पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
पहिलो किस्सा
भीम श्रीस काकालाई दुलही खोज्न जाँदा झिसमिसेको अँध्यारोमा मलाई कुकुरले तिघ्रामा उसका चार दाँत गाडेको थियो । त्यो दुखाइको तीव्रताको स्मरण हाल गर्न त सकिन्न तर दाँतको निशान ६ महिनासम्म रहिरह्यो । आजको मितिसम्म कुकुरले ३ पटक दाँत गाडिसकेको छ । त्यसैले होला मलाई उत्तर कोरियाका शासक किम जोङ–उनको परमाणु बमसँग खासै डर लाग्दैन तर गाउँघरमा पुच्छर हल्लाएर लखरलखर डुल्ने कुकुरहरूसंँग बहुत डर लाग्छ ।
ती दिनहरूमा काकालाई उत्पात बैंस चढेको थियो । जसरी पनि बिहे गरेरै छाड्ने उहाँको संकल्प थियो । राइट दाजुभाइले जसरी विमान उडाउने संकल्प गरेका थिए, काकाको संकल्प नि त्यस्तै कडा थियो, बिहे गर्ने । भएका–नभएका गफ दिएर केटी फकाउने कला मसँग प्रचुर मात्रामा भएको कुरामा काकालाई कुनै सन्देह थिएन । काकाको बिहे भइहाले मज्जासँग हाँसको मासु खान पाइएला भन्ने मेरा पनि आफ्नै किसिमको स्वार्थ थियो ।
दुलही खोज्न जाँदा मुख्य कर्ता म नै हुन्थें । दुलही खोज्ने क्रममा गाउँमा हल्ला चलेको केटीको घरमा वास माग्न जाँदा केटीका बा–आमाले के भन्लान् भन्दा पनि त्यो घरमा कुकुर होला कि नहोला भन्ने चिन्ता हुन्थ्यो किनभने म आफ्ना शरीरमा कुकुरका दाँतहरू पटकपटक गाडिएको सहन सक्दिनथें । घरजम गर्ने काकाको चाहनालाई पूरा गर्नका निम्ति मेरा तिघ्रा र पाखुराहरू कुकुरलाई टोकाउनैपर्छ भन्ने पनि थिएन ।
कुकुरले मलाई चर्को आवाजमा भुक्दै खेदाएका कारण काकाको दुलहा बन्ने सपना लामो समयदेखि पूरा हुन सकिरहेको थिएन । फलस्वरूपः कुकुरले मलाई ५ किलोमिटर परसम्म खेदाएको थियो । रिसको झोकमा एकदिन काकाले मलाई भन्नुभयो, ‘दश महिना जति भइसक्यो यार, खै तैंले केटी मिलाएको ? आज मिलाउँछु भन्छ, भोलि मिलाउँछु भन्छ, पर्सि त पक्का मिलाउँछु भन्छ । यहाँ आफूलाई तनाव भइसक्यो ।’ काकाले थप्नुभयो, ‘म त हेन्डसम छु, तँ नै चोर जस्तो देखिएको कारण मैले केटी पाउन सकिनँ । कुकुरले तँलाई चोर जस्तो देखेर खेदाएको हो ।’
अन्तिममा काकाकै मुखारविन्दबाट चोरको संज्ञा पाएपछि एकबारको जुनी फिक्का–फिक्का लाग्न थाल्यो । तर मैले हिम्मत हारिनँ । मीठा–मीठा कुरा गरेर केटी फकाउने काम जारी नै राखें । तिनताका यस्तो चलन थियो कि, ‘आफूलाई मन परेकी केटीको घरमा वास बस्न जाने, तिनका बा–आमालाई टन्न कुखुराको मासु र दारुपानी खुवाएर हिमचिम बढाउने र उज्यालो हुन नपाउँदै केटी भगाएर घर फर्कने ।’ तर कुकुरकै कारण कैयांै त्यस्ता योजनाहरू सफल हुन सकिरहेका थिएनन् । केटीको मन पगाल्न मध्यरातमा कानमा खस्याकखुसुक मात्र हैन, गीत समेत गाउनुपर्ने । मध्यरातमा गीत गाउँदा कुकुर चम्केर गाउँ नै थर्काएर भुक्ने । बडो फसाद !
आखिरीमा काकाको बिहे पनि हुन सकेन । मलाई कुकुरले खेदाउन पनि छाडेन । त्यसयता कुकुर प्रजातिसँग मेरो भरोसा टुट्यो । बाटोमा कुकुर देख्यो कि ढुङ्गा उचालेर हान्न थालें । आँटेको काम पूरा हुन नदिने, बेकारमा भुक्ने, टोक्न आउने कुकुरहरू निकै खराब हुन्छन् भन्ने छाप पर्यो मेरो मनमा । तर मेरा हजुरबा बेलायती सेनामा काम गरेर फर्किनुभएको थियो । उहाँले मलायासँगको युद्धको समयमा कुकुरकै सहयोगले आफू बालबाल बाँचेको अनेकौं किस्साहरू सुनाउनुहुन्थ्यो । ती किस्साहरू सुनेर पनि कुकुरका बारेमा मेरो धारणा राम्रो बनेन ।
तर केही दिनअघिको एउटा घटनाले कुकुर प्रजातिका बारेमा मेरा सोचहरू पूरै परिवर्तन गरिदिएको छ । एकपटक मेरा ती कर्महरू, बुझाइहरूका बारेमा गम्भीर भएर सोच्न बाध्य बनाएका छन् । कुकुरहरू वास्तवमा मानवजातिको रक्षाका लागी जन्मिएका हुन्छन् र तिनलाई माया दिन सक्यो भने मानवजातिको लागि आफ्नो ज्यान पनि अर्पण गर्न सक्छन् भन्ने लाग्यो । यो पढ्दै गर्दा तपाईंहरूलाई लाग्ला, के यस्तो सतही कुरा लेख्या होला यो मान्छेले भनेर । यो सतही हो पनि, हैन पनि ।
बिहानको समयमा सामान्य कसरत गर्ने बानी छ मेरो । यस्तो बानी बसेको ६ महिना जस्तो भयो । त्यो दिन म बिहानै मर्निङ वाक गरेर फर्कंदैथिएँ । सडकको किनारमा एकजना युवती सुतिरहेको देखें । बजार पूरै बन्द थियो । बिहानको समयमा कोही उठ्ने कुरा पनि भएन, केही मर्निङ वाकमा निस्केकाहरूबाहेक अरू कोही थिएनन् सडकमा । यस्तो समयमा एक युवती सडकपेटीमा सुतेको देख्दा मनमा चिसो त पस्ने नै भयो ।
देशमा बलात्कारका घटनाहरू बढिरहेका बेला झन् यस्तो दृश्यले चनाखो त बनाउने नै भयो । हुन त शहर बजारमा सडक बालबच्चाहरू यसरी हिँडेको, बसेको धेरै नै देख्न सकिन्छ । तर झट्ट हेर्दा ती युवती सडकमा मागेर गुजारा चलाउने खालकी हुन् जस्तो लागेन । कुनै विपत् पो पर्यो कि भनेर म ती युवती सुतेको स्थाननजिक गएँ । तर उनको साथमा थियो एउटा कुकुर । उनी मस्त सुतिरहेकी थिइन् तर उनलाई सहारा दिइरहेको थियो कुकुरले । र त्यो कुकुरको आँखा र शरीर रातभरि नसुतेको जस्तो थियो ।
त्यो कुकुरले ती युवतीको लुगा आफ्ना दाँतहरूले च्यापेर बसिरहेको थियो । म ती युवतीलाई उठाउन जाँदा मलाई कुकुरले खेदाउँथ्यो । मैले फेरि ती दिनहरू सम्झें जतिबेला काकालाई दुलही खोज्न जाँदा मलाई कुकुरले ५ किलोमिटरसम्म खेदाएको थियो । मेरा तिघ्रा र पाखुराहरूमा दाँत गाडेको थियो । ती दिनहरू सम्झेर मलाई फेरि पनि रिस उठ्यो । फेरि पनि कुकुर प्रजातिसँग घृणा जाग्यो । तर यतिबेला मेरो चेतनाको स्तर भने अलिक फरक थियो ।
त्यो के भने आज कुकुरले मलाई किन खेदायो, किन टोक्यो त्यो अहिले म महसूस गर्न सक्छु । कुकुरका बारेमा मन्थन गर्न सक्छु । हिजो पनि कसैको रक्षाका निम्ति कुकुरले मलाई खेदाएको हुनुपर्छ । तिघ्राहरूमा दाँत गाडेको हुनुपर्छ किनभने त्यो कुकुरको ‘कमन सेन्स’ ले त्यतिबेलाको हाम्रो योजना थाहा पाएको हुनुपर्छ । अरूको घरमा कोही नयाँ मान्छे किन घुस्छ ? रातिराति किन हल्ला गर्छ ? यी सब कुकुरलाई थाहा हुनेरहेछ । पढ्दा तपाईंहरूलाई हाँसो लाग्ला ।
कुकुरले आज पनि खेदाइरहेको छ । जबजब म सडकपेटीमा सुतिरहेकी ती युवतीलाई अलिक चर्को आवाज निकालेर बोलाउन खोज्थें, उनको साथमा रहेको त्यो कुकुर बडो रिसाएको भावमा आँखा तेर्साएर मसँग आँखामा आँखा जुधाउँथ्यो । उसले भनेजस्तो लाग्थ्यो, ‘तिमी नाथेहरू चेलीबेटीको अस्मिता जोगाउन सक्दैनौ, बरू अवसर मिल्यो भने लुट्छौ । जबर्जस्ती गर्छौ, के हलो हलो हलो गरिराखेको ? गइहाल, यहाँ एक सेकेन्ड पनि नबस ।’
मैले धेरै प्रयास गरें ती युवतीलाई उठाउन तर कुकुरले मलाई पटकपटक अवरोध गरिरह्यो । अब जबर्जस्ती गरौं भनेपनि टोक्ला भन्ने डर । सबैभन्दा त मलाई कुकुरको असली मनोविज्ञान बुझ्ने अवसर प्रनाप्त भयो किनभने कुकुरको फोबिया थियो मलाई । त्यो दिन मैले कुकुरको मनोविज्ञानसँग करीब ३० मिनेटसम्म खेलिरहें । तीस मिनेटसम्ममा बरू मानिसहरूले अडान परिवर्तन गर्लान् तर त्यो कुकुरले आफ्नो अडान परिवर्तन गरेन । त्यो अडान हो – ती युवतीको छेउमा मलाई पर्नै नदिनु ।
मैले ती युवतीमाथि गडबड गर्छु भनेर कुकुरले सोच्यो होला कि ? के यौन हिंसाको बारेमा कुकुरलाई थाहा हुन सक्छ ? के ती युवतीलाई मैले भन्दा धेरै प्रेम, सहानुभूति कुकुरले दर्साएको हुन सक्छ ? के कुकुरलाई लागेको हुन सक्छ कि केटाहरूबाट यी युवती असुरक्षित छन् भन्ने कुरा ? के कुकुरलाई थाहा भएको हुन सक्छ कि दैनिक रूपमा हुने गरेका बलात्कारका विषयमा ? के ती युवतीको रक्षाका निम्ति कुकुरलाई खातिरदारी देखाउन मन परेको हुनसक्छ ?
यस्ता प्रश्नहरूले मलाई बिथोलिरहे । निकै मुश्किलले एउटा फोटो खिच्न भ्याएँ तर ती युवतीको नजिक जान कुकुरले वन्चित गरायो । तर यसपटक भने म कुकुर प्रजातिसँग रिसाउने पक्षमा थिइनँ । कुकुरलाई ढुङ्गाले हान्ने मनस्थिति पनि बनेन । बरू एकटपक सलाम गर्न मन लाग्यो । कुकुर प्रजातिप्रतिका मेरा कमजोर, कमसल अनि सतही धारणाहरूसँग निकै आत्मग्लानि भयो । हामीले कसैलाई नराम्रो गाली गर्न पर्यो भने ‘कस्तो कुकुर जस्तो मान्छे रहेछ’ भन्छौं । तर त्यो गलत रहेछ । वास्तवमा मान्छेहरू कुकुर जस्तो इमान्दार बन्न सकेकै छैनन् ।
कुकुरले छेउमै पर्न नदिएपछि म के गरूँ ? बिहानको समय छ । उपाय केही भएन । ती युवतीलाई घर लग्न पनि त सक्दिनँ । कुकुरका अवरोधका बीच जबर्जस्ती उठाउन पनि मिलेन । अनि अलिक पर प्रहरीहरूले ड्युटी गरिरहेको देखें । सरासर उनीहरू भएतिर गएँ । तर खुशीको कुरा के भने उनिहरूले पनि ती युवतीलाई देखेका रहेछन् । कुकुर पनि देखेका रहेछन् । ती युवती उठेपछि सोधपुछ गर्ने योजना रहेछ उनीहरूको ।
प्रहरीहरूको आशंका थियो, ‘कुनै होटलमा मजदूरको रूपमा कार्यरत हुनुपर्छ यी नानी । मालिक वा सहकर्मीहरूसँग झगडा भएपछि कामबाट निकालिएको वा आफैं निस्किएको पनि हुन सक्छ । हिजो राति मदिरा खाएर यहाँ आई सुतेकी हो कि भन्ने पनि लाग्छ किनभने चप्पलमा हिलैहिलो छ । कहिल्यै नखाएको होला, बढी नै लाग्यो कि !’ प्रहरीहरूको अनुमानसँग असहमति जनाऊँ कसरी ? उनीहरू त राज्यका तालिमप्राप्त, अधिकारप्राप्त मानिसहरू । मैले ‘ए होला, होला’ भनें ।
प्रहरीहरू अलिक परै चोकमा थिए । तर कुकुर भने तिनै युवतीको साथमा थियो । ती नानी ब्युँझेपछि हामी के कसो हो पत्ता लगाएर अभिभावकलाई जिम्मा लगाउँछौं भन्ने आश्वासन मिल्यो र त्यो आश्वासनलाई शंका गर्नुपर्ने स्थिति पनि बनेन किनभने त्यहाँ महिला प्रहरी पनि हुनुहुन्थ्यो । उहाँले, ‘म गर्छु भाइ, चिन्ता नगर’ भन्नुभयो । मैले भनें, ‘यो चिन्ताको विषय भन्दा पनि कसैले बलात्कार गरेको पो हो कि, राज्यलाई पनि यो विषयले संकट पारेको छ’ भन्दिएँ । प्रहरीहरू अलिअलि झस्के जस्तो गरे ।
हामी गर्छौं नै भन्ने विश्वास उनीहरूबाट पाएपछि म फेरि पनि युवती सुतिरहेको सडकपेटीमा आएँ । कुकुर सँगै थियो । म फेरि फर्केको देखेर कुकुर फेरि चनाखो भयो । पुच्छर हल्लाउँदै फेरि तिनै युवतीको लुगा टोक्दै घेरा हाल्न थाल्यो । यस्तो लाग्थ्यो, मानौं मैले ती युवतीमाथि आक्रमण गर्न खोज्दैछु र कुकुरले बचाउने प्रयास गर्दैछ । कुकुरले यस्तो भन्दै इशारा गरेजस्तो लाग्यो – ‘तँ निकम्मा मान्छे, गइहाल्, यहाँबाट तुरुन्त गइहाल् । म छु यिनको साथमा र यिनको जिम्मा मैले लिएको छु ।’
अनि म विवश भएर त्यहाँबाट हिँडें, आँखामा आँसु छचल्काएर ।
दोस्रो किस्सा
त्यसको दुई दिनपछिको मर्निङवाकमा फेरि अचम्म भयो । तर यो प्रसङ्ग कुकुरको हैन । यो प्रसङ्ग मानिसको हो । त्यो दृश्य देखेपछि नै मैले एउटा स्टोरी लेख्छु र त्यसको शीर्षक ‘मान्छे जस्तै कुकुरहरू, कुकुर जस्तै मान्छेहरू’ राख्छु भन्ने निर्णयमा पुगें । बिहानकै समयमा दुई दिनको अन्तरालमा देखिएका यी फरक दृश्यहरूले मानिस र कुकुरहरू बीचमा धेरै भिन्नता छ भन्ने सन्देश गजबसँग दिएको थियो ।
एकजना मनस्थिति गुमाएको मानिस, जसले के गरे के हुन्छ, के बोले के हुन्छ भन्ने थाहा पाउन नसक्ने खालको असहाय थियो । त्यो मान्छे ठीकठाक हुन्थ्यो भने त एक महिनासम्म नधोएको फोहर लुगा लगाए हिँड्ने थिएन होला । ल हिँड्यो रे, त्यो पनि मानियो । तर अरूको पसलअगाडि आएर चिसो भुइँमा सुत्ने थिएन होला । ल सुत्यो रे, त्यो पनि मानौं तर कम्तीमा उसले आफ्नो नाम र ठेगाना त बताउन सक्थ्यो होला ।
यस्तो सुखी मान्छे आफ्नो पसल अगाडि सुत्यो भनेर सडकमा लौरालौराले पशुलाई जसरी कुट्न मिल्छ त ? त्यसरी त पशुलाई पनि कुट्न मिल्दैन । बरू सेवाको भाव छ भने पाटन अस्पतालसम्म पुर्याउने काम गर्न सकिन्छ । तर ती साहु महाजनहरूले के गर्दा रहेछन् भने आफ्नो मूड बिगारिदिएको, बिहान बिहान साइत बिगारेको भन्दै लात्तीले तिनको टाउकोमा हान्ने, बाल्टीमा ट्वाइलेटको पानी ल्याएर छ्यापिदिने, लौरोले सर्पलाई जस्तो चलाउने । जा पागल जा, भाग् यहाँ नसुत् साले भन्ने ।
बिचरा उसलाई केही थाहा छैन । शरीरमा दुखाइ भएपछि, चिसो पानीले शरिर भिजेपछि मुखबाट केही आवाज निकाल्दो रहेछ । अईया,अईया भन्दो रछ । म भन्छु, त्यो रोदनको आवाज थियो । एक प्रकारको प्रतिकारको भाष्य थियो । तर आफूहरू जस्तो साहु महाजनलाई मुख छाडेको भन्दै उनीहरूले निर्मम ढंगले पिटिरहे । म बबुरो बटुवा । आक्रोशित साहु महाजनहरूले मेरो कुरा सुन्ने, मान्ने अवस्था रहेन । एएएए, हजुर, असहायलाई नकुट, छोड, यसो नगर भन्ने अनुरोध तिनका लागि बिलौना गरेको जस्तो भयो । तिनले त झन् जोशका साथ कुट्न थाले ।
नजिकै ड्युटीमा रहेका प्रहरी पनि आए । तिनले सत्यतथ्य जान्ने प्रयास नै गरेनन् । तिनले साहु महाजनको अनुहार हेरे, अनि हेरे ती असहाय मानिसको अनुहार । अनुहार हेरेकै भरमा ती प्रहरीले दोषी पत्ता लगाए र झन् कडा तरिकाले कुट्न थाले । अइया, अइया भनिरह्यो असहायले तर कुटाइ रोकिएन । मैले मनमनै सोचें, अब यिनको बिहे देखाइदिनुपर्छ । असहायलाई त यिनीहरूले नछाड्ने नै भए, बोल्यो भने मलाई पनि कुट्छन् । अनि मैले चुपचाप कुनामा लुकेर जूम गर्दै भिडियो खिचिरहें ।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि त्यसले चर्चा पायो । प्रहरी प्रधान कार्यलयले चासो देखायो । अहिले छानबिन समिति बनेको छ । त्यो समितीले छानबिन गरेर दोषीउपर कारबाही त गर्ला नै । तर यहाँ कोही कारवाही हुने र नहुने भन्दा पनि हाम्रो समाज किन यति धैरै असहिष्णु बन्दैछ भन्ने हो । बरू कुकुरहरूसँग चेनता छ तर मान्छेहरूसँग छैन ।
हेर्नुहोस् भिडियो :
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...