हराउँदै सामाजिक भावना, व्यक्तिवादी सोचले कहाँ पुग्ला नेपाली समाज ?

असोज २६, २०७५

अहिले विश्वमा जसरी विज्ञान र प्रविधिको चरम विकास भइसकेको या भइरहेको छ, त्यस आधारमा हेर्दा र केलाउँदा विश्व मानव समुदायको साझा भविष्य उनीहरूको जीवन आधारभूत सामाजिक कौशल, अरुका लागि योगदान दिने तत्परता र क्षमता, सामाजिक संगठनको विविधता तथा पारस्परिकताको संसारमा कसरी जीवन चलाउने भन्ने निपूर्णता या दक्षतामा निर्भर हुने देखिन्छ ।

निश्चय नै मानव समुदाय त्यहीँ समुदाय विशेषको हिस्सा हुन्छन्, जुन समुदायमा उनीहरू जन्मेका बढेका र हुर्केका हुन्छन् । त्यसैले शुरूदेखि अन्त्यसम्म पनि प्रायःजसो उनीहरूको आवश्यकता त्यही समुदायसँग जोडिएर र विश्वास बनाएर रहनु हुन जान्छ । त्यसैले त्यसपछि मात्र अरु समुदायसँगको सरोरकार पनि पैदा हुन्छ । सशक्त र सकारात्मक किसिमले संसारसँग सम्बन्ध स्थापित गर्ने प्रयत्न गर्दै गर्दा त्यो सम्बन्धबारे मानिसले अर्थ पनि निकाल्न थाल्छ र उसले त्यो समुदाय या समाजमा प्रभाव पनि पार्ने गर्दछ ।


ADVERTISEMENT

मानिसका सम्बन्ध, संवेग, उनीहरूको सबलता र कमजोरीले सबैलाई प्रभावित पार्छन् । आज मानिससँग अरुका लागि सदिच्छा, ध्यान दिने धैर्यता र त्यसका लागि आवश्यक पर्ने समयको कमी हुँदै गएको छ । आफ्ना इच्छा र आवश्यकतासँग सम्बन्ध त सबैलाई महसुश हुने गर्दछ । तर, अरु मानिसको व्यापक समुदायसँग सम्बन्ध कायम गर्न र संवाद स्थापित गर्नमा आज स्खलन आइरहेको छ । अरुलाई शक्ति र सामथ्र्यबाट सम्पन्न तुल्याउनका निम्ति सहयोग, आदर, ममता र दयाको जुन मानवीय भाव हो, त्यसमा आज कमी आइरहेको छ । बिस्तारै–बिस्तारै मानिस अब समाजमा यस्तो किसिमले सक्रिय सहभागी हुनबाट तर्किन या भाग्न थालेका छन् र आफ्नो हात यसबाट झिकिरहेका छन् । यस्तो स्थितिमा यदि मानिसहरू सकारात्मक राजनीति या रचनात्मक परिवर्तन ल्याउन असहायताको अनुभव गरिरहेका छन् भने यो कुनै आश्चर्यको कुरा भएन ।

आजको मानिसले सोच्नैपर्छ कि भविष्यका लागि उसले के आशा या अपेक्षा राख्दछ । उसले कस्तो संसार चाहन्छ ? के उसले गरिरहेको विचार व्यवहार उसले चाहेकोजस्तो भविष्य बन्ने बनाउने खालका या त्यो अपेक्षा पूरा गर्ने अनुरुपका छन् ? के उनीहरू आफ्नो सामुदायिक जीवनको कल्याण या समृद्धिलाई प्रोत्साहन दिइरहेका छन् ? यी अत्यन्तै गम्भीर प्रकृतिका यक्ष प्रश्नहरू आजको हाम्रो वर्तमानमा अन्तर्निहीत छन् । हुन पनि एउटा न्यायसंगत, शान्तिपूर्ण र पर्यावरण–मैत्री र यसप्रति संवेदनशील संसार निर्माणका लागि मानिसले सकारात्मक पहल गर्नैपर्छ । तब मात्रै सही सामाजिक चेतना आउन सक्छ ।

चेतना निर्माणका लागि अनौपचारिक तथा औपचारिक शिक्षा सबैभन्दा महत्त्वपूर्ण माध्यम हो, हुन्छ र हुनुपर्छ, यदि अग्रगामी र सकारात्मक तथा मानवीय परिवर्तन हामी चाहन्छौ या मानव समाज चाहन्छ भने । तर, आजको पढ्ने पढाउने हाम्रो यो महत्त्वपूर्ण सामाजिक सरोकारबाट यस्तो किसिमको न्याय प्राप्त भइरहेको छैन र हुने छाँटकाँट पनि देखिएको छैन । त्यसैले यो शिक्षालाई समाजसँग यसप्रकार सकारात्मक किसिमले जोडिनुपर्छ कि त्यसले दुनियाँसँगको लगावलाई प्रोत्साहन गरोस् र स्वस्थ सामाजिक अभिरुची विकसित गर्न मद्दत पुर्याओस् । यसका लागि विद्यालयलाई निजी या व्यक्तिगत उपलब्धिका साथसाथै सामाजिक स्वार्थका लागि यथार्थपरक र सामुहिक उपलब्धिमा पनि स्थान दिने अनुकूल वातावरण बनाइनुपर्छ । 

हिजोको हाम्रो पूर्वीय परम्परामा गुरू, मातापिता तथा ऋषि र समग्र प्राणीप्रति समेत जन्मदेखि नै ऋणी हुने खाले सम्बन्धको जीवन बिताउने प्रचलन रहेको थियो । मानव भएपछि मातृ ऋण, पितृ ऋण, गुरू ऋण, ऋषि ऋण तिर्नुपर्छ भन्ने मान्यता प्रचलनमा थियो । त्यसले मानिसको के दायित्व हुन्थ्यो भने ती सबैप्रति उसले कर्तव्य पालन गर्नुपर्छ । वास्तवमा सम्बन्धलाई लिएर यसप्रकारको सोचले एउटा घना र सुदृढ तानाबानालाई प्रस्तुत गर्दथ्यो र गर्दछ । यसमा पिढीपिढीबीच र समकालीन जीनवसँग जोडिने व्यवस्था गरिएको हुन्थ्यो । यसै सन्दर्भमा यसका लागि ‘यज्ञ’ गर्ने व्यवस्था प्रतिपादित गरिएको थियो । 

मानिसको जीवनको सार्थकता केवल आफ्नो जीवनको सुखका लागि मात्र होइन, अरुका लागि पनि सुख बाँड्ने र उनीहरूको पीडा कम गर्ने कुरामा छ र हुन्छ । यसप्रकारले व्यक्तिको सत्तालाई परिवार, समुदायको ठूलो सत्तामा स्थापित र सन्निहीत गरिएको थियो हिजो । व्यक्ति सामाजिक इकाईको आधार थिएन त्यतिबेला । तर, अहिले व्यक्तिलाई केन्द्रमा राखेर सामाजिकताको नयाँ व्याकरण बनाउन थालिएको या बनाइसकिएको छ, जसमा व्यक्तिको सत्तालाई नै प्रमुखता दिइन थालेको छ । व्यक्तिलाई हरेक मूल्यमा समर्थवान बनाउन खोजिएको छ  । स्वाभाविक छ कि यस स्तरमा अपार संसाधनको आवश्यकता पर्दछ अनि सामाजिकता सहज र स्वभाविक नभएर एक किसिमको उपभोग्य उत्पादनजस्तो मात्र हुन जानेछ । 

आज बृद्धबृद्धा तथा ती मानिसको जो कुनै कारणले समर्थवान रहन सकेका छैनन्, तिनको रेखदेख, स्याहारसुसार कसले गर्ने भन्ने अत्यन्तै गम्भीर प्रश्न खडा भइसकेको छ र भइरहेको छ । अनि त्यसको पनि आजकल लाभहानीको हिसाब गरेर नै जो कोही पनि अघि बढ्न चाहेको या त्यसो गर्न थालेको देखिन्छ । हिजो जुन सामाजिकता, पारस्परिकता व्यक्तिको मूलमा आधारभूत रुपमा रहेको थियो त्यो परम्परा आज धूमिल भएर गएको र मेटिन थालेको छ । 

यद्यपि समग्र स्तरमा हेर्ने हो भने पारस्परिकताका नयाँ नयाँ आयाम पैदा हुन या देखिन पनि थालेका छन् । आज विश्व मानव समुदायसामु कतिपय अत्यन्तै अहम् प्रश्न ठूलो मुख बाएर खडा भएका छन् । तिनलाई कुनै किसिमले पनि अनदेखा या उपेक्षा गर्न सकिने स्थिति छैन । माथिल्लो स्तरमा राजनीतिक, सामाजिक र पारिस्थितिक परस्परनिर्भरता, आतंकवाद, भोक, गरीबी, असमानता, हिंसाजस्ता गम्भीरतम् प्रश्नबाट कोही पनि कतै भागेर जान सकिने कुनै बाटो र विकल्प कतै कसैका लागि पनि उपलब्ध छैन ।

भविष्यमा हामी मानव समुदायको जीवन आधारभूत सामाजिक कौशलता, अरुलाई योगदान दिने कुरा, सामाजिक संगठनको विविधता र पारस्परिकता भएको संसारमा बाच्नुपर्ने कौशल र उच्च निपूर्णतामा नै निर्भर रहनेछ । मानिस मूलतः त्यस समुदायको हिस्सा हुने गर्दछन्, जुन समुदायमा तिनले जन्म लिएका हुन्छन् र बिस्तारै–बिस्तारै अरु विभिन्न अझ बृहत समुदायको पनि हिस्सा बन्दै जान्छन् । त्यसैले संसारसँग जोडिनु, सामाजिक योगदान दिनु र सामुदायिक सेवा प्रदान गर्नु तथा यसप्रकारको सहायता प्रदान गर्ने उपयुक्त स्थिति र परिवेशको निर्माणको बाटोमा अग्रसर हुनु आजको ज्वलन्त आवश्यकता बनेको छ । केवल पढ्नका लागि पढ्ने र उपदेश दिने पण्डित बन्ने जमाना आज बितिसकेको र असामयिक ठहरिन पुगिसकेको छ । त्यसैले अब सबै सरोकारवालाले समय नभिड्किँदै सचेत भएर हाम्रो शिक्षालाई समाजसँग जोड्न र अघि बढाउन अर्थात् देशको कृषि, उद्योग, बन्द ब्यापार, स्रोतसाधन र सकारात्मक जनसांस्कृतिक सम्पदासँग जोडर ती सबैलाई राष्ट्र, समाज र समुदाय तथा व्यक्तिका लागि समेत समोपयोगी तुल्याने दिशा लिनु अपरिहार्य र अनिवार्य बनेको छ । 

अस्तव्यस्त बनेको आजको हाम्रो शैक्षिक दुरावस्था र त्यसलाई सही दिशा दिनुपर्ने राष्ट्रिय आवश्यकता र दायित्वबोधका साथ राज्य र सरोकारवाला सबैको यसमा गम्भीररुपमा ध्यान केन्द्रीत हुन बिलम्ब बिल्कुलै नगरियोस् र अग्रगामी क्षीतिजतर्फ समानता, स्वाधीनता र शान्तिको विकसित उच्च क्षीतिजतर्फ अग्रसरता पहल जिम्मेवार सबैले लिउन् । यही नै भविष्यको मूल बाटो हो । अन्यथा विनाश र सर्वनाशलाई कसैले रोक्न सक्ने छैन सोचौ र गम्भीर रुपमा सोचौं ।

असोज २६, २०७५ मा प्रकाशित

लोकनारायण सुवेदी

सुवेदी नेपाल कम्यूनिस्ट पार्टीका उपाध्यक्ष हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार