त्रिभुवन विमानस्थलबारे भाजपा नेताको विवादास्पद टिप्पणी

असोज ६, २०७५

काठमाडौं-भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल खतरनाक भएको भन्दै नेपालका प्रधानमन्त्रीलाई आफूले चिठ्ठी लेखेको एक पत्रमार्फत खुलासा गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकारसमेत रहेका जौलीले नेपालको हवाई मैदानका कारण ठूला दुर्घटना भएको र यस बारेमा नेपालको नागरिक उड्डयन प्राधिकरणलाई पटकपटक जानकारी गराउँदासमेत बेवास्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले चिठ्ठी लेखेर काठमाडौं एयरपोर्टको बारेमा जानकारी गराएको भन्दै विवादास्पद विज्ञप्ति सार्वजनिक गरेका छन्।


ADVERTISEMENT

हिन्दी र अंग्रेजी भाषामा प्रकाशित विज्ञप्तिमा त्रिभुवन विमानस्थलको खराब मैदानका कारण यूएस बांगलाको विमान दुर्घटना भई ४९ जना यात्रु मारिएको र टर्किस एयरलाइन्सको विमान दुर्घटना भएको भन्दै नेपालमाथि गम्भीर आरोप लगाइएको छ।

जौलीले जारी गरेको विज्ञप्तिमा २०१२ सालमा बनेको विमानस्थल ६३ वर्ष बितिसक्दा एकपटक पनि मर्मत नभएका कारण जुनसुकै बेला जस्तोसुकै दुर्घटना हुने चेतावनी दिँदा पनि नेपालको नागरिक उड्डयन प्राधिकरणको आँखा खुल्न नसकेको आरोपसमेत लगाइएको छ।

नेपालका बारेमा खोज गर्दै आएका दीपेन्द्र कँडेलले आफूलाई भेटेर नेपालको विमानस्थलका बारेमा जानकारी गराएको र ८ अगस्ट २०१८ का दिन ओमानको राजधानी मस्कटबाट काठमाडौं उडेको ओमान एयरको विमान काठमाडौं विमानस्थल अवतरण गर्ने क्रममा धावनमार्ग बिग्रिएको र काठमाडौंको मौसम खराब भएको कुरालाई गुमराहमा राखेका कारण विमानले नेपालको आकाशमा ११ चक्कर लगाउनुपरेको जानकारी आफूलाई गराएको विज्ञप्तिमा उल्लेख छ। नेपाल समाचारपत्रमा खबर छ । 

असोज ६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस