देखावटी सदाचार होइन, सत्कर्मको खाँचो

असोज २३, २०७५

इमान्दारिता र नैतिक निष्ठामा रहनु सदाचार हो । व्यक्तिका आचरण वा व्यवहार उचित रहनु सदाचार हो । इमान्दारिता, आदर, स्वच्छता, उचित कार्य, सत्यनिष्ठा आदिलाई सदाचारका समानार्थी रुपमा लिने गरिन्छ । सामान्य बुझाइमा मानवीय कर्तव्य अवलम्वन गर्नु सदाचार हो ।

मानिस सर्वश्रेष्ठ प्राणी हो । उससँग विवेक, बुद्धि, विवेक र संस्मरण छ । यी क्षमता आफू र अरुको साझा हितका लागि नै मानव जातिले प्राप्त गरेको हो । आफू मात्र सुखी र समृद्ध बन्नु मानिसको न धर्म हो न कर्म । सामाजिक प्राणीका रुपमा कतिपय व्यवहारलाई सयंमित भएर अपनाउनुपर्छ । 


ADVERTISEMENT

कतिपय हक र अधिकार अरुमा समर्पित गर्नुपर्छ । सदाचारको सिद्धान्तले व्यक्तिलाई स्वाधिन र उन्मुक्त मान्दैन, विवेकशील र संयमित मान्दछ । सार्वजनिक जीवनमा सदाचारलाई धेरै महत्त्व दिइन्छ । व्यक्तिको सार्वजनिक दायरा जति बढ्यो, उसबाट त्यति नै सदाचार, संयमितता र असल आचरणको अपेक्षा गरिन्छ । 

सार्वजनिक दायित्व बढ्ने क्रमसँगै वैयक्तिक अधिकार खुम्चिन्छन् र कर्तव्यको दायरा फराकिलो हुन्छ । तर, न्यूनतम सामाजिक मूल्य र आचरण व्यवस्थित समाजका सबै सदस्य (नागरिक) का लागि समान रुपमा लागू हुन्छन् । ती सामाजिक मूल्य र आचरण बृहत् मानव मूल्यका विस्तारित भाग हुन् । 

सदाचार बाहिरबाट बल लगाएर प्राप्त गरिने गुण होइन, आभ्यान्तरिक चेतना र विश्वास हो । जुन सामाजिक जीवनलाई मर्यादित, स्वच्छ र विवेकशील बनाउन आवश्यक हुन्छ । कतिपयले सदाचारलाई भ्रष्टाचार विरुद्धको रणनीतिका रुपमा मात्र लिँदै आएका छन् । त्यसो होइन, भ्रष्टाचार लगायत अनेकन अमानवीय र दुस्कृति सदाचार नभएको समाजमा देखिने रोग हो । सदाचार अनेकन सामाजिक विकृतिको एकमुष्ट उपचार हो । किनकि सदाचारी मानिस सत्य, निष्ठा, मर्यादा, पवित्रता, मानवीयता र मिहिनतलाई जीवन ठान्दछ । स्वार्थ, द्वैष, आरिस, आडम्बर, लोभ र लालसालाई विकार ठान्दछ । 

सदाचारका केही सिद्धान्त र शर्तहरू छन् । पहिलो, के भनिन्छ त्यो गर्नुपर्छ (डु ह्वाट यु से) । व्यक्तिका पारिवारिक, सामाजिक, कानूनी, सांगठनिक, नैतिक र आत्मिक प्रतिवद्धता हुन्छन्, जसलाई ढाटेर उ सदाचारी बन्न सक्दैन । दोस्रो इमान्दार बन्नु सदाचारको अर्को गुण हो । आफ्नो कर्तव्य निर्वाहमा पूर्णक्षमता देखाउनु इमान्दार बन्नु हो । तेस्रो, स्वार्थरहित बन्नुपर्छ । सार्वजनिक भूमिका लिने व्यक्ति निजी स्वार्थभन्दा माथि हुनुपर्छ । चौथौ, सदाचार प्रतिको निरन्तरता हो ।

सदाचारी बन्नु एकाध पटक देखाए पुग्ने घटना होइन, निरन्तर अवलम्वन गरिने जीवन पद्दति हो । कतिपय केही प्रशंसित काम पछि वैयक्तिक स्वार्थ पूरा गर्न पृष्ठभूमिलाई उपयोग गर्छन्, यो महाभूल हो । पाँचौ, सदाचार आत्मिक प्रेरणा (मोरल करेज) हो । बाह्य शक्तिले भन्दा भित्रैबाट सिर्जना गरिने शक्ति र सामथ्र्य हो । छैठौ, सत्य र पूर्णतालाई यसले जोड दिन्छ । अद्र्धसत्य असत्यभन्दा खतरापूर्ण हो । सातौं, सदाचारले ‘तिम्रो शब्द, तिम्रो अनुबन्ध’ भन्छ । अक्षरमा पोखेर, शव्दले दिएर होइन, बोलेपछि पूरा गर्नुपर्छ, यसको मान्यता हो । भनेर होइन, गरेर नै सिर्जना र निर्माण हुने हो ।

आठौं, सकारात्मक बन, त्यो नै कर्म हो, उर्जा हो मानव सभ्यता त्यसैको जगमा उभिन्छ भन्दछ । नवौ, १०० प्रतिशत ९९ प्रतिशतभन्दा राम्रो हो भन्दछ । मतलव सुधार र परिस्कार निरन्तर छ, सदाचार समर्पणले आविस्कार र परिस्कार सम्भव बनाउँछ । यसर्थ हामी भन्न सक्दछौ, जीवनको मूल्य सदाचार संस्कृति बेगर पाउन सकिन्न । 

मानवीय जीवनका धेरै पाटा छन् । घरपरिवार, समुदाय, संगठन, बृत्तिसेवा आदिमा व्यक्तिले अवलम्वन गर्ने आचरण केही भिन्न हुन्छन् । पारिवारिक दायित्व निर्वाह गर्दा अपनाउनुपर्ने कार्यभूमिका र जिम्मेवारी वर्गीकरण एक प्रकारको हुन्छ भने सामुदायिक अपेक्षा परिवारको भन्दा वेगल हुन सक्दछ ।

संगठनमा देखाउनुपर्ने व्यवहार अझै फरक हो । व्यापार, राजनीति, उद्योग व्यवसाय, कलासाहित्य, चिकित्सा, विज्ञान र अन्य बृत्तिसेवा सबैले आ–आफ्ना कर्मआचरणको माग गर्दछन् । आ–आफ्नै पेशागत माग र मूल्य छन् । तर, आधारभूत आचरण भने समान छ, त्यो हो नैतिक मर्यादामा रहनु वा असल गर्नु । मानिसको विवेकले आफ्ना कर्मलाई असल खराबको विवेचना गर्न सक्छ । असल बुझाइ, असल चाहना र असल कार्य नै सदाचार हो । व्यक्ति असल चाहनाले होइन, आचरणले हुने हो, चाहनाले होइन, सत्कर्मले हुने हो ।

असल मानसिकता र असल आचरणको समष्टि असल व्यक्ति हो । जैविक बनावट र औपचारिक प्रदर्शन क्षणिक ढोंग हो । असल व्यक्तिहरू वैयक्तिक स्वार्थलाई सामूहिक स्वार्थमा समर्पण गर्ने सामथ्र्यमा हुन्छन् । समाजको विवेकपूर्ण पुनर्निर्माणका लागि सदाचारीकै शक्ति र सत्कर्म चाहिन्छ । सभ्य समाज जहिले पनि विवेकपूर्ण पुनर्निर्माणको प्रक्रियामा रहन्छ ।

नेपाली समाज अहिले सदाचारको औधी अपेक्षामा छ । आत्मिक चेतना, नैतिक मूल्य र सार्वजनिक व्यवहारमा ह्रास देखिएको छ । कला साहित्य, धर्म संस्कृति लगायतका परम्परागत सदाचारका अस्त्र कि त कुँजो भए वा अर्कै मोहोरीमा देखिएका छन् । आत्मिकभन्दा औपचारिक र सामूहिकभन्दा वैयक्तिक हित खोज्ने संस्कृति विकासको चरणमा छ । रुप, धन, आहोदा, विद्या, उमेर, सम्पर्क, शक्ति, पहुँच हुने–नहुनेभन्दा आफूलाई श्रेष्ठदावी गरिरहेका छन् । राम्रो ठानिएको कार्यालयका हाकिमले अर्को आफू सरहको अधिकारीको बोलिलाई इग्नोर गर्नु परिवारको एक सदस्यको उपस्थिति र अभिव्यक्तिलाई अर्कोले बेवास्ता गर्नु, एक राजनीतिक दल अर्कोको विचार र सिद्धान्त सुन्नसम्म नचाहनु, आहोदा, शक्ति र सम्बन्धलाई चाहना पूर्तिको माध्यम बनाउनुजस्ता संस्कृतिको देखिन थालेको छ ।

बाङ्गोटिङ्गो यात्रा र अस्वाभाविक प्राप्ति गर्नेहरू सरल रेखामा हिँड्ने सदाचारीलाई उपदेश दिने स्थिति पनि छ । दुःखी र विपन्नलाई होइन, सम्पन्न र शक्तिशालीलाई माया गर्ने संस्कार छ । माया र सहयोगको आवश्यकता विपन्न र दुःखीलाई नै हुने हो । तर, त्यो भुलाएको छ । सामाजिक संस्था नैतिक मूल्य र नैतिक आचरणका आधार शिविर हुन् । तर, कुन्नी किन अभियान अन्यत्रै मोडिएको छ । आफूलाई नागरिक संस्था भन्न रुचाउने नागरिक समाज पनि आस्था र आग्रहमा विभाजित छन् । व्यावसायिक नैतिकता बृत्तिसेवीमा पनि पातलिएको छ । त्यसैले सार्वजनिक जीवनका सिद्धान्तलाई व्यवहारमा पुनःस्थापित गराउनु परेको छ । 

नोलान आयोग र विक्स समितिले स्वार्थहीनता, सदाचार, वस्तुपरकता, जवाफदेहिता, खुलापना, इमान्दारिता र उदाहरणीयतालाई सार्वजनिक जीवनका सिद्धान्तका रुपमा सिफारिस गरेको छ । गौतम बुद्धले अष्टसिद्धी र महात्मा गान्धीले सात पापको उल्लेख समाजलाई सदाचारी बनाउन नै गरेका हुन् । सामाजिक संस्थाका मानक र सिद्धान्तहरू मानव जीवनलाई अनुशासित र कर्मनिष्ठ बनाउन भएका हुन् ।

लोकतन्त्र, सुशासन, जवाफदेहिता, पारदर्शिता जे भनौ सबै बृहत् अर्थमा एकअर्कोप्रति जवाफदेही बन्ने, सबै सबैप्रति जिम्मेवार बन्ने अनुशासनका सूत्रहरू हुन् । धर्म, रीतिथिति, सामाजिक उठबस सबै औपचारिक अनौपचारिक व्यवस्था मानिसलाई मानवीय बनाउने अभ्यास हुन् । मानिसलाई भनिएजस्तै विवेकशील र सर्वश्रेष्ठ प्राणी बनाउन प्रेरित गर्ने प्रयास हुन् । सदाचारलाई जीवन पद्धति बनाएपछि नै उसको श्रेष्ठता सिद्ध हुन्छ । 

प्रश्न उठ्न सक्छ सदाचारलाई कसरी जीवन पद्दति बनाउने ? कोही पनि मानिस आफू नराम्रो बन्ने आभ्यान्तरिक चाहनामा हुँदैन । समाजमा स्थापित बन्ने, उदाहरणीय हुने, ठीक रहने, आदर्श बन्ने सोचले गर्दा नै नराम्रो गर्ने व्यक्ति पनि आफूले नराम्रो गरेको लुकाउन चाहन्छ, यसैलाई टेकेर नै सदाचार विस्तार गर्न सकिन्छ । कोही मानवीय कर्मबाट विषयान्तर छ र गलत गर्छ भने कि अज्ञानता हो वा परिवेशले नै उसलाई त्यसो गराएको हो । असल सोच र सकारात्मकता शुरूवात गरेपछि बढाउन सकिन्छ, सामाजिक संगठन र मानव संस्थाले असल सोच र सकारात्मक कुरालाई विस्तार गर्नुपर्छ । 

परिवार र विद्यालय सबैभन्दा दह्रिला सामाजिक संस्था हुन् । नैतिक आचारणको पहिलो शिक्षा त्यहीबाट दिनुपर्छ । अभिभावक, अध्यापक, गुरूपुरोहितका आदर्श वाक्य, नैतिकश्लोक, श्रुती र ऋचा मानवीय शिक्षाका सूत्र बनाउनुपर्छ । जात, वर्ग, क्षेत्र, लिंग, हिंसा, विद्रेसका कुरा पूजा, पाठ, प्रार्थना, सांस्कृतिक कर्ममा गरिनु हुँदैन । किनकि मानिस धर्म, भाषा, रंग, छाला, लिंग जस्ता जैविक वा यस्तै आधारमा भिन्न भएपनि समान श्रेष्ठता छ र सबै मानव हौं । कोही औसतभन्दा बढी श्रेष्ठ हुन्, चाहना राखेर मात्र पुग्दैन, कर्म र आचरण नै चाहिन्छ ।

आमसञ्चारका माध्यम, कला, बिम्ब सबैले सकारात्मकता र असल पक्ष मात्र उजागर गर्नुपर्छ । त्यो उसको कर्तव्य हो । र, सबैभन्दा महत्त्वपूर्ण राज्यजस्तो वैधानिक र नैतिक संस्था बृहत् मानव मूल्य प्रवद्र्धनमा क्रियाशील हुनुपर्छ । कानून, दण्ड, सजाय जस्ता नीतिसंरचना अन्तिम हतियार मात्र हुन् नैतिक संस्थाको । यसलाई अन्तिम रुपमा मात्र प्रयोग गर्ने गरी विस्तृत अभिमुखीकरण चाहिन्छ । सामाजिक अभियान नै चाहिन्छ । अनि मात्र सदाचारलाई जीवन पद्दति बनाउन सकिन्छ । (mainaligopi@gmil.com)

असोज २३, २०७५ मा प्रकाशित

गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस