कर्मचारी सञ्चय कोष पूँजी बजारमा प्रमुखताका साथ आउनुपर्छः अर्थमन्त्री

भदौ ३१, २०७५

काठमाडौं । 
अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चय कोष पूँजी बजारमा पनि प्रमुख रुपमा आउनुपर्नेपर्ने बेला भएको बताएका छन् । कर्मचारी सञ्चयकोषको ५७ औ वार्षिकोत्सव समारोहमा बोल्दै अर्थमन्त्री खतिवडाले सञ्चय कोषको लगानीयोग्य रकमलाई एक वर्षभन्दा वढी अवधिको निक्षेपमा लगानी गरी पूँजी बजारमा आउनुपर्ने बताए । उनले सरकारको नीति अनुसार कर्मचारी आवासका लागि काम गर्न पनि कोषलाई आग्रह गरे ।

कार्यक्रममा राजश्व सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष शिशिरकुमार ढुंगानाले सञ्चय कोषमा रहेको रकमको दीर्घकालिन ब्यवस्थापन गर्न श्रोत ब्यवस्थापन र लगानी विविधिकरणमा सुधार गर्नुपर्ने बताए । उनले कोषलाई सुदृढ सामाजिक सुरक्षण संयन्त्रको रुपमा विकास गर्दै लैजानु अहिलेको प्रमुख आवश्यकता भएको बताए ।


ADVERTISEMENT


कार्यक्रममा कोषका प्रशासक तुलसी प्रसाद गौतमले नेपाल सरकारले अघि सारेको एकिकृत सामाजिक सुरक्षाको अवधारणलाई सार्थक तुल्याउन आफू प्रतिबद्ध रहेको बताए । कार्यक्रममा कोषमा २५ र १५ वर्ष सेवा गर्ने ३ कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो । यसैगरी  एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने कर्मचारीका सन्ततिलाई पुरस्कृत गरिएको थियो । 

वि.सं.२०१९ भदौ ३१ गते स्थापना भएको कर्मचारी सञ्चयकोषमा हाल ६ लाख सञ्चयकर्ताहरुको करिव ३ सय अर्व बरावरको वित्तिय स्रोत रहेको छ । कोषले मुलुकको पूर्वाधार विकासको लागि विभिन्न जलविद्युत कम्पनीहरु माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत कम्पनीद्धारा प्रबर्धित विभिन्न जलविद्युत आयोजनामा ऋण लगानी गरिरहेको छ भने नेपाल बायु सेवा निगमलाई विमान खरिद गर्न ऋण लगानी गरेको जनाइएको छ । 

भदौ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस