषद्को बैठकले समेत घुसपैठको रूपमा नै अंगीकार गर्‍यो । त्यहाँ बादलको कुनै राय थिएन, न आईजीपीको नै राय थियो । त्यो राय भीम रावलहरूको थियो । र त्यो राय आन्दोलन दबाउने भन्दा पनि उचाल्ने किसिमको राय थियो । कांग्रेसलाई ‘हिउँ आएको निहुँ पाएको’ भने जस्तो सरकारको विरोध गर्ने विषयहरू खोजेको, बादललाई नै आक्रमण गरेमा सत्ता समीकरणको गुटमा समेत फाटो ल्याउन सकिने आँकलन गरेर बसेको परिस्थितिमा देशमा जति घटनाहरू भए, त्यति धेरै फाइदा थियो नै । 

कसरी हुन्छ बादलको बदनाम गर्ने र नालायक मन्त्रीको रूपमा स्थापित गरेर राजीनामा गराउने सूत्रहरू गोप्य रूपमा परिचालित हुन थाले । बालुवाटारमा सम्पादकहरूको भेला नै डाकेर ओलीले, ‘तपार्इंहरू जे देख्नुहुन्छ, त्यो लेख्नुहोस्, म तत्कालै कारवाही गर्छु’ भनेको केही दिनमा केही अमुक मिडियाहरूले सुनियोजित रूपमा केके लेखे त्यो यहाँ उल्लेख गर्नु शोभनीय हुँदैन । राजनीतिमा जे जस्ता रणनीतिहरू भए पनि, गृहमन्त्री बादललाई बालुवाटारमा बोलाएर ‘अझै मौका छ, राम्रो काम गर्नुहोस् नत्र राजीनामाको मनस्थिति बनाउनुस्’ भनेका थिए ओलीले ।

नयाँ विमान खरिद प्रकरणमा करोडौं अनियमितता भएका खबरहरू सार्वजनिक भएका छन् । प्रमाण पनि जुटेका छन् । यसबारे बालुवाटार चुपचाप छ । बादलको हकमा भने हल्लाखल्ला छ ।

विदेशी लगानीहरूको पारदर्शिताबारे गृहमन्त्री बादलले अनुगमन गर्ने र कारवाही गर्ने योजनाहरू बनाइरहेको बेला बादलमाथिको यस्तो प्रहार सुनियोजित थियो भन्ने कुरा जसले पनि सजिलै अनुमान लगाउन सक्छ । विदेशी लगानीहरू कसले भित्रयाउँछन्, कसका मानिसहरूले भित्र्याउँछन् र मुलुकको आत्मनिर्भरतामाथि तिनले कसरी आक्रमण गर्छन्, गरीबी र नाङ्गा मानिसको तस्वीर, भिडियो देखाएर कसरी डलर हसुर्छन् त्यो सबैलाई थाहा नै छ । नर्वेको डलरमा अक्षरका खेती गरेका उदाहरण तिनीहरूले नै स्वीकार गरेको सत्यता हो । 

हो, प्रधानमन्त्रीले मन्त्रीलाई आदेश गर्न सक्छ, पदबाट मुक्त पनि गर्न सक्छ तर बादलको हकमा इगो र गुटको चुक्लीले राम्रोसँग काम गरेको देखिन्छ । बलात्कारका घटानाक्रमहरू बाहेक अन्य यस्ता घटनाहरू भएका छैनन् जसका आधारमा गृहमन्त्रीले राजीनामा दिन परोस् । हो, बलात्कारको घटना अचाक्ली बढेको छ । गृह प्रशासनले सन्तोषजनक काम गर्न सकिरहेको छैन । फेरि पनि अरू मन्त्री र मन्त्रालयहरूको तुलनामा गृहको काम प्रशंसनीय नै छ । तर बालुवाटारले बादललाई नै पटकपटक अल्टिमेटम दिएर ताकेता गर्नु जायज हैन ।

आफूहरू उखान, चुट्किला हालेर मख्ख हुने । हलमा गलल्ल हाँसेका गुटका कार्यकर्ताहरू देखेसी देशमा विकास भएको ठान्ने, ओली वंशको भेला पनि बालुवाटारमा गर्ने, फेद न टुप्पाका भाषण, वक्तव्यबाजीहरू दिने, विना कुनै योजना यो बनाउने भयौं, त्यो बनाउने भयौं भनेर फुर्ती लडाउने, कामको ठाउँमा ढलेको सिन्का ठाडो नबनाउने, माखो नमार्ने, अनि बादलले यो गरेन बादलले त्यो गरेन भन्यो बस्यो । यो सही हैन । जनताले मूल्याङ्कन गरेका छन् कामको । 

भन्ने नै हो भने नयाँ विमान खरिद प्रकरणमा करोडौं अनियमितता भएका खबरहरू सार्वजनिक भएका छन् । प्रमाण पनि जुटेका छन् । यसबारे बालुवाटार चुपचाप छ । बादलको हकमा भने हल्लाखल्ला छ । यस्तो लाग्छ, प्रधानमन्त्रीको दबाबपश्चात् राष्ट्रपतिको दबाब पनि झेलेको हुनुपर्छ बादलले । र दबाबलाई सामना गर्न त्यो दिन बादल राष्ट्रपति निवास पुगेको सहजै अनुमान गर्न सकिन्छ । प्रधानमन्त्री र राष्ट्रपति दुवैको तर्फबाट दबाब बढाउने काम जसरी बालुवाटरले गरेको छ, त्यो बाहिरबाट हेर्दा मुलुकको हितका लागि होला नि भन्ने सोच्न सकिएला तर यसको भित्री गुदी भने अर्कै छ । 

के हो त्यो गुदी ?

बाध्यताको भुमरीमा रुमल्लिएको बालुवाटारले मिडियाको दबाब थेग्न सकिरहेको थिएन । देशका प्रधानमन्त्री त थिए ओली, तर बालुवाटार भने ओली गुटको कब्जामा थियो । र ती गुटका हिमायतीहरू कोही ‘क’ वर्गमा देश डुबाउने ठेकेदारहरू थिए ।  कोही हरियो नोट भित्र्याउने विदेशी एनजीओका हिमायतीहरू । यातायातका लुटेराहरू पनि थिए । तिनीहरूलाई बादलको काम मन परिरहेको थिएन । बादलको जस्तै हविगत तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले पनि बेहोर्नुपरेको थियो । लोडसेडिङ नहुँदा ‘खोलो सुक्यो भने बत्ती गइहाल्छ, अहिले वर्षायाम भएर पो हो त, हिउँद आओस् न’ भन्ने जस्ता तर्क हुन्थे ती माफियाहरूका । 

माफिया दलालहरूलाई कुन शक्ति लगाएर हुन्छ बादलको बिदाइ कसरी गर्ने भन्ने चिन्ता बढेको देखिन्छ । त्यो चिन्ताको चाङ धेरैजसो बालुवाटारमा प्रतीत हुन्छ । त्यो पनि केवल ओली गुटका मानिसमा प्रतीत हुन्छ । असार मसान्तको १० दिन अघिदेखि बाटो पिच गर्न थाल्ने लुटेराहरू, जनताको करमा पालिएका सिपाहीलाई घरेलु कामदारको रूपमा राख्ने नेताहरू, खरिद प्रकरणमा घोटाला गर्ने चोरहरू यो सबैसबै देशद्रोहीहरू बादलको बिदाइ नै चाहन्छन् । 

तत्कालीन नेकपा एमाले वा हालको कम्युनिस्ट पार्टीभित्र ओली गुट छ । खासगरी यो गुटमा अनुदार दृष्टिकोण पाइन्छ । यस गुटका प्रायः मानिस जातिवादी, नातावादी, सेटिङवादी हुन्छन् । मन्त्री, सचिव, कर्मचारीहरू, प्रहरीहरू थर्काउनका लागी ओली बाले तिनीहरूका कुरा नमानेको, नसुनेको बेला यो गुटका मानिस राष्ट्रपतिलाई समेत गुहार्न दौडेका कैयौं उदाहरण छन् । ‘ओली बाले हाम्रो कुरा नै सुन्नुहुन्न, हजुरले भन्दिबक्सिन्छ कि हजुर’ भन्नेहरूको लर्को लामो नै छ । 

बादलका केही महत्त्वपूर्ण योजनाहरू बाहिर आएपछि विगत केही हप्तायता बालुवाटर परिसरमा  प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई भेट्नका लागि केही समूहहरूको लर्को लागेको थियो । तिनीहरू गृहमन्त्रीको कदमबाट ठाडै प्रभावित बनेका थिए । कम्युनिस्ट पार्टीकै कैयौं नेताहरू भन्छन्, ‘बालुवाटार केपी गुटका मानिसको कब्जामा परेको छ ।’ तिनीहरूले शायद केपी गुटका कार्यकर्ता र मानिसको घेराबन्दीमा बालुवाटार परेको छ भन्न खोजेका होलान् । ती घेरा लगाउनेहरू अधिकांश ठेकेदार र एनजीओकर्मीहरू छन् । बादलका निर्णयहरूले कामचोर दलालहरूको अर्बौं रुपैयाँ नोक्सानी हुने कुरा निश्चित थियो र छ । 

गृहमन्त्रीका कारण आफ्नो व्यापार व्यवसाय चौपटमा परेको, लगानी डुब्न थालेको, गर्न सकिने काम पनि गर्न नसकिने अवस्था आएको, ओली गुटकै निर्माण व्यवसायीहरूलाई छानीछानी सुनियोजित रूपमा कारवाही अगाडि बढाएको जस्ता कुरा लगाएर प्रधानमन्त्री ओलीलाई भड्काएको बुझिन्छ । एउटा विश्वासिलो स्रोतका अनुसार, अघिल्ला दिनहरूमा ठेकेदारहरूको जुन ब्ल्याक लिस्ट बन्यो र तिनका बारेमा कैयांै मिडियाहरूमा समाचार समेत आए, ती मान्छेहरू आफ्नो कालो अनुहार छोप्न निकै दौडधुप गरिरहेका थिए । सबै च्यानलहरू प्रयोग गरिरहेका थिए ।

सत्तापक्षका ओलीले मन्त्रिमण्डल नै पुनर्गठन गर्न सक्छन् तर बादललाई मात्र राजीनामा गराउने चालबाजी खेल्दा त्यहाँ नश्लवादको गन्ध देखिन्छ ।

सबैलाई थाहा छ, भन्सार छलीको, सुन दलालहरूको कनेक्सनको जालो नष्ट गरेको काम अनि यातयात सिन्डिकेटका सन्दर्भमा कडा कदम चालेको कामदेखि लिएर तोकेको समयमा काम सम्पन्न नगर्ने ठेकेदारहरूलाई जसरी गृहमन्त्रीले कारवाहीको प्रक्रिया अगाडि बढाएका छन्, कतिपयको लाइसेन्स नै खारेज गर्नका लागि प्रक्रिया अगाडि बढाएका छन् त्यो धैरैलाई मन परेको छैन । र गृहमन्त्रीका यी कदम मन नपराउनेहरू कुनै न कुनै पार्टी र गुटमा आबद्ध छन् । तिनले चुनावमा करोडौं चन्दा दिएका हुन्छन् । आफ्ना भरपर्दा चन्दादाताहरूको चित्त दुख्दा पनि बालुवाटार बादलको बदनाम गराइरहेको छ । र चौतर्फी हमला भइरहेको छ । 

टिप्पर सञ्चालकहरूको पनि राजनीतिक गिरोह छ जसलाई निश्चित समयको मापदण्ड पनि मन परेको छैन ।  विदेशी लगानीको, एनजीओहरूको हरियो नोटको पारदर्शिताबारे गृहमन्त्रीले चालेको कदम पनि धेरैलाई मन परेको छैन । प्रहरीको काम र मूल्याङ्कनको आधारमा बढुवा तथा सरुवा हुने कुरा त झन् कसैलाई पनि मन परेको छैन । पावर एलिटहरूलाई अर्को भ्रम के छ भने प्रहरीका आईजीपी पनि गृहमन्त्री बादलले नै सिफारिश गरेका बनाएका हुन् । 

प्रचण्डले पनि राम्रो काम गर्न नसके मन्त्री फिर्ता हुनसक्छन् भन्ने वचन दिएका छन् । तर को मन्त्री भनेर तिनले खुलाएनन् । मिडियाहरू र हल्लाका आधारमा त्यो बादल नै हो भन्ने अनुमान गर्न सकिन्छ किनभने यहाँ चलखेल भइरहेको छ । देशी विदेशी चलखेलहरू तीव्र रूपमा भइरहेका छन्, बादलको सन्दर्भमा । तर बादललाई राजीनामा गराउँदा पूर्वमाओवादी खेमाको ‘मोरल डाउन’ हुन्छ कि हुँदैन, त्यो प्रचण्डले जान्ने कुरा भयो । सत्तापक्षका ओलीले मन्त्रिमण्डल नै पुनर्गठन गर्न सक्छन् तर बादललाई मात्र राजीनामा गराउने चालबाजी खेल्दा त्यहाँ नश्लवादको गन्ध देखिन्छ । र यो कुरा पक्का हो, मुलुकमा नश्लको आधारमा विभेद छ । 

हामीले त विवेचना गर्ने हो, चीज त यही पुरानो गीतले बताउनेछ : ‘आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ ।’

सिंहदरबारमा ‘बादल’को चुपचाप क्रान्ति !

भदौ २४, २०७५ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस