जनकपुरमा थला परेको गान्धीकालीन उद्योग : गुम्यो रोजगारीदेखि उत्पादनसम्म

असोज २०, २०७५

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका सदरमुकामभन्दा ५ किलोमिटर उत्तरमा बसहिया गाउँ छ । विगतमा छुट्टै गाविसको रुपमा परिचित रहेको बसहियाको पहिचान फेरिएको छ । गाउँ नै भएपनि अब जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २४ को पहिचान प्राप्त भएको छ ।

उपमहानगरको अंग बनिसकेपनि बसहियाको स्वरूप भने फेरिएको छैन । हिजोको जस्तै अहिले पनि गाउँकै स्वरूपमा रहेको छ बसहिया ।


ADVERTISEMENT

बसहियामा भारतका राष्ट्रपिता महात्मा गान्धीबाट प्रेरित भएर खोलिएको गान्धी सेवा आश्रम छ । नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीद्वारा निर्मित गान्धी आश्रम वर्षौदेखि बन्द रहेको छ ।

कुनै बेला त्यहाँ चर्खाको प्रयोगले कपासबाट धागो बुन्ने, सुट काढ्ने र खाँडीको कपडा तयार पार्ने काम हुने गरिन्थ्यो । तर, अहिले त्यो बन्द अवस्थामा छ ।

करीब १२ वर्षदेखि सबै काम बन्द रहेको आश्रम रेखदेखमा खटिएकी ७५ वर्षीया स्थानीय कौशिल्यादेवी कर्णले बताइन् । विक्रम सम्वत् २०४१ सालमा उनी आश्रममा सिलाइ प्रशिक्षकका रूपमा नियुक्त भएकी थिइन् । १० वर्षअघि उनी अवकाश प्राप्त गरिन् । त्यसपछि त्यही आश्रमलाई रेखदेख गर्नका लागि उनलाई त्यहाँ आवाससहित २ हजार रुपैयाँ मासिक पारिश्रमिकमा राखिएको थियो । अहिले उनको तलब मासिक ५ हजार रुपैयाँ तोकिएको छ ।

‘कामधाम त केही पनि छैन, त्यही रेखदेख गर्नुपर्छ, संरक्षण गर्नुपर्छ,’ उनले भनिन् । त्यहाँ रहेको चर्खा तथा उपकरण एउटा कच्ची घरको कोठामा थन्क्याएर राखिएको छ । केही बोरामा विगतकै कपास भरेर राखिएको छ ।

अहिले त्यहाँ पहिलेजस्तो काम हुँदैन । विगतमा त्यहाँबाट विभिन्न किसिमका खाँडीका कपडा तयार हुने गर्थ्यो । धोति, कुर्ता, सल, गम्छा लगायतका सामग्री बनाइन्थ्यो । गाउँगाउँमा कपासको खेती हुन्थ्यो, बाँग र रुई (कपास) गरी २ प्रकारको कपासको खेती हुने गर्थ्यो ।

‘त्यसका लागि आश्रमकै जग्गामा उब्जाउने काम हुन्थ्यो भने गाउँघरका किसानले उत्पादन गर्ने कपास पनि किन्ने गरिन्थ्यो,’ कौशिल्यादेवीले सम्झँदै भनिन्, ‘तौल बजन गरेर कपास गाउँगाउँमा पठाइन्थ्यो ।’ ३५ रुपैयाँ प्रतिकिलो सुट बनाउनका लागि गाउँगाउँका महिलाले किनेर लैजान्थे । १ किलोग्राम कपासबाट २ सय ५० ग्राम देखि ३ सय ग्रामसम्म सुत (धागो) बन्थ्यो ।

‘त्यही सुत फेरि आश्रमले ती महिलाहरूबाट ४ सय रुपैयाँ प्रतिकिलोका दरले किन्ने गर्थ्यो,’ कौशिल्याले लोकान्तरसँग भनिन् । त्यसपछि सुतलाई चर्खामा राखेर बुन्ने काम हुन्थ्यो । त्यसका लागि भारतबाट १० जनासम्म बुनकर (बुनाइको काम गर्ने कालिगढ) कार्यरत थिए । १ दिनमा १ जना बुनकरले ५ देखि १० मिटरसम्मको कपडा तयार पार्थे । जम्मा ५ वटा बुनाइ मेसिनमा कपडा बुन्ने काम हुन्थ्यो । १ मेसिनमा पालैपालो २ जना कलिगढले काम गर्थे ।

बागबाट बन्ने सुत पातलो हुने भएकाले कपडा महंगोमा बिक्री हुन्थ्यो भने कपासको रुईबाट सुत मोटो हुने भएकाले सस्तोमा बिक्री हुन्थ्यो । पातलो १ सय २० देखि १ सय ३० रुपैयाँसम्म प्रतिमिटर र मोटो १ सय रुपैयाँसम्म प्रतिमिटर कपडा बिक्री हुने गर्थ्यो ।

‘बसहियामा रहेको गान्धी आश्रमबाट तयार भएको कपडा जनकपुरधामको भानुचोकस्थित गुठीको क्षेत्रीय कार्यालयमा भण्डारण हुने गर्थ्यो र त्यहीँबाट ती कपडा बिक्री हुने गर्थे,’ कौशिल्याले भनिन् । तर, अब त्यहाँ कुनै काम भइरहेको छैन । आसपासका ग्रामीण क्षेत्रका किसानको प्रत्यक्ष आम्दानीको स्रोत र रोजगारी गुमेको छ ।

नेपालका गान्धीको योगदान

तुलसीमेहर श्रेष्ठलाई नेपालको गान्धी भनेर जनकपुर क्षेत्रमा भन्ने गरिन्थ्यो । उनकै पहलमा आश्रम सञ्चालन गरिएको थियो । राणाकालीन समयमा राणाले श्रेष्ठलाई देश निकाला गरेपछि भारतका राष्ट्रपिता महात्मा गान्धीको सावरमति आश्रममा उनले शरण लिएका थिए ।

भारतको स्वतन्त्रता आन्दोलनमा गान्धीसँगै लागेका श्रेष्ठ नेपालमा पनि स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले चर्खा प्रचारका लागि गान्धीद्वारा दिइएको रकम लिएर स्वदेश फर्किए । 

स्वदेश फर्केर घरघरबाट एक मुठी माना चामल संकलन गर्ने अभियान चलाए । साथै, ग्रहण पर्दा ग्रहण दानमा दिइने चामल संकलनका लागि शंखमुल नदीमा कपडा ओछ्याउनेजस्ता कार्य गरी सहयोग जुटाउने काम गरेका थिए उनले ।

भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु समेतले तत्कालीन भारतीय राजदूतद्वारा रकम सहयोग दिलाएका थिए । सोही सहयोगबाट देशका विभिन्न ठाँउमा भवन निर्माणसहित जग्गा तथा विभिन्न सम्पत्ति उपलब्ध भएको थियो ।

श्रेष्ठ गान्धीँगै बसेका कारण चर्खाद्वारा सुत काति खाँडी उत्पादन तथा आवश्यक कच्चा पदार्थ कपास (रुई) उत्पादनका लागि धनुषाको हरिहरपुरमा ३४ विघा जमिन खरिद गरेका थिए । धनुषाकै बसहियामा ३ विघा जग्गा खरिद गरेका थिए भने महोत्तरी मटिहानीका तत्कालीन मानमहन्थद्वारा २ विघा जग्गा वृद्धाश्रम र अनाथाश्रम सञ्चालनका लागि उपलब्ध गराइएको थियो । 

बसहियामा सञ्चालन गरिएको गान्धी आश्रममा ८ वटा तान, चर्खा समेत उपलब्ध गराई खाँडी उत्पादनको कार्य हुने गर्थ्यो । खाँडी कपडा उत्पादन भइसकेपछि बिक्री वितरणका लागि स्मारकका जनकपुर नगरपालिका–२ भानु चौकमा लगभग ५ कठ्ठा जमिनमा रहेको भवनमा भण्डार गरेर बिक्रीवितरण हुने गरेको थियो ।

हाल बसहियाका तान बन्द अवस्थामा रहेका छन् । कपास उत्पादनका लागि हरिहरपुरमा ७७ विघा जमिन खरिद गरिएपनि धेरै जग्गा बिक्री गरिसकिएको बताइएको छ ।

मोरङको अमरदह गाविस–७ मा २० विघाको एउटा प्लट र ५ विघाको अर्को प्लट छन् । त्यसबाट लाखौं रकमको धान उत्पादन गरी आम्दानी आउने गर्छ । काठमाडौंको मंगलबजार, खिचापोखरी, बनेपा सहितका ठाउँमा करोडौंको सम्पत्ति रहेको छ । 

श्रेष्ठले यति महत्त्वपूर्ण कार्य गरेकै कारण उनको जीवनको उत्तरार्धमा सन् १९७७ मा भारत सरकारले अन्तर्राष्ट्रिय जवाहरलाल नेहरु पुरस्कारले सम्मानित गरेका थियो । 

जनकपुरको भानु चौकस्थित भवनको मासिक भाडाबापत लगभग २ लाख रुपैयाँ रकम जति आम्दानी आउने गरेको छ । श्रेष्ठपछि प्रधानमन्त्री समेत रहेका मातृकाप्रसाद कोइराला, नेपाली कांग्रेसका महामन्त्री एवं विक्रम सम्वत् २००७ सालमा जनकपुर जनसरकार प्रमुख भएका गान्धीवादी नेता महेन्द्रनारायण निधि, कार्यवाहक अध्यक्ष रामनारायण श्रेष्ठ, भद्रकाली मिश्र, भद्रा घले लगायतका व्यक्ति समितिका अध्यक्ष भइसकेका छन् । तुल्सीमेहर श्रेष्ठ महागुठीको संस्थापक हुन् । 

बन्द आश्रमको सञ्चालनका लागि न त गुठीले ध्यान दिएको छ, न त सरकारी प्रयास नै । गत मंगलबार जनकपुरमा पनि महात्मा गान्धी जन्मजयन्तीको अवसरमा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतदेखि कतिपय प्रदेश सांसदले सडकमा झाडू लिएर स्वच्छता अभियान अन्तर्गत सन्देश दिन खोजेपनि उत्पादनसँग सम्बन्धित आश्रम सञ्चालन गर्ने वा नयाँ उद्योग कारखाना सञ्चालन गर्नेतर्फ कुनै पनि काम भएको छैन ।

कृषिसँग जोडिएको उत्पादनमूलक उद्योग कारखाना सञ्चालन गरेर लघु तथा घरेलु उद्योगको स्थापना, सञ्चालन र प्रबद्र्धन गर्न सके ग्रामिण महिलाले फेरि पनि घरमै रोजगारीको अवसर प्राप्त गर्न सक्नेतर्फ स्थानीय सरकारदेखि प्रादेशिक सरकार र स्थानीय सरकारको ध्यानाकर्षण हुनु आवश्यक रहेको बसहियाका स्थानीय बताउँछन् ।

‘अहिले पनि गुठीको धेरै आम्दानी भइरहेको छ । गुठीले फेरि पनि आश्रममा उत्पादनको काम शुरू गर्नुपर्यो,’ बसहियाका स्थानीय मनोज मण्डलले भने, ‘गुठीले नगर्ने हो भने स्थानीय सरकार वा प्रदेश सरकारले बन्द कारखाना सञ्चालन गर्न पहलकदमी लिनु आवश्यक छ ।’

असोज २०, २०७५ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस