युवामा बढ्यो मानसिक स्वास्थ्य समस्या, पुग्दैनन् अस्पताल

असोज २४, २०७५

काठमाडौं– कानून संकायमा स्नातक गरिरहेकी १८ वर्षीय एक युवतीमा आफू नै ठूूलो हुुँ भन्ने अहमता पलायो । उनी साना–साना कुरामा पनि छिटै रिसाउथिन् र झर्किने गर्थिन् । ती युवतीको रिसाह बानी देखेर उनका परिवारले त्यसको कारण पत्ता लगाउन शिक्षण अस्पताल(टिचिङ अस्पताल)को मानसिक स्वास्थ्य सेवा विभागमा लगे । विभागका प्रमुख डा. सरोज ओझाले उनलाई मनोपरामर्श दिए । 

ती युवतीको मन पहिलानिकै कमजोर थियो । समाजमा आफूलाई अरुभन्दा भिन्न भएको महशुस गर्थिन् र चिन्तित बन्थिन् । सोही कारण उनी १८ वर्ष नपुुग्दै डिप्रेसनको सिकार बनिन् र दुुई पटकसम्म डिप्रेसनको औषधि सेवन गरिन्  । डिप्रेसनको औषधि सेवनपछि उनको मनमा डर हरायो, उनले आफूलाई कमजोर महशुस गर्न छाडिन् । 


ADVERTISEMENT

निडर हुनु, आफूलाई कमजोर छैन भन्ने सम्झनु गलत कुरा थिएन । तर कमजोर र निडर मात्रै होइन उनमा अहमता, अरुप्रति बढी नै रिस, डाह गर्ने बानी थपियो । 

उनमा देखिएको परिवर्तित व्यवहारमा चिन्तित बनेका उनका आफन्तले उनलाई चिटिङ अस्पताल ल्याएका थिए । उनमा रिसाउने, झर्किने अर्थात (बाइपोला डिसअडर) को लक्षण देखियो । समयमै परिवारले मनोचिकित्सकसँग उपचार गराउन ल्याएपछि उनी अहिले डा. ओझाको सल्लाह अनुसार औषधि सेवन गरिरहेकी छिन् । औषधी सेवनपछि उनले आफ्नो रिस र अहमतालाई नियन्त्रणमा राख्न सफल भएकी छन् । ती युवतीले अहिले आफ्नो पढाइलाई पनि निरन्तरता दिदै छिन् । 

०००

१८ वर्षीय यी युवती त प्रतिनिधि पत्र मात्रै हुन् । टिचिङ अस्पतालको मानसिक स्वास्थ्य सेवा विभागमा यस्तै उमेर समुुहका युवायुवतीहरु परामर्शको लागि अस्पतालमा आइरहन्छन् । धेरै तनाव र चिन्ताका कारण मानसिक स्वास्थ्य समस्याको सिकार बनेका युवायुुवतीहरु धेरै भएपनि अस्पतालमा परामर्श र उपचारका लागि आउनेको संख्या भने कम रहेको डा. सरोज ओझा बताउँछन् । 

‘कलेज पढ्दै गरेका युवायुवतीहरु मनोरोगका लक्षण लिएर आइरहेका हुुन्छन्, मानसिक स्वास्थ्य समस्या लिएर अस्पतालमा आइपुुग्ने त निकै कम छन्,’ डा ओझा भन्छन्, ‘हाम्रो जस्तो विकास उन्मुख देशमा २० प्रतिशत मनोरोगी मात्रै उपचारको पहुँचमा छन्, ८० प्रतिशत मनोरोगीहरु अझै पनि उपचारको पहुँचमा छैनन् ।’

नेपालमा २२ लाख युवायुवती मानसिक स्वास्थ्य समस्यामा 

युवाहरुमा बढ्दो मानसिक स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै यसवर्षको मानसिक स्वास्थ्य दिवसको नारा ‘बदलिदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य’ नै राखिएको छ । विशेष गरी १४ देखी २४ वर्ष उमेर समूहका युवाहरुमा मानसिक स्वास्थ्यको विषयमा जानकारी लिन आवश्यक रहेको डा. ओझाले बताए । 

सो उमेर समूहकाहरु पढाइ, जागिर, घर परिवार, वैदेशिक रोजगारीको यात्रामा लाग्ने गरेका छन् । यो समयमा युवायुवतीले सकारात्मक वातावरण पाउन नसक्दा उनीहरु मानसिक रोगको सिकार बन्न सक्ने डा. ओझा बताउँछन् ।

‘१४ देखी २४ वर्ष उमेर समूहका युवायुवतीले सकारात्मक वातावरण पाएनन् भने उनीहरुको मानसिक स्वास्थ्यमा असर पार्छ, गतल संगत, पारिवारीक समस्याका कारण डिप्रेसन देखिने उनले बताए । 

नेपालमा २२ लाख भन्दाबढी युवाहरु मानसिक स्वास्थ्य समस्यामा रहेको चिकित्कहरु बताउँछन् । जनचेतनाको अभावमा ८० प्रतिशत उपचारको पहुँच बाहिर रहेको उनको भनाइ छ । रोगको समयमै पहिचान र उपचारको पहुँचमा नपुग्दा उनीहरुको २४ वर्षको उमेरमा नै कडा खालको मानसिक स्वास्थ्य समस्या देखिने डा. ओझाले बताए ।  

विभिन्न अध्ययनले देखाए अनुसार किशोरकिशोरीको मृत्युको दोस्रो कारण आत्महत्या रहेको पाइएको छ । किशोरकिशोरीलाई मानसिक स्वास्थ्य समस्याबाट बचाउँन अभिभावकको महत्वपूर्ण भूमिका रहने डा. ओझा बताउछन् ।

‘अभिभावकहरुले आफ्ना छोराछोरीको साइकोलोजी बुझ्न जरुरी हुन्छ, थल्र्काउने, पिट्ने कराउने गर्दा उनीहरुमा नकारात्मक प्रभाव पर्छ,’ डा. ओझा भन्छन्, जसले उनीहरुमा कडा मानसिक रोग निम्त्याउछ ।’
मानसिक स्वास्थ्य राम्रो राख्नका लागि अभिभावकले युवाका मनलाई बुझ्नुपर्ने डा. ओझाले बताए । युवा मनलाई स्वास्थ्य बनाउन सके मात्रै देशको विकास र समृद्धि सम्भव रहने उनको भनाइ छ ।
 

असोज २४, २०७५ मा प्रकाशित

रिता लम्साल

रिता लम्साल लोकान्तरका लागि स्वास्थ्य र सामाजिक मामिलामा कलम चलाउँछिन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस